Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

सुदूरपश्चिमको बजेट : प्रदेशसभा रंगरोगनका लागि १९ करोड विनियोजन हुँदा राजधानी निर्माणमा दुई करोड मात्रै

दिनेश बिष्ट कैलाली असार ४, २०७८       

सुदूरपश्चिमको बजेट : प्रदेशसभा रंगरोगनका लागि १९ करोड विनियोजन हुँदा राजधानी निर्माणमा दुई करोड मात्रै

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको 'काममा भन्दा बेकाम'मा विनियोजन भएको भन्दै आलोचना भएको छ । प्रदेश सरकारले कैलालीको गोदावरीमा बन्ने भनिएको प्रदेश राजधानी निर्माणका लागि दुई करोड रुपैयाँ मात्रै विनियोजन गर्दा आलोचना भएको हो ।

राजधानी निर्माणका लागि विनियोजन गरेको दुई करोड रुपैयाँ ‘विकास खर्च कछुवा गतिमा’ हुने एक उदाहरण भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको हो । राजधानी निर्माणको सट्टा प्रदेश सरकारले प्रदेशसभा रंगरोगनका लागि भने झन्डै १९ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

कृषिको रकम काटेर पूर्वाधारमा

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको बजेट कटौती गरेको छ । प्रदेश सभामा मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले सार्वजनिक गरेको बजेटमा कृषि क्षेत्रको बजेट घटाएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाखको बजेट मंगलबार ल्याएकोमा ९.३ प्रतिशत मात्र कृषि तथा पशुपन्छी क्षेत्रमा बजेट छ । सुदूरपश्चिम प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा सबैभन्दा बढी बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले भौतिक पूर्वाधार क्षेत्रमा बजेट थुपारेको हो । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षमा कृषि तथा पशुपन्छी क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याएको थियो । गत वर्षको बजेटमा समेत कृषि क्षेत्र सुदूरपश्चिम सरकारको प्राथमिकतामा रहँदै आएको थियो । तर, मंगलबार सार्वजनिक भएको सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा भने कृषि तथा पशुपन्छी विकास क्षेत्रको बजेट कटौती गरिएको छ ।

सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा ९.३ प्रतिशत अर्थात् दुई अर्ब ८३ करोड ५६ लाखमात्र बजेट कृषिमा विनियोजन गरिएको हो । प्रदेशको जम्मा बजेटको चालू आर्थिक वर्षमा १० प्रतिशत बढी बजेट कृषि तथा पशुपन्छी विकास क्षेत्रमा थियो । तर, आगामी आर्थिक वर्षको बजेटमा ठूलो रकम कटौती गरिएको छ । 

चालू आर्थिक वर्षमा ४२ करोडको मुख्यमन्त्री कृषि तथा पशुपन्छी कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा १६ करोड मात्र बजेट विनियोजन गरिएको छ। कृषि क्षेत्रको बजेट कटौती गरिएको देखिए पनि मुख्यमन्त्री कृषि कार्यक्रमका लागि विनियोजन गरिएको थियो । आगामी वर्षका लागि भने १६ करोड नै प्रर्याप्त हुने प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. हेमराज अवस्थीले बताए । उनले भने, ‘कृषि क्षेत्रको बजेटको आकार कम देखिएको छ । तर, गत वर्ष ४२ करोड बिनियोजन गरिएको मुख्यमन्त्री कृषि कार्यक्रमका लागि भने १६ करोड ठिकै हो । तीन वर्षको कार्यक्रम अब अन्तिम चरणमा छ ।’

सुदूरपश्चिम प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथामिकता दिएको देखिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सबैभन्दा बढी ३८.८ प्रतिशत अर्थात् ११ अर्ब ७५ करोड ८३ लाख बजेट विनियोजन गरिएको छ । सबैभन्दा कम आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट छ । 

आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गतका लागि एक प्रतिशत अर्थात् ३० करोड ३३ लाख बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव चुडामणी पौडेलले बताए । उनले बुधबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भने, ‘भौतिक पूर्वाधार विकास मन्त्रालयमा बढी रकम गएको छ । भौतिक संरचना निर्माणका लागि रकम बढी चाहिन्छ । प्रदेश सरकारको बजेटअनुसार अन्य मन्त्रालयहरुलाई पनि प्रर्याप्त बजेट पठाएका छौं ।’

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि १.४ प्रतिशत अर्थात् ४२ करोड ८७ लाख, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको ४.८ प्रतिशत अर्थात् एक अर्ब ४५ करोड दुई लाख, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ७ प्रतिशत अर्थात् दुई अर्ब ११ करोड ४८ लाख र सामाजिक विकास मन्त्रालयको १९.४ प्रतिशत अर्थात् पाँच अर्ब ८८ करोड ५९ लाख बजेट विनियोजन गरिएको छ । तर, सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि उत्पादनमुखी बजेट ल्याएको बताएको छ ।

उत्पादनमुखी बजेट ल्याएको दावी

प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले सुदूरपश्चिम प्रदेश सरकारले उत्पादनमुखी बजेट ल्याएको बताएका हुन् । उनले भने, ‘बजेट उत्पादनमुखी हुनुपर्छ । हामीले उत्पादनमुखी बजेट ल्याएका छौं । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको समेत उत्पादनलाई बढाउने योजना बनाएका छौं ।’ उनले प्रदेशको कुल बजेटसमेत चालू आर्थिक वर्षको भन्दा न्यून भएकाले कृषि क्षेत्रको बजेटसमेत काम देखिएको दाबी गरे ।

तीन अर्ब घट्यो बजेट

सुदूरपश्चिम सरकारले चालू आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको थियो । पूर्व आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बराबरको बजेट प्रस्तुत गरेका थिए । जसमा चालूतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विजियोजन गरिएको थियो । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँको बजेट ल्याएको छ ।

सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले मंगलबार बसेको प्रदेशसभा बैठकमा चालू आर्थिक वर्षको वार्षिक बजेटभन्दा तीन अर्ब ५ करोड कमको बजेट प्रस्तुत गरेका हुन् । मन्त्री शाहले चालूतर्फ ३५.१ प्रतिशत अर्थात् १० अर्ब ६६ करोड र पुँजीगततर्फ ५८.२ प्रतिशत अर्थात् १७ अर्ब ६५ करोड ४० लाख बजेट विनियोजन गरेको हो । चालू आर्थिक वर्षभन्दा झन्डै तीन अर्ब बजेट घटाएर ल्याइएको हो ।

सम्बन्धित खबरहरु