Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

बर्दियामा बाढीको कृत्रिम घटना अभ्यास

न्युज कारोबार बर्दिया असार ९, २०७८       

बर्दियामा बाढीको कृत्रिम घटना अभ्यास

जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको आयोजनामा बाढीको कृत्रिम घटना अभ्यास गरिएको छ । बर्दियाको राजापुर नगरपालिका-१ दौलतपुरस्थित कर्णाली नदीमा बाढी पूर्वाभ्यास सम्पन्न भएको छ । 

बाढीको बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनःताजगीका लागि खोज तथा उद्धारकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ हरेक वर्षझैँ यस वर्ष पनि कर्णाली नदीमा बाढी कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको प्राविधिक सहयोगमा बाढीको कृत्रिम घटना अभ्यास सम्पन्न गरिएको छ । घटना अभ्यासमा उद्धार गरी ल्याइएका घाइतेलाई नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचारक टोलीले प्राथिमक उपचार सेवा प्रदान गरी एम्बुलेन्समार्फत नजिकको अस्पतालमा पठाउने कार्य भएको थियो । बाढीको कृत्रिम घटना अभ्यासमा सबै सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ र मनसुन पूर्वतयारी कार्ययोजनाअनुसार सोको प्रभावकारिताका लागि योजनाको परीक्षणसमेत गर्नुपर्ने व्यवस्था भएबमोजिम कर्णाली नदीको दौलतपुरघाट नजिक कार्यक्रम आयोजना गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाका संयोजक सन्तबहादुर सुनारले कृत्रिम घटना अभ्यासको ब्यानर पढेर उद्घाटन गर्दै अभ्यासले बाढीका बखत जनशक्ति तथा आवश्यक खोज तथा उद्धार सामग्रीको पूर्वतयारी गर्न सहयोग पुग्ने बताए ।

'यस्ता अभ्यासले विपद् प्रतिकार्य गर्न प्रभावकारिता हुनेछ । मनसुन सक्रिय रहेको र बाढी आइहालेमा त्यसको प्रतिकार्य गर्न जिल्ला तयारी अवस्थामा रहेको छ,' प्रजिअ सुनारले भने । बाढी कृत्रिम अभ्यास कार्यक्रममा नेपाली सेना र सशस्त्र प्रहरी बलसँग रहेको मोटरबोट, रवरबोटलगायतका खोज तथा उद्धार सामग्रीको प्रयोग गरिएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिए ।

उक्त कार्यक्रममा भैरवप्रसाद गण इमाननगर ब्यारेक राँझाका प्रमुख सेनानी, बर्दिया जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुख, राजापुर नगरपालिकाका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल रेडक्रस सोसाइटी बर्दियाका सभापति, उपशाखा राजापुरका सभापति, पत्रकार महासंघका उपाध्यक्ष, सञ्चारकर्मी, जिल्ला अगुवा सहयोगी निकाय (एक्सनएड र कमैया महिला जागरण समाज), सबै क्षेत्रगत अगुवा, विपद्सँग सम्बन्धित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, सामाजिक विकास तथा अनुसन्धान केन्द्रका प्रतिनिधि, समुदायिक कार्यदलका सदस्यको उपस्थिति थियो ।

कार्यक्रमको परिदृश्यबारे जानकारी र कार्यक्रमको सहजीकरण सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावत, जिल्ला विपद् व्यस्थापन समितिका फोकल पर्सन नारायणप्रसाद ढकाल र सूचना व्यवस्थापन अधिकृत बुढाथोकीले गरेका थिए । (रासस)

सम्बन्धित खबरहरु