Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

कोभिड-१९ का कारण हुन सकेन बजेट अधिवेशन

न्युज कारोबार ताप्लेजुङ असार ३०, २०७८       

कोभिड-१९ का कारण हुन सकेन बजेट अधिवेशन

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले बजेट अधिवेशन गर्न सकेको छैन । पालिकामा कोभिड संक्रमण बढ्दै गएपछि अधिवेशन हुन नसकेको हो । स्थानीय तहहरुले असार १० गतेभित्र बजेट अधिवेशन गरिसक्नुपर्ने व्यवस्था रहे पनि कोभिड संक्रमण बढ्दै गएपछि गाउँपालिकाले आज बोलाएको सातौं गाउँसभा अनिश्चितकालका लागि स्थगन गरेको गाउँपालिकाले जनाएको छ ।

कोरोना संक्रमणको भयावह अवस्था सिर्जना हुँदै गएको भन्दै आजका लागि तय गरिएको गाउँसभा अनिश्चितकालका लागि स्थगन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले बताए । एकपछि अर्को स्थानमा कोरोना सङ्क्रमित थपिँदै गएकाले आज बोलाइएको गाउँसभा रोक्नुपरेको गाउँपालिकाले जनाएको छ । अनुकूल समय भएपछि गाउँसभाको अर्को मिति तय गरिने लिङ्देनले बताए ।

मंगलबार मात्रै गाउँपालिकाको केन्द्र वडा नं ४ साब्लाखुमा १७ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार वडा नं ६ मेहेलेमा १६ जनामा संक्रमण देखिएको गाउँपालिकाले जनाएको छ । गाउँसभा तथा बजेट अधिवेशनमा पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जिम्मेवारी पाएको पालिका अध्यक्ष नरबहादुर कडरियालाई कोरोना संक्रमण भएपछि सिदिङ्वाले असार १० भित्रै बजेट ल्याउन नसकेको पालिकाले जनाएको छ । अध्यक्ष कडरिया कोरोना संक्रमणमुक्त भएपछि उनले आजका लागि बजेट अधिवेशन बोलाएका थिए ।

यद्यपि पालिकाका विभिन्न स्थानमा संक्रमणको दर बढ्न थालेपछि आजका लागि बोलाइएको बजेट अधिवेशन पनि तत्कालका लागि स्थगन गरिएको लिङ्देनले बताए । ताप्लेजुङका नौमध्ये सिदिङ्वाबाहेक सबै स्थानीय तहले आगामी आव २०७८/७९ का लागि असार १० भित्रै बजेट, नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।

गाउँपालिकाको नाम सच्याउन कार्यदल गठन

जिल्लाको सिरीजंघा गाउँपालिकाले गाउँपालिकाको नाम सच्याउन एक कार्यदल गठन गरेको छ । पालिकाको नाममा व्याकरणमा सुधार गर्नुपर्ने सारोकारवालाले आवाज उठाएपछि कार्यदल गठन गरिएको हो । यही असार ३ गते गाउँपालिकाको नियमित गाउँसभा (नवैं)को पहिलो बैठकले पालिकाको नाम परिवर्तनका लागि प्रदेश सरकारमार्फत संघीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेसँगै गाउँपालिकाको नाम सच्याउन लागिएको हो ।

लिम्बू भाषा र लिपिका सर्जक त्ये अङ्सी सिरीजङ्घा सिं थेबेको सम्मान गर्दै गाउँपालिकाको नाम राख्ने क्रममा व्याकरणीय दृष्टिले शुद्ध नभएकाले सच्याउनुपर्ने सारोकारवालाहरुको माग भएकाले नाम परिवर्तन गर्नका लागि कार्यदल गठन गर्नुपरेको गाउँपालिकाले जनाएको छ । तीन महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने गाउँपालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । कार्यदलले अध्ययन तथा अनुसन्धान गरेर उपयुक्त नाम पालिकालाई उपलब्ध गराउने जिम्मेवारी दिएको छ । रोकारवालासँग गहन छलफल तथा परामर्शपश्चात तोकिएको समयावधिमा नै नाम उपलब्ध हुने गाउँपालिकाले जनाएको छ ।

गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । गाउँपालिका-५ का वडाध्यक्ष पूर्णसिंह माबो लिम्बूको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदल सदस्यमा कार्यपालिका सदस्य विमला साम्यू र तेल्लोक माध्यमिक विद्यालयका प्रअ रुकमान थेबे रहेको गाउँपालिका प्रवक्ता तथा वडा नं २ का वडाध्यक्ष लालकृष्ण चौहानद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

कार्यदलको सल्लाहकारमा भाषा तथा संस्कृतविद् येहाङ (धनप्रसाद) लावती र अर्जुन मावोहाङ तथा सहप्रध्यापक अमर तुम्याङ छन् । लावती फिदिम नगरपालिका-९ पाँचथर निवासी छन् । मावोहाङ लालीगुरास नगरपालिका-३ तेह्रथुमका र तुम्याङ सिरीजंघा गाउँपालिका-७ खेवाङका छन् ।

सम्बन्धित खबरहरु