Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

अपांगता परिवारलाई छाक टार्न समस्या

न्युज कारोबार कञ्चनपुर असार २१, २०७८       

अपांगता परिवारलाई छाक टार्न समस्या फाइल तस्बिर

कृष्णपुर नगरपालिका-२ बाणी मुक्त कमैया बस्तीका ४५ वर्षीय रामबहादुर चौधरीलाई शारीरिक अपांगता छ । उनको कम्मरमुनिको भाग चल्दैन । उनी ह्वील चेयरको सहायतामा उनले हिँडडुल गर्दै आएका छन् ।

घरमा उनी मात्रै एक्लो अपांगता भएको व्यक्ति भने होइन । उनका श्रीमती मुलीदेवीकोसमेत बायाँ खुट्टा चल्दैन । उनले पनि ह्वील चेयरमै हिँडडुल गर्दै आएका छन् । चार छोरीमध्ये एक जना छोरी पनि मानसिक बिरामी छन् । ६ जनाको परिवारमध्ये तीन जनामा अपांगता छ । घरमा कमाउने कोही पनि छैन । मुक्त कमैया पुनःस्थापना गरिँदा पाएको पाँच कट्ठा जग्गा र त्यसमा बनेको कच्ची झोपडी सम्पत्तिका रुपमा रहेको छ । कम्मरमुनिको भाग नचल्दा पनि राम बहादुरले बाध्यताले महेन्द्रनगर बजारमा मिष्ठान भण्डारमा ह्वील चेयरमै बसेर भाँडा माँझ्दै आएको थियो । यसबाट उनले मासिक आठ हजार पारिश्रमिक पाउँदै आउथ्यो । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा गरिएको बन्दाबन्दीमा उनको रोजगारी खोसिएको छ ।

तीन महिनादेखि उनी बेखर्ची भएर घरमै बस्दै आएका छन् । अपांगता भएकै कारण उनलाई रोजगारी पाउन मुस्किल भयो । दातृ संस्थाले दिएको सहयोगमा दुई छाकको खाना जुटेको छ । अरुको सहारामा हिँडडुल गर्दै आएका उनलाई नगरपालिकाले निलो रङको अपांगता परिचय पत्र दिएको छ । 'रातो परिचय पत्र पाउनुपर्ने हो,' उनले निरास हुँदै भने, 'खै किन हो । मलाई निलो रङको परिचयपत्र दिएको छ । श्रीमतीलाई पनि सोही परिचयपत्र दिएको छ ।'

नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ताबापत पाइने थोरै रकमले घर खर्च चलाउन गाह्रो भएको उनले दुखेसो पोखे । नगरपालिकाबाट पाइने भत्ताको रकम समयमै नपाइँदासमेत खर्च चलाउन मुस्किल भएको उनको भनाइ छ । मुक्त कमैया मुक्तिको घोषणापछि मालिकका घरबाट बिदा भएका उनको परिवारलाई २०५९ मा पुनःस्थापना कार्यक्रमअन्तर्गत पाँच कठ्ठा जग्गा दिइएको थियो । उपलब्ध गराइएको जग्गा नदी छेउमा परेकाले बलौटे छ । जग्गामा उब्जनी हुँदैन ।

'आफ्नो भन्ने मान्छे नभएपछि कमजोर ठानेर बलौटे जग्गामा पुनःस्थापन गराइयो । बाध्यताले जग्गा स्वीकार ग-र्यौं”, ४२ वर्षीया मुलीदेवीले भनिन्, 'जग्गामा खेती गर्ने मान्छे पनि परिवारमा छैन । बलौटे जग्गालाई मलिलो पनि बनाउन सकेका छैनौँ । छिमेकीलाई अधिया लगाउन दिने गरेका छौँ । उब्जनी नहुने हुँदा कसैले पनि जग्गा जोत्नै मान्दैनन् ।' मुलिदेवीको सानै छँदा ज्वरो आएपछि बायाँ खुट्टा सुक्दै गएर नचल्ने भएको हो । उनका श्रीमान् रामबहादुर भने छ/सात वर्षको छँदा आमासँगै गुइँठा टिप्नका लागि वन क्षेत्रमा गएका बेला लडेर कम्मरमा चोट लागेको थियो ।

समयमै उपचार नपाउँदा विस्तारै कम्मरमूनिको भाग चल्न छाडेको छ । चोट लागेर ठीक भएपछि केही वर्ष उनी हिँडडुल गर्न सक्ने भएका थिए । केही समय उनले दोमिल्लाका जमिन्दारको घरमा कमैया बसेर काम पनि गरेका हुन् । उमेर ढल्किँदै जाँदा कम्मरमूनिको भागले काम गर्न छाडेको छ । सात वर्षयतादेखि कम्मरमूनिको भाग चल्न छाडेपछि ह्वीलचेयरको सहायतामा उनले हिँडडुल गर्दै आएका छन् ।

छोरी विपनाको समेत मानसिक अवस्था कमजोर हुँदा चौधरी दम्पतीले घरमै दाम्लोले बाँधेर राख्ने गरेका छन् । छिमेकीको घरमा गएर बिगार गर्ने भएकाले बाँधेर राख्नुपरेको उनीहरू बताउँछन् । सहयोगी संस्था पाइए छोरीको उपचार गरी ठीक हुने आशा उनीहरुलाई छ । अहिलेसम्म सहयोगी संस्था भने उनले भेटाएको छैन । घरमा मुख्य समस्याका रुपमा शौचालयको रहेको छ । पुनःस्थापनकै बेला दातृ निकायले बनाइदिएको शौचालय अपांगमैत्री नहुँदा समस्या छ । सिँढीसहितको शौचालय त्यसमा प्यान सेटबाहेक छत र पर्खालसमेत नहुँदा कपडा बेरेर राख्नुपरेको छ । हावा चल्दा खुला आकाशमूनि चौधरी दम्पतीले शौचालय प्रयोग गर्नुपर्ने बाध्यता छ ।

ती दम्पती भन्छन्, 'आयआर्जन हुने सीप सिकाइ घरमै बसेर रोजगारी हुने कार्य भए गथ्र्यौं । त्यो पनि छैन । कसैले त्यसका लागि सहयोग गर्दैनन् । गाह्रो काम गर्ने अवस्था नहुँदा भोकभोकै मर्नुपर्ने अवस्था आएको छ ।' काठ र माटोले झन्डै दुई दशकअघि बनाइएको कच्ची घरसमेत भत्किने अवस्थामा रहेको छ । चौधरी दम्पतीले घर मर्मतको कार्य गर्न नसके खुला आकाशमूनि बस्नुपर्ने अवस्था रहेको बताउँछन् । घर निर्माणका लागि दातृ निकायलाई उनीहरुले गुहारेका छन् । 'गाउँ नजिकैको सामुदायिक विद्यालयमा पढ्दै आएका तीन छोरीको पढाई खर्च धान्न नसक्ने भएपछि विद्यालयबाट छुटाउनुपर्ने अवस्था आएको छ,' रामबहादुरले भने, 'विद्यालयबाट पुस्तक निःशुल्क पाइन्छन् । विद्याय पोशाक, झोला, अभ्यास पुस्तिकालगायत स्टेशनरी खर्च धान्न नसक्दा निकै अप्ठ्यारोमा छौँ ।'

सम्बन्धित खबरहरु