nmb bank

गृहपृष्ठ गोरखामा बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट

गोरखामा बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट

गोरखामा बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट

गोरखा जिल्लाका स्थानीय तहहरुमध्ये बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ । स्थानीय तहको उपलब्धि र कमीकमजोरीको लेखाजोखा गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको स्थानीय तह स्वमूल्यांकन कार्याविधिको मापदण्डका आधारमा गरिएको संस्थागत क्षमताको स्वमूल्यांकनमा सो गाउँपालिका जिल्लाकै सर्वोत्कृष्ट बन्न सफल भएको हो ।

कार्यविधिमा समावेश गरिएका १० सूचक र १०० उपसूचकका आधारमा बारपाक सुलिकोट गाउँपालिकाले ६६.७५ प्रतिशत अंक प्राप्त गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । त्यस्तै कार्यविधिको मापदण्डअनुसार संस्थागत क्षमताको स्वमूल्यांकनमा भीमसेन थापा गाउँपालिका सबैभन्दा पछाडि परेको छ । सो गाउँपालिकाले ३३.५ प्रतिशत अंक प्राप्त गरेको छ ।

संस्थागत क्षमताको स्वमूल्यांकनको आधारमा जिल्लाको अजिरकोट गाउँपालिका दोस्रो र सहिद लखन गाउँपालिका तेस्रो गाउँपालिका बनेको छ । अजिरकोटले ६५.५ प्रतिशत र सहिद लखनले ६०.२५ अंक ल्याएका छन् । कार्यविधिअनुसार गाउँपालिका र नगरपालिकाका सबल र दुर्बल पक्षहरुको पहिचान र समीक्षा गर्ने गरिन्छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी स्वयंले सहभागितामूलक विधिद्वारा आ-आफ्नो स्थानीय तहको कार्यबारे मूल्यांकन गर्ने गर्दछन् ।

नगरपालिका र गाउँपालिकाहरुको बीचमा तुलनायोग्य सूचकहरु बनाएर त्यस आधारमा कामको मूल्यांकन गर्न कार्यविधिले सघाउने सुलिकोट गाउँपालिका अध्यक्ष भट्टले बताए । शासकीय प्रबन्ध, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सामाजिक समावेशीकरण, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, संगठन तथा प्रशासन, सहकार्य र समन्वयको आधारमा स्थानीय तहरुले नम्बर प्राप्त गर्दछन् । जिल्लाका ११ स्थानीय तहमा आरुघाट गाउँपालिकाले भने भर्खरै मात्र संस्थागत क्षमताको स्वमूल्यांकन प्रक्रिया सुरु गरेको जनाएको छ । (रासस)

प्रकाशित समय : २३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु