Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

सहमतिबाट भागेर केपी ओलीले बदमासी गर्नुभो : रमेश धामी

न्युज कारोबार काठमाडौं पुस २, २०७७       

सहमतिबाट भागेर केपी ओलीले बदमासी गर्नुभो : रमेश धामी
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका शीर्ष नेतृत्व जुँगाको लडाइँ लडिरहेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको पौँठेजोरीले कार्यकर्तादेखि नागरिसम्म हैरान बनिसकेका छन् । केन्द्रको विवाद प्रदेश, स्थानीय तह हुँदै सामाजिक सञ्जालसम्म छताछुल्ल भइसकेको छ । विवादमा फसेको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न सकेको छैन । अहिलेको अवस्थामा नेतृत्व विवादको प्रभाव, फुटको सम्भावना, विकासमा भएको अवरोधलगायत विषयमा सुदूरपश्चिम संयोजक दिनेश बिष्टले नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रमेश धामीसँग गरेको कुराकानी :
दुई ठूला पार्टी एकता गरेर विशाल पार्टी बनेको सत्ताधारी नेकपाको नेतृत्वमा टकरावमात्रै आइरहेका छन्, किन होला ? कम्युनिस्ट आन्दोलनको टुटफुटको पीडालाई हेर्दै समीक्षा गरेर नेपालीको चाहनाअनुसार देशको समृद्धिका लागि पार्टी एकता भयो । त्यसअघि चुनावी एकता गरेका थियौँ । अहिले पार्टीका एक अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । केही समयदेखि आन्तरिक संघर्ष भइरहेका छन्, जसका कारण पार्टी, कार्यकर्ता र जनतामा पीडाको मनोविज्ञान छाएको छ । हामी केमा आत्तिनु हुन्न भने यो कम्युनिस्ट पार्टी हो, कम्युनिस्ट पार्टीमा बहस गरेर सत्यको खोजी गरिन्छ । बहस आवश्यक पनि छ । अहिले अध्यक्षहरुबीच टकरावमात्र देखिएको होइन, उहाँहरुबीच छलफल पनि भइरहेको छ । पार्टी अझ बलियो बनाएर जानुपर्छ भन्नेमा उहाँहरु स्पष्ट हुनुहुन्छ । अहिले जे भइरहेको छ, यो क्षणिक हो । विवादको जड को देख्नुहुन्छ ? पार्टी सञ्चालनका लागि विधि र विधान बनाएका छौँ । दुई अध्यक्षको व्यवस्था गरिएको छ । विधानमै सहमतिका आधारमा पार्टी सञ्चालन गर्ने भनिएको छ । विधि प्रक्रियाबाट सरकार सञ्चालन गर्नुपर्छ भनिएको छ । खासगरी पार्टीको एक अध्यक्ष र प्रधानमन्त्री जो सरकारको नेतृत्व गरिरहनुभएको छ, उहाँको कार्यशैली कहीँ न कहीँ नमिलेको देखिन्छ । पार्टीका शीर्ष नेताहरुसँग समन्वय नगरी एकलौटी तरिकाले गएको महसुस भएरै लिखित रुपमा प्रस्ताव आएको भन्ने लाग्छ । यस कारण कहीँ न कहीँ प्रधानमन्त्रीकै कमजोरी हो कि भन्ने हामीलाई लाग्छ । प्रधानमन्त्री त सरकार तीव्र गतिमा अगाडि बढेर लोकप्रिय बन्दा आफ्नै पार्टीका नेताहरुले खुट्टा तान्ने काम गरे भनेर भन्नुहुन्छ नि ? उहाँले त्यो भन्नु सान्दर्भिक छ किनकि उहाँ सरकारको नेतृत्वमा हुनुहुन्छ । फेरि उहाँले पार्टीले सरकार चलाउने होइन, सरकारले संविधानअनुसार काम गर्ने हो पनि के भनिरहनुभएको छ । यसो भनिरहँदा हामीलाई के लाग्छ भने स्वामित्व लिने ठाउँमा पार्टीका नेताहरु छैनन् कि ! कम्युनिस्ट पार्टीमा जहिले पनि सरकारसमेत पार्टीले सञ्चालन गर्छ । बुर्जुवाहरुले पार्टीलाई मतलब नगरी सरकार चलाउँछन् । हामीले धेरै त्याग गरेर व्यवस्था परिवर्तन गरेका छौँ । यो ठाउँसम्म आउनका लागि हरेक नेपालीले आ-आफ्नो ठाउँबाट धेरै त्याग गरेका छन् । हामीले समाजवादसम्म जाने भनेका छौँ । तर, कामगराइ र परिणाम त्यो दिशामा छैन । हिजो पार्टीको घोषणापत्रमा उल्लेख भएअनुसार प्रधानमन्त्रीले काम गरिरहनुभएको छैन भन्ने हामीलाई लागेको छ । प्रधानमन्त्रीनिकटका नेताहरुले केपी शर्मा ओलीकै कारण चुनावमा जनमत आएको हो तर अहिले ओलीलाई नै हटाउन खोजेर जनमतको अपमान गर्न खोजियो पनि भनिरहेका छन् नि ! केपी ओलीलाई प्रधानमन्त्री बनाउँछौँ, हामीलाई भोट दिनुस् भनेर हामीले कुनै पर्चा पम्प्लेटमा लेखेका अथवा भनेका थिएनौँ । हामीले कतै देखेनौँ । तत्कालीन दुई पार्टीको चुनावी गठबन्धनलाई भोट गर्नुस् भनेर हामी मतदाताकहाँ गएका हौँ । त्यसबेला अढाई वर्ष केपी ओली र अढाई वर्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने भनेर सहमति नै भएको थियो । तर, त्यत्रो सहमतिबाट भाग्न खोजेर बदमासी त ओलीले गर्नुभो नि ! म प्रधानमन्त्री बन्छु, पाँच वर्ष चलाउँछु, सहमति छ भने पार्टी एकता गरौँ नत्र हुन्न भनेर त्यतिबेला नै भनेको भए हुन्थ्यो । जब उहाँ प्रधानमन्त्री बन्ने स्थिति बन्यो अढाई वर्षसम्म त कुनै विवाद थिएन । प्रधानमन्त्री जब नराम्रा कामतिर जानुभो, पार्टी फुटाउने अध्यायदेश ल्याउनुभो तब न पार्टीमा समस्या देखियो । तर, प्रस्ट के हो भने अब हामी ‘पूर्व’ भनेर पछाडि फर्किनेवाला छैनौँ । हामीलाई त्यो सुविधा पनि छैन । तत्कालीन माओवादी र एमाले नेकपा भइसकेपछिको समीक्षा गर्छौं र कहाँ कसले बदमासी गरेको छ, कसले जालझेल षड्यन्त्र गर्दैछ, नजिकबाट हेर्छौं र निर्णय लिन्छौँ । जनताले चाहेको स्थायित्व हो, बीचबीचमा सरकार परिवर्तन भइरहने हो भने स्थायीत्व कसरी भयो ? स्थायी सरकार अपरिहार्य छ । त्यसकै लागि जनताले भोट दिएका हुन् । तर, बुझ्नुपर्ने के छ भने स्थायी सरकार केपी ओलीको होइन, नेकपाको हो । सरकार पाँच वर्ष नेकपाले चलाउने हो । प्रधानमन्त्री नेकपाको जुनसुकै व्यक्ति पनि बन्न सक्छ । त्यसैले अहिले नेताहरुले अनावश्यक बखडा झिकेर एकतालाई नै धरापमा पार्ने काम गरिरहनुभएको छ, त्यसलाई सच्याउनुपर्छ । हामी सबै कार्यकर्ताको माग पार्टी एकता हुँदाको सहमति कार्यान्वयन गर्नुपर्छ र पछिल्ला बैठकका निर्णयलाई अक्षरशः पालना गर्नुपर्छ । नेकपाको झगडाकै कारण यथास्थितिवादी र प्रतिगामीहरुले टाउको उठाउन थालेका छन्, आन्दोलन हुन थालेका छन् । हाम्रो समृद्धि सपना यसरी पूरा हुन सम्भव देख्नुहुन्छ ? अढाइ वर्षसम्म पनि जनतालाई समृद्ध बनाउने दिशातिर सरकार जान सकेन । जनतामा निरासा बढ्दै गएको छ । हजारौँ मान्छे सडकमा यो व्यवस्थाविरुद्ध नारा लगाउन थालिसकेका छन् । यसको समीक्षा गर्नुपर्छ कि पर्दैन ? कार्यकारी प्रधानमन्त्रीले सोच्नुपर्छ कि पर्दैन ? हामी चुनौती दिन्छौँ हामीले बलिदानी गरेर ल्याएको व्यवस्था हो यो, कुनै प्रधानमन्त्रीको फोटो झुन्ड्याउन जनताले जिताएका होइनन् । हामीलाई बुर्जुवा गणतन्त्र चाहिएको होइन । दलाल, पुँजीपति व्यवस्था हेरेको होइन । सधैँ बन्दुक बोकेर क्रान्ति गरेर हुँदैन, सरकारले जनमुखी कार्यक्रम ल्याउनुपर्छ, जनतालाई समृद्ध बनाउनुपर्छ । तत्कालीन माओवादीले जनतामाझ धेरै सपना बाँडेको थियो, ती सपना कहिले पूरा होलान् ? प्रचण्डले १९ बुँदे प्रस्ताव राख्नुभा’छ । प्रतिउत्तरमा ओलीले पनि उत्तरसहित पेस गर्नुभा’छ । त्यो हेर्दा पनि बुझिन्छ, कुन वस्तुवादी छ कुन आग्रह–पूर्वाग्रहमा ल्याइएको छ । को जनताको उद्देश्यमा उत्तरदायी छ, को प्रस्ट छैन । अब सचिवालयले एउटा निष्कर्ष त निकाल्ला ! तर, जनतालाई भ्रमबाट मुक्त गराउन हामीले भन्नैपर्छ- प्रचण्डले भनेका कुरा कार्यान्वयन गर्ने निकायमा ओली हुनुहुन्छ, उहाँले कार्यान्वयन गर्नैपर्छ । हामी प्रगति चाहन्छौँ, हामीले समृद्धिका लागि क्रान्ति गरेका हौँ । अहिले कुनै पनि कार्यालयमा जानुस्, जनता कति पीडामा छन् । हिजोको भन्दा केही परिवर्तन आएको छैन, त्यो कुरा हामीले नबोलेर कसले बोल्छ त ? पार्टीका सचेत नेताहरुले नबोलेर कसले बोल्छ ?
हामी प्रगति चाहन्छौँ, हामीले समृद्धिका लागि क्रान्ति गरेका हौँ । अहिले कुनै पनि कार्यालयमा जानुस्, जनता कति पीडामा छन् ।
हामी आज यति देख्नका लागि लडेका होइनौँ । हजारौँ मान्छेले शहादत प्राप्त गरे, हजारौँ घाइते भए, यति देख्नलाई होइन । यो कुरा प्रचण्डहरुले भुलेका होलान्, ओलीहरुले बेवास्ता गरेका होलान् तर हामी बेवास्ता गर्न सक्दैनौँ, भुल्न पनि सक्दैनौँ । ओलीलाई काम गर्न प्रचण्डबाट अवरोध भयो भन्ने हो भने माधव नेपाल, झलनाथ, बामदेवबाट किन भइरहेको छ ? बाँकी शीर्ष नेता सबै एकातिर हुँदा कतै मैले गलत त गरिरहेको छैन ? भनेर प्रधानमन्त्रीले सोच्नु पर्दैन ? प्रधानमन्त्री कार्यकारी भएका कारण विकास र समृद्धि मार्ग प्रशस्त गर्ने काम उहाँकै हो । सानो विवादमा अल्झिएर विकासका काम अवरुद्ध गर्न पाइँदैन । पार्टीको विवादले अब कस्तो रुप लिने देख्नुहुन्छ ? नेकपाका आम कार्यकर्ता राष्ट्रको पक्षमा दृढ छन्, पार्टी दृढ छ । त्यसैले हामी भनिरहेका छौँ, पार्टी थप एकताबद्ध बनाऔँ, चोचोमोचो गरेर झगडा मिलाउने काम नगरी पार्टीलाई विधि र पद्धतिअनुसार चलाऔँ । बिनाविधान क्लब त चल्दैन, कम्युनिस्ट पार्टी कसरी चल्ला ? दुई अध्यक्षको सहमतिले मात्र पनि हुँदैन । दुई अध्यक्षको सहमतिमा चल्ने हो भने प्रचण्ड र ओलीबीच किन सहमति भइरहेको छैन ? किन भएका सहमति कार्यान्वयन हुन सकेका छैनन् ? हिजो पार्टी एकता गर्दा भएको सहमति अक्षरशः पालना भएको भए विवाद आउने थिएन । राजनीतिमा थौरै मात्र इमानदारी छ भने बदमासी गर्न छाड्नुपर्छ । समस्या समाधान भइहाल्छ । एकतालाई कुनै पनि हालतमा कमजोर हुन दिइँदैन । र, प्रधानमन्त्रीको एकलौटी नेपाली जनता र नेकपाका कार्यकर्ताले पनि सहँदैनन् । त्यसो भए पार्टी फुट्ने सम्भावना छैन ? पर्टी फुट्दैन । पार्टी फुटाउन अनेक प्रयास भइरहेका छन्, फुटाउन खोजिएको पनि हो तर प्रचण्ड र माधव कमरेडहरुले बचाउनुभयो । अझै पनि हामी के भनिरहेका छौँ भने आफू हारेर पनि पार्टीलाई बचाउनुस्, राष्ट्र र जनतालाई जिताउनुस् । राष्ट्र र जनता एकढिक्का भएमात्र हामी सबै चुनौतीको सामना गर्न सक्छौँ । केन्द्रको विवाद प्रदेश र स्थानीय तहसम्म पुगेको छ । सामाजिक सञ्जालमा कार्यकर्ताबीच आरोप-प्रत्यारोप भइरहेको छ, यसले भोलिको चुनावमा समेत असर गर्ने र पार्टी पतनतिर जाने सम्भावना छैन र ? केही अघिको स्थायी कमिटी बैठकमा पार्टीका बारेमा टिकाटिप्पणी नगर्ने सहमति भएको छ । तर, जसले निर्णय गर्नुभयो, उहाँबाटै उल्लंघन भइरहेको छ । आफू प्रमुख हुँ भनेर स्वघोषणा गर्नेहरुबाटै सहमति उल्लंघन भइरहेका छन् । अर्को कुरा, अहिले माथिल्लो तहमा अन्तरसंघर्ष चर्किएपछि तल आरोप-प्रत्यारोप भएको हो, माथि हल हुनासाथ तल पनि सहज भइहाल्छ । सहमति भएसँगै पार्टी थप बलियो भएर अघि बढ्छ ।

सम्बन्धित खबरहरु