Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

मनाङ मर्स्यांदी क्लबद्वारा राहत वितरण

न्युज कारोबार काठमाडौं असार २६, २०७८       

मनाङ मर्स्यांदी क्लबद्वारा राहत वितरण

मनाङ मर्स्यांदी क्लबले यहाँका बाढीपहिरापीडितलाई राहत सामग्री वितरण गरेको छ । फुटबल र सामाजिक कार्यमा संलग्न क्लबले जिल्लाका बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण गरेको हो । आज ङिस्याङ गाउँपालिका वडा नं ४ हुम्डे, वडा नं ९ खाङ्सार र वडा नं ८ टंकीका बाढीपीडितलाई त्रिपाल औषधि, खाद्य सामग्री वितरण गरिएको छ । पीडित परिवारलाई क्लबका पदाधिकारीलगायतको उपस्थितिमा राहत वितरण गरिएको हो ।

क्लबले शुक्रबार पनि सोही गाउँपालिकाका वडा नं १ पिसाङ, वडा नं २ घ्यारु र वडा नं ३ ङावलमा राहत वितरण गरिएको जनाएको छ । ङिस्याङ मनाङ महिला सोसाइटीको सहयोगमा क्लबले राहत वितरण गरेको हो । बाढीपहिराका कारण यातायात नचल्दा क्लबले हेलिकप्टर चार्टर गरेर राहत ल्याएको हो । क्लबले पछिल्लो समय खेलकुदसँगै सामाजिक कार्य गर्दै आइरहेको छ । क्लबले यसअघि कोरोना प्रभावितलाई निःशुल्क खाना वितरण गरेको थियो । बाढी पहिरोबाट हिमाली जिल्ला मनाङमा ६५६ घरपरिवार विस्थापित भएका छन् । विनाशकारी बाढी पहिरोले जिल्लाका घर, सडक, चैत्य, गुम्बा, पुललगायत संरचनामा क्षति पु-याएको छ ।

यही असार १ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीले करोडौँको भौतिक क्षति पु-याएपछि यतिबेला मनाङबासी पीडामा छन् । मर्स्यांदी नदीलगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको हो । जिल्लाका चार स्थानीय तह नै बाढी पहिरोबाट पूर्णरुपमा प्रभावित भएका छन् । नासोँ, चामे र ङिस्याङ गाउँपालिका बाढीपहिराबाट क्षतिग्रस्त भएका छन् भने नार्पाभूमि गाउँपालिका पहिराबाट प्रभावित बनेको छ । (रासस)

सम्बन्धित खबरहरु