Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

एक वर्षमा १४८२ अंकले बढ्यो नेप्से, बोर्डको सूचनापछि ओरालिँदै सेयर बजार

भूमिराज पिठातोली काठमाडौं असार ३, २०७८       

एक वर्षमा १४८२ अंकले बढ्यो नेप्से, बोर्डको सूचनापछि ओरालिँदै सेयर बजार

एक वर्षको अवधीमा नेप्से परिसूचक करिब १५ सय अंकले बढेको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार एक वर्ष एक महिनाको अवधीमा सेयर बजार कारोबार मापक नेप्से परिसूचक एक हजार ४८२.५ अंक उक्लिएको हो ।

गत आर्थिक वर्षको १० महिनामा एक हजार २०१.६ अंकमा कायम भएको नेप्से सूचकांक चालू आवको सोही अवधीमा दुई हजार ६८४.१ पुगेको छ । यस्तै गत वर्ष असार मसान्तमा सूचकांकमा एक हजार ३६२.४ अंकमा पुगेको थियो ।

राष्ट्र बैंकले जारी गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार १० महिनाको अवधीमा धितोपत्र बजार पुँजीकरण ३७२४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधीमा बजार पुँजीकरण १७९२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

२२० कम्पनी नेप्सेमा सूचीकृत

अहिले नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, पाँच होटल, चार व्यापारिक संस्था, चार लगानी कम्पनी र तीन अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ८.४ प्रतिशत, लगानी कम्पनीको ७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.६ प्रतिशत, अन्य समूहका कम्पनीहरुको हिस्सा ९.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

सूचीकृत सेयर पाँच अर्बभन्दा बढी

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चालू आवको वैशाखसम्ममा सूचीकृत पाँच अर्ब ७० करोड सेयरको चुक्ता मूल्य ५६० अर्ब ८८ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधीमा २१९ अर्ब ९५ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, ४१ अर्ब ३३ करोड रुपैयाँ बराबरको साधारण सेयर, ४३ अर्ब २० करोड रुपैयाँ बराबरको बोनस सेयर, १४ अर्ब ५५ करोड रुपैयाँ बराबरको डिबेन्चर, ५५२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र २८५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल ३२७ अर्ब ४० करोड रुपैयाँ बराबरको सूचीकृत भएको थियो ।

नेपाल धितोपत्र बोर्डले चालू आवको १० महिनामा १७ अर्ब ५४ करोड बराबरको डिबेन्चर, १३ अर्ब ३४ करोड बराबरको साधारण सेयर, ६५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ३०५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ४० अर्ब ४३ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

नेप्सेमा ऐतिहासिक रेकर्ड

यसै जेठ मसान्तमा नेप्सेमा ऐतिहासिक रेकर्ड कायम भएको छ । महिनाको अन्तिम दिन सोमबार सेयर बजार तीन हजार २३.५० अंकमा पुगेको थियो । सोमबार नेप्सेमा सूचीकृत १३ सबइन्डेक्समा हरियाली देखिएको थियो । आज बिहीबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ ।

बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १.२९ अंकले घटेर दुई हजार ९६८ अंकमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि ०.५८ अंकले घटेर ५४१.१२ अंकमा पुगेको छ । आज २२३ कम्पनीको दुई करोड तीन लाख ६५ हजार ६९९ कित्ता सेयर १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँमा किनबेच भएको छ । 

सम्बन्धित खबरहरु