Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

पर्यटक आगमनका लागि तयार रहन राजदूतको सुझाव 

न्युज कारोबार काठमाडौं असार २४, २०७८       

पर्यटक आगमनका लागि तयार रहन राजदूतको सुझाव 

विभिन्न देशका नेपाली राजदूतहरूले अन्तर्राष्ट्रिय पर्यटक आगमनका लागि नेपाल तयार रहनुपर्ने बताएका छन् । कोभिड–१९ को कारण लामो समयदेखि विश्वव्यापी रुपमा फैलिएको पर्यटकीय गतिविधि बन्द रहेको अवस्थामा कोभिड–१९ विरुद्धको खोपको प्रभावकारिताले पर्यटकीय गतिविधिमा उत्साह थपिएको उनीहरुको धारणा छ । नेपाल पर्यटन बोर्डले आगामी वर्षको बजेट सँगसँगै विश्वव्यापी रुपमा गर्न सकिने पर्यटकीय गतिविधि तथा विश्व परिवेशका सन्र्दभमा अमेरिका, क्यानडा र ब्राजिलका राजदूतहरुसँग बुधबार गरेको भर्चुअल अन्तक्र्रिया कार्यक्रममा उनीहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर बिस्तारै पर्यटनलाई चलायमान बनाउन सकिने बताए ।

बोर्डले यसअघि कोभिड–१९ महामारीबिच पनि नेपालको पर्यटन प्रवर्द्धनका लागि के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मध्यपूर्व, उत्तरपूर्वी एसिया र युरोपका विभिन्न देशका राजदूलरहरुसँग पनि अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले छिमकी मुलुक भारत र चीन बाहेकका मुलुकहरुका लागि पनि पर्यटन बोर्डले छुट्टै प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने बताए । पूर्वअर्थमन्त्रीसमेत रहेका डा. खतिवडाले संघीय सरकार, प्रदेश तथा स्थानीय सरकारहरूसँग समन्वय गरी बजेटको अभावलाई परिपूर्ति गरी कार्यक्रम गर्न सुझाव दिए । ‘अहिले पर्यटकीय गतिविधि शून्य रहकोले बजेट अभाव हुनु स्वाभाविक हो । तर, प्रदेश र स्थानीय सरकारसँग पर्यटनका लागि बजेट छ । त्यसलाई प्रयोग गर्न सके बजेटको अभावलाई चिर्दै पर्यटनका थप काम गर्न सकिन्छ ।’ उनले भने । 

यस्तै उनले नेपालमा स्वास्थ्य र सिने पर्यटनको पर्याप्त सम्भावना रहको भन्दै उनले सिने पर्यटनका लागि हलिउडसँग पहल गरिरहको जानकारी दिए । यस्तै क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले कोभिड–१९ को प्रभाव कम भएसँगै क्यानडाबाट पनि पर्यटकहरु भ्रमणमा निस्किरहेको बताए । उनले भने, ‘नेपालले स्वास्थ्य सुरक्षाको ध्यान दिँदै बाह्य पर्यटकलाई आर्कषित गर्नुपर्छ । पर्यटक आगमन भएमात्र नभएर पर्यटनमा वैदेशिक लगानी भित्र्याउने गरी दूतावासले पहल गरिरहेको र यसमा विभिन्न सरोकारवालाहरुसँग समन्वय र सम्पर्क भइरहेको छ ।’
यस्तै ब्राजिलका लागि नेपाली राजदूतावासका डेपुटी चिफ अफ मिसन (सेकेन्ड सक्रेटरी) भरत  खनालले नेपालको पर्यटनको अन्तर्राष्ट्रिय प्रर्वर्द्धनका लागि विभिन्न भाषाका प्रचार सामग्री आवश्यक भएको बताए ।

उनले डिजिटल तथा परम्परागत दुवै खालका प्रर्वर्द्धनात्मक सामग्रीको उत्पादन र प्रचार गर्न बोर्डलाई सुझाव दिए । यस्तै न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका कार्यकारी कन्सुल जनरल विष्णुप्रसाद गौतमले न्यूयोर्कबाट नेपाल जाने पर्यटकको संख्या विगतका वर्षहरुमा बढ्दै गइरहको सन्दर्भमा नेपालको बारेमा सही सूचना प्रवाह गर्न सके यसलाई निरन्तरता दिन सकिने बताए । उनले विगतमा पर्यटन बोर्डले गराउने फ्यामट्रिपले नेपालको प्रचारमा सहयोग गरेकोले त्यहाँका विशिष्ट व्यक्तिहरुलाई नेपाल लैजाने गरी फ्यामट्रिपको व्यवस्था गर्न बोर्डलाई आग्रह गरे ।

पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पर्यटनलाई चलायमान बनाउन नीतिगत सुधारदेखि अन्र्तनिकाय समन्वय र बजेटको सिमिततालाई ध्यान दिँदै बोर्डले काम गरिरहेको जानकारी दिए । उनले नेपाललाई सबै उमेर समूह र सबै सिजनको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नयाँ ढंगले गन्तव्य विस्तार आवश्यक भएको भन्दै त्यसका लागि बोर्डले हिमाल पहाड र तराईलाई समेट्ने गरी पर्यटकीय गन्तव्यको विकासमा लागेको जानकारी दिए । ‘अहिले अवस्था सजिलो पक्कै छैन सबैलाई जानकारी नै छ । तर, कोभिडको दोस्रो चरणको संक्रमण र तेस्रो भेरिएन्टको चर्चा हुँदै गर्दा स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै सर्तकताका साथ अघि बढ्नुपर्ने अवस्था छ । त्यसको लागि राजदूत र दूतावासको सहयोग आवश्यक छ ।’ उनले भने ।

सम्बन्धित खबरहरु