Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

कोरोनाबाट एकै दिन लावती दम्पतीको निधन

न्युज कारोबार इलाम असार २५, २०७८       

कोरोनाबाट एकै दिन लावती दम्पतीको निधन फाइल तस्बिर

कोरोना संक्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो ।

श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात जनामा कोरोना संक्रमण पुष्टि भएकामा दुई जनाको निधन भएको हो । एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै त्रास फैलिएको छ । स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस संक्रमणका कारण होमआइसोलेसनमा छन् । 

६ दिनअघि उनीहरुलाई संक्रमण पुष्टि भएको थियो । संक्रमित सबै होमआइसोलेसनमा थिए । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति कोरोना संक्रमित रहेको बताइएको छ । स्थानीय राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ ।

इलाममा बिहीबार थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै जिल्लामा संक्रमितको संख्या दुई हजार १४४ पुगेको छ । संक्रमितमध्ये एक हजार ७२१ जना निको भइसकेका छन् भने ५२ जनाको यसअघि नै निधन भइसकेको थियो । जिल्लाभर ३७१ संक्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

१० स्थानीय तह रहेको इलाममा सबैभन्दा बढी इलाम नगरपालिकामा ६७५ सक्रमित छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५ जना मात्र संक्रमित रहेका छन् । हाल गाउँगाउँमा संक्रमण बढ्दै गएपछि जिल्लाबासी त्रसित बन्दै गएका छन् । सवारी सञ्चालन र लकडाउन खुकुलो भएसँगै आवतजावत वृद्धि भएपछि संक्रमण बढ्न थालेको हो । (रासस)

सम्बन्धित खबरहरु