Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

कमला नदीको तटबन्ध कमजोर, मर्मतसम्भारमा वेवास्ता

दिपेन्द्रप्रसाद सिंह   धनुषा असार १८, २०७८       

कमला नदीको तटबन्ध कमजोर, मर्मतसम्भारमा वेवास्ता

प्रत्येक वर्ष वर्षातको समयमा तीव्र गतिमा कमला नदीमा बाढी आउने गरेको छ । सिन्धुली हुँदै धनुषा, सिरहा भएर भारतको जयनगरतर्फ बहाव क्षेत्र फैलिएको कमला नदी तराई मधेसको एक ठूलो नदी हो । कमला नदीमा वर्षातको समयमा पानीको सतह बढने गरेको छ ।

पानीको सतह बढ्दा वर्षेनी कमला नदीले धनुषा र सिरहाका हजारौ हेक्टर उब्जाउ भूमि कटान गर्दै आएको छ । कमजोर तटबन्ध भत्काएर वस्तीमा बाढीसमेत पस्ने गरेको छ । यस वर्ष केही दिनदेखि लगातार पर्दै आएको मुसलधारे वर्षाले कमला नदीमा पानीको बहाव बढेको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । कमला नदीमा पानीको सतह बढेसँगै जिल्ला प्रशासन कार्यालय सिरहाका सीडीओ प्रदीपराज कणेललगायत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत जिल्ला विपद् व्यवस्थापन समितिले नदीको तटबन्धस्थल अनुगमन गरी बाढीले तटबन्ध भत्काउन सक्ने खतरा देखिएकाले कमला नदी वरपर बसोवास गरिरहेका सर्वसाधारणलाई सतर्कता अपनाउन अपिलसमेत गरेका छन् ।

सीडीओ कणेलले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन माइकिङ गरिएको बताए । उनले भने, ‘कमला नदीमा सिन्धुलीतर्फ ३ मिटर बढेको मापन गरिएको छ । सिरहा-धनुषातिर बहाव क्षेत्र लामो भएकाले करिब डेढ मिटर बढेको छ ।’ कमला नदीमा हरेक वर्ष अत्यधिक बाढी आउने गरेकाले हरेक २/३ वर्षको अन्तरालमा बाढीले सिरहा र धनुषातर्फ तटबन्ध भत्काउने गरेको सरकारी तथ्यांक छ ।

तटबन्ध भत्काउँदा बाढीले ठूलो क्षति पुर्‍याउने गरेको छ । तर तटबन्ध मर्मत गराउन संघीय सरकारले आवश्यक बजेट उपलब्ध गराएको छैन । तटबन्ध मर्मत सम्भारका लागि स्थानीय तहले समेत बजेट छुट्याउने गरेका छैन । मर्मतको अभावमा तटबन्ध कमजोर भएर भत्किने खतरा बढेको छ । बाढीले तटबन्ध भत्काए ठूलो क्षति पुर्‍याउने अनुमान गरिएको सीडीओ कणेलले बताए ।

सम्बन्धित खबरहरु