Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

मनाङमा एक वर्षभित्र १२ वटा मुद्दा दर्ता

न्युज कारोबार काठमाडौं असार ३१, २०७८       

मनाङमा एक वर्षभित्र १२ वटा मुद्दा दर्ता

हिमाली जिल्ला मनाङमा एक वर्षको अवधिमा १२ वटा मुद्दा दर्ता भएको छ । आर्थिक वर्ष २०७७/७८ मा विभिन्न शीर्षकमा जिल्ला अदालत मनाङमा १२ वटा मुद्दा दर्ता भएका हुन् । जिल्ला अदालतले दिएको तथ्यांकअनुसार जिल्लामा सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् ।

जिल्लामा एक वर्षको अवधिमा छ वटा सम्बन्धविच्छेदका घटना दर्ता भएको अदालतका स्रेस्तेदार तारादत्त बडुले बताए । 'हिमाली जिल्ला मनाङमा अत्यन्त कम मात्रामा मुद्दा दर्ता हुन्छ । आव २०७७/७८ मा १२ वटा मुद्दा दर्ता भएको छ । यसमध्ये पनि सबैभन्दा धेरै छ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका हुन् । छ वटामध्ये चार वटा फैसला भइसकेको छ, भने दुई वटा फैसला हुन बाँकी छ,' उनले भने ।

जिल्लामा सोबाहेक जबर्जस्ती करणी, बहुविवाह, कुटपिट, ज्यान मार्ने, सवारी दुर्घटना र अभद्र व्यवहारका घटना एक/एक वटा दर्ता भएका छन् । जिल्लामा कुल १२ वटा मुद्दामध्ये आठ वटा फैसला भइसकेको र चार वटा बाँकी रहेको स्रेस्तेदार बडुले जानकारी दिए ।  आर्थिक वर्ष २०७६/७७ मा भन्दा यस वर्ष मुद्दा दर्ताको घटना बढेको तथ्यांकले देखाएको छ । २०७६/७७ सालमा जिल्लाभर नौ वटा मुद्दा दर्ता भएको थियो । मुलुकका विभिन्न जिल्लामा मुद्दाको चाप देखिए पनि जिल्ला अदालत मनाङमा भने अत्यन्त कम मुद्दा दर्ता हुने गरेको छ ।

मनाङ सानो र थोरै जनसंख्या भएको जिल्ला भएकाले पनि यहाँ घटेका घटनालाई गाउँघरमा नै मिलाउन सहज भएको हुनुपर्छ । यहाँका समुदाय फरक नभई एउटै किसिमका भएकाले पनि उनीहरुबीच न्यायोचित ढंगले मेलमिलाप हुने स्रेस्तेदार बडुको भनाइ छ । 'मनाङ सानो र थोरै जनसंख्या भएको जिल्ला हो । यहाँ घटेका घटनालाई गाउँघरमा नै सहज तवरबाट मिलाइन्छ । यहाँ अधिकांश एउटै समुदायका मानिसको बसोबास छ, यस कारणले गर्दा पनि घटना नघट्ने र घटिहाले पनि एकापसमा न्यायोचित ढंगले मेलमिलाप हुने गरेको पाइएको छ,' उनले भने । (रासस)

सम्बन्धित खबरहरु