Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

कर्णालीको बजेट : ११ महिनामा २६ प्रतिशत, एक महिनामा ३८ प्रतिशत बजेट खर्च 

सीता वली सुर्खेत साउन २, २०७८       

कर्णालीको बजेट : ११ महिनामा २६ प्रतिशत, एक महिनामा ३८ प्रतिशत बजेट खर्च 

कर्णाली प्रदेशमा असार महिनामा बजेट खर्च बढाउने प्रवृति अझै हटेको छैन । बजेट विनियोजन भएदेखि कानमा तेल हालेर बस्ने सरकारले असार महिनामा मात्रै बाँकी ११ महिनामा गरेको खर्चभन्दा बढी बजेट खर्च गर्ने गरेको हो । कर्णाली प्रदेश सरकारले एक महिनामा ३८.१७ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक वर्ष २०७७/७८ का ११ महिनामा जम्मा २६.९१ प्रतिशत बजेट खर्च गरेको सरकारले असार महिनामा मात्रै ३८.१७ प्रतिशत बजेट खर्च गरेको हो । असार महिनाको ३१ गतेसम्म सरकारले जम्मा ६५.०८ प्रतिशत बजेट  खर्च गरेको छ ।

चालू आर्थिक वर्षका लागि सरकारले ३३ अर्ब ७४ करोड १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा हालसम्म २१ अर्ब ९६ करोड एक लाख रुपैयाँ खर्च गरेको छ । जेठ मसान्तसम्म अर्थात् ११ महिनामा सरकारले नौ अर्ब ७ करोड ९२ लाख ६२ हजार १६६ रुपैयाँ खर्च गरेको थियो भने असार महिनामा मात्रै कर्णाली प्रदेश सरकारले १२ अर्ब ८८ करोड ८३ लाख ७ हजार ८३४ रुपैयाँ खर्च गरेको हो । हरेक वर्षजसो सरकारले बजेट खर्चको लक्ष्यअनुसार काम गर्न सकेको छैन । चालू आर्थिक वर्षका लागि सरकारले ५९.९७ प्रतिशत खर्चको अनुमान गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । लक्ष्यभन्दा ५.११ प्रतिशत धेरै बजेट खर्च गरेको सरकारले असार मसान्तमा ३८.१७ प्रतिशत बजेट खर्च गरेको हो । लक्ष्य भेटाउन बजेट विनियोजन गरेदेखि नै कार्य प्रारम्भ नगर्ने सरकारले असार मसान्तमा बजेट खर्च गरेको हो ।

चालू आर्थिक वर्षमा प्रदेश व्यवस्थापिकाले विनियोजन गरिएको १० करोड ९ लाख १३ हजार बजेटमध्ये शतप्रतिशत बजेट खर्च गरेको छ । साथै मुख्य न्यायाधिवक्ताको कार्यालयले ९५.४९ प्रतिशत, प्रदेश लोकसेवा आयोगले ३२.८७ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ७१.५२ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालय कर्णाली प्रदेशले जानकारी दिएको छ । कार्यालयका सूचना अधिकारी यमुना श्रेष्ठका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्थ विविध र वित्तीय व्यवस्था बाहेक ९.७३ प्रतिशत बजेट खर्च गरेको हो । यस्तै उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले ६८.३१, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ८२.०५ ,आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ६८.६० प्रतिशत बजेट खर्च गरेको कार्यालयको तथ्यांक रहेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले ६२.६७ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ६६.७३, कर्णाली प्रदेश योजना आयोगले ४५.९६  र स्थानीय तहले ८७.०३ प्रतिशत बजेट खर्च गरेको हो । समग्रमा असार मसान्त ठूलो परिणाममा रकमान्तर गरी गरिएको खर्चसहित ६८.०८ प्रतिशत बजेट कर्णाली प्रदेश सरकारले खर्च गरेको हो ।

कर्णाली प्रदेश सरकारले हरेक वर्षजसो असार मसान्तमा ठूलो परिणाममा बजेट रकमान्तर गरी खर्च गर्ने गरेको छ । चालू आर्थिक वर्षमा समेत असार मसान्तमा ठूलो परिणाममा सरकारले रकमान्तर गरी बजेट खर्च गरेको भन्दै प्रदेश सभा लेखा तथा सुपरीवेक्षण समितिले रकमान्तरको विवरण माग गर्दै आएको छ । समितिको बैठक बसी चार पटकसम्म रकमान्तरको विवरण माग गर्दा समेत आइनसकेको समितीका अध्यक्ष पदमबहादुर रोकायले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारको स्थापना भएदेखि नै बजेट खर्चलाई शतप्रतिशत गर्न नसकेको सरकारले पछिल्लो समय असार मसान्तमा बढी बजेट खर्च गर्ने गरेको छ । बजेट खर्चका लागि असार मसान्त लाग्नै लाग्दा ठूलो परिणाममा रकमान्तरसमेत गर्ने गरेको छ । रकमान्तर गरी असारमा बजेट सक्ने प्रवृत्तिले सम्बृद्ध कर्णाली र सुखी कर्णाली बासीको परिकल्पना पूरा हुने देखिँदैन ।

सम्बन्धित खबरहरु