Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

मनसुन सुरू भए यता म्याग्दीमा ८५ घर भत्किए

न्युज कारोबार म्याग्दी असार ३१, २०७८       

मनसुन सुरू भए यता म्याग्दीमा ८५ घर भत्किए फाइल तस्बिर

यस वर्षको मनसुन सुरु भए यताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको मृत्यु र छ जना घाइते भएका छन् । 

पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले नौ लाख ६० हजार रूपैयाँ र मृतक दुई जनाका परिवारलाई तीन लाख रूपैयाँ राहत उपलब्ध गराएको छ । पाँच जनासम्म सदस्य भएका परिवारलाई १५ हजार रूपैयाँ र पाँच जनाभन्दा बढी संख्यामा सदस्य भएका परिवारलाई २० हजार रूपैयाँका दरले राहत वितरण गरिएको सहायक प्रजिअ पौडेलले बताए ।

पहिरोबाट घर भत्किएका तथा जोखिममा परेर विस्थापित भएका आफन्तको घर र सामुदायिक भवन तथा सामूहिक टहरा बनाएर बसेका छन् । अन्नपूर्ण गाउँपालिकाको धोस्केखोर, रघुगंगाको बेग, बेनीको सिंगा तातोपानी, मंगलाको अर्मन, मालिकाको रुम र धौलागिरिको खोरियामा पहिरोले क्षति पुगेको छ । गत वर्षको बर्खामा भत्किएका घर पुनःनिर्माणका लागि पर्याप्त बजेट नआउँदा प्रभावित भएको छ । गत वर्ष पहिरोले म्याग्दीमा २४७ घर भत्किएकामध्ये म्याग्दी प्रवासी नेपाली संघ मोनाले ४० वटा घर बनाएको छ । 

सरकारले पहिरोले भत्किएका हिमाली जिल्लाका घर बनाउन प्रतिघर पाँच लाख रूपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो । निर्णयानुसार आवश्यक बजेट व्यवस्थापन नगर्दा सबै पहिरो पीडितले निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ताको पनि अनुदान पाएका छैनन् । वैशाख अन्तिम साता एक करोड आठ लाख ९७ हजार ५०० रूपैयाँ पठाएको गृहमन्त्रालयले असारमा थप ३६ लाख ३२ हजार ५०० रूपैयाँ पठाएको थियो । मोनाले बनाएकाबाहेकका घरका लागि १० करोड रूपैयाँ बजेट माग गरिएको थियो । 

संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा घर बनाउने कार्यविधि भए पनि संघ र प्रदेशले बजेट नपठाएकाले पुनःनिर्माण प्रभावित भएको स्थानीय तहका पदाधिकारीले बताएका छन् । धौलागिरि गाउँपालिकाको मराङ, मालिकाको बिम, देवीस्थान, रघुगंगाको भगवती र अन्नपूर्णको फगाममा पहिरोले क्षति गरेको थियो । (रासस)

सम्बन्धित खबरहरु