Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

कोसीमा पानीको बहाव बढ्दै, सप्तरीका ५ सय घर डुबानमा

न्युज कारोबार सप्तरी असार १९, २०७८       

कोसीमा पानीको बहाव बढ्दै, सप्तरीका ५ सय घर डुबानमा फाइल तस्बिर ।

विगत केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ । आज बिहान ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा दुई लाख ३१ हजार ५१५ क्युसेक पानीको बहाव छ । यसअघि शुक्रबार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खुला गरी पानीलाई निकास दिइएको छ । नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचित गरेको छ । पानीको बहाव बढ्दो क्रममा रहेकाले ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको छ । उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण कोसीमा मिसिने सहायक नदी तथा खोलामा समेत बाढी आउँदा यस नदीको पानी बहाव शुक्रबार रातभरमा २४ हजार ९९५ क्यूसेकले बढेको हो । वर्षा हुने क्रम अझै जारी रहेकाले जलस्तर अरु बढ्ने अनुमान गरिएको छ ।

पाँच सय घर डुबानमा

लगातारको वर्षा भएपछि सप्तरीको विभिन्न पालिकाका ५ सयभन्दा बढी घर डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोसी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा तीन सयभन्दा बढी घर डुबानमा परेको छ ।

उक्त नगरपालिकाको वडा नं ९, १०, ११ र १२ का करिब ३ सय घर डुबानमा परेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिए । त्यस्तै त्रियुगा, अमहा, टेंग्रा, गंगाजली र सतरापतरा नदीको पानी बस्तीमा पस्दा सप्तरीको सप्तकोसी नगरपालिकाको वडा नं १, २, ३ र ४ का करिब २ सय घर डुबानमा परेको नगरप्रमुख उत्तम गौतमले जानकारी दिए । उनका अनुसार त्रियुगा नदीले वडा नं २ को सिद्धिपुर र वडा नं ३ को सखुवानीमा तटबन्ध कटान गरिरहेको छ । (रासस)

सम्बन्धित खबरहरु