Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

लमजुङमा दुई करोड ३५ लाख राजस्व संकलन

न्युज कारोबार काठमाडौं असार २६, २०७८       

लमजुङमा दुई करोड ३५ लाख राजस्व संकलन फाइल तस्बिर

सवारी नवीकरण तथा जाँचपास रुट परमिटबाट दुई करोड ३५ लाख ६ हजार ७७ रूपैयाँ राजस्व संकलन भएको छ । पूर्वाधार विकास कार्यालय लमजुङको यातायात शाखामा गएको असोज ४ गतेदेखि स्थापना भएयता जेठसम्म उक्त राजस्व संकलन भएको हो ।

उक्त राजस्वमध्ये सवारी साधन करबाट दुई करोड एक लाख ८९ हजार ७२२ रूपैयाँ राजस्व संकलन भएको यातायात शाखाका कम्प्युटर अपरेटर शशि न्यौपानेले बताए । त्यस्तै उनका अनुसार रुट परमिट नवीकरणबाट तीन लाख ३८ हजार ६०० रूपैयाँ राजस्व संकलन भएको छ भने सवारी जाँचपास, नवीकरण, बिलबुकबाट नौ लाख ८२ हजार ३५५ रूपैयाँ,  सवारी आयकारबाट १५ लाख ११ हजार ४०० रूपैयाँ र अन्य प्रशासनिक सेवाबाट चार लाख ८४ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै शाखाबाट जम्मा दुई हजार ३८० सवारी नवीकरण गरिएको छ । त्यस्तै ११४ वटा रुट परमिट नवीकरण गरिएको छ । ११६ वटा सवारी जाँचपास भएको छ । मोटरसाइकल एक हजार ८९१, ट्र्याक्टर १३३, निजी पिकअप ४९, मिनी ट्रक १६, भाडा पिकअप ७९, निजी जिप ३१, भाडाबस मिनीबस ५०, निजी कार ५७, भाडा जिप १४, भाडा टिपर १४ नवीकरण भएको उक्त कार्यालयले जनाएको छ ।

त्यस्तै एक्साभेटर पाँच, निजी बस १०, भाडा ट्याक्सी १५, सरकारी मोटरसाइकल स्कुटर सात, सरकारी कार जिप भ्यान तीन, निजी ट्रक एक, एम्बुलेन्स नौ, अन्य सवारी तीनवटा सवारी नवीकरण गरिएको उक्त शाखा कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लाबासीलाई यस शाखा स्थापना हुनुअघि पोखरा जानुपर्ने बाध्यता रहँदै आएको थियो । जिल्लामै यी सुविधा भएसँगै यहाँका सेवाग्राहीले सेवा लिन थालेपछि करसमेत बढ्न थालेको शाखाले जनाएको छ ।

सम्बन्धित खबरहरु