Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

राष्ट्रिय वाणिज्य बैंकले कोरोना प्रभावित ग्राहकलाई ब्याजमा १० प्रतिशत छुट दिने

न्युज कारोबार काठमाडौं असार ४, २०७८       

राष्ट्रिय वाणिज्य बैंकले कोरोना प्रभावित ग्राहकलाई ब्याजमा १० प्रतिशत छुट दिने

राष्ट्रिय वाणिज्य बैंकले कोभिड–१९ बाट प्रभावित भएका ग्राहकलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । विश्वव्यापी रुपमा देखा परेको कोरोना भाइरसबाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानको लागि नेपाल सरकारले वार्षिक बजेट तथा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् ल्याएको सहुलियतका कार्यक्रमहरु र राष्ट्र बैंकले जेठ ११ मा परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकलाई प्रोत्साहन स्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ । 

अहिले कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्नको लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीको विषम परिस्थतिका कारण कर्जा ग्राहकको व्यवसायिक कारोबार बन्द रहेको तथा कर्मचारी कामदारहरुको रोजगारी गुमेको कारण नगद प्रवाहमा प्रतिकुल असर परेको छ । 

यसले गर्दा ग्राहकहरुले नियमितकर्जा भुक्तानी गर्न समस्या हुने देखिएको हुँदा ग्राहकलाई ब्याज रकममा छुट प्रदान गर्दा कर्जा भुक्तानी गर्न सहज हुने तथा व्यवसायको निरन्तरता एवं पुनरुत्थानमा सहयोग पुग्ने अपेक्षा गरी २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने कोभिड–१९ बाट प्रभावित ग्राहकलाई निजहरुले बुझाउने प्रचलित ब्याज रकमको १० प्रतिशत रकम छुट (Interest Rebate)प्रदान गर्ने निर्णय गरिएको छ । यस ब्याज रकम छुट सुबिधाबाट नेपाल भरका ७ वटै प्रदेशका २४७ शाखा कार्यालयका एक लाख ८० हजारभन्दा बढी कर्जा ग्राहकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबरहरु