Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

प्रदेश २ मा पुँजीगत खर्च ३० प्रतिशत मात्रै

न्युज कारोबार सर्लाही असार १४, २०७८       

प्रदेश २ मा पुँजीगत खर्च ३० प्रतिशत मात्रै

प्रदेश २ मा चालू आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र पुँजीगत खर्च भएको छ । कोभिड-१९ संक्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा पर्याप्त खर्च हुन नसकेको हो ।
चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले कुल १९ अर्ब १९ करोड ८ लाख १८ हजार रूपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो । तीमध्ये चालू आर्थिक वर्षको ११ महिनामा सरकारले कुल ५ अर्ब ६८ करोड ६५ लाख रूपैयाँमात्र खर्च गर्न सकेको छ । यो कुल पुँजीगत खर्चको २९.८० प्रतिशत हो । प्रदेश लेखा नियन्त्रण कार्यालय, जनकपुरधामका अनुसार नियमित अर्थात् चालू खर्चतर्फ सरकारले १३ अर्ब ३३ करोड ६९ लाख १६ हजार रूपैयाँ बजेट विनियोजन गरेकोमा सो अवधिमा ४ अर्ब ९६ करोड ९२ लाख रूपैयाँमात्र खर्च भएको छ ।

यो कुल चालू खर्चको ३७.२५ प्रतिशत रहेको प्रदेश लेखा नियन्त्रण कार्यालयका लेखा अधिकृत मनोजकुमार झाले जानकारी दिए । कार्यालयका अनुसार यस अवधिमा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले खर्च गरेको छ । मन्त्रालयले विनियोजित कूल बजेटको ४१.१४ प्रतिशत खर्च गरेको छ । मन्त्रालयले विनियोजित बजेटको चालूतर्फ ३५ करोड ६० लाख ८१ हजार रूपैयाँ र पुँजीगततर्फ तीन अर्ब ४७ करोड ३ लाख ४५ हजार रूपैयाँ खर्च गरेको छ । यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सो अवधिमा सबैभन्दा कम अर्थात् १३.८ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ ।

सो अवधिमा चालूतर्फ ३४ करोड १० लाख ६१ हजार रूपैयाँ र पुँजीगततर्फ ११ करोड १४ लाख ८४ हजार रूपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । त्यस्तै चालू आर्थिक वर्षको ११ महिनामा आर्थिक मामिला तथा योजना मन्त्रालयले विनियोजित कुल बजेटको ३६.३५ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले सो अवधिमा चालूतर्फ ७ करोड ६ लाख ८६ हजार रूपैयाँ र पुँजीगततर्फ एक करोड ८० लाख १० हजार रूपैयाँ खर्च गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सो अवधिमा ३२.८ प्रतिशत बजेट खर्च गरेको छ ।

तीमध्ये चालूतर्फ ६६ करोड ४३ लाख ४८ हजार रूपैयाँ र पुँजीगततर्फ ४० करोड ५४ लाख ६० हजार रूपैयाँ गरी एक अर्ब ६ करोड ९८ लाख ९ हजार रूपैयाँ खर्च गरेको छ । यसैगरी चालू आर्थिक वर्षको ११ महिनामा सामाजिक विकास मन्त्रालयले चालूतर्फ एक अर्ब ५२ करोड २१ लाख रूपैयाँ र पुँजीगततर्फ ५८ करोड चार लाख एक हजार रूपैयाँ गरी कुल दुई अर्ब आठ करोड  २५ लाख रूपैयाँ खर्च गरेको छ ।

वर्षाका कारण सडक अवरुद्ध

सर्लाहीको उत्तरी क्षेत्रका अधिकांश सडक लगातारको वर्षासँगै अवरुद्ध भएका छन् । केही दिनयता पानी पर्ने क्रम बढेसँगै खोलाको बगर र चुरे क्षेत्रका गोरेटो बाटाहरू अवरुद्ध भएका छन् । सडक नपुगेको चुरे क्षेत्रका नागरिक हरेक वर्षको बर्खायामका केही महिना कष्टपूर्ण दिनचर्या बिताउन बाध्य हुँदै आएका छन् । पूर्वपश्चिम लोकमार्गमा पर्ने लालबन्दी, हरिवन, बागमती र ईश्वरपुर नगरपालिकाका उत्तरी चुरे क्षेत्रमा पर्ने बस्तीहरूमा सडक अवरुद्ध हुँदा आवतजावत गर्न समस्या हुने लालबन्दी नगरपालिका १४ का वडाध्यक्ष सुबाई सिंह ब्लोनले बताए ।

जेठ महिनाको अन्तिमसाता यता निरन्तर वर्षा भइरहेकोले खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बस्तीमा बाढी पस्ने डरले नागरिकहरु त्रसित भएका छन् । अघिल्लो वर्षको बर्खामा बागमती, लखन्देही, फूलजोर खोलाको बाढीले सयौं बिगाहा खेतीयोग्य जमिन कटान गरेको थियो । वर्षायाममा बाढीका कारण आइपर्ने विपद् व्यवस्थापनमा कुनै पनि स्थानीय निकायले प्रयास समेत नगरेका स्थानीयको गुनासो छ । (शंकर पहाडी/रासस)

सम्बन्धित खबरहरु