Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

विद्यार्थी भर्ना अभियान सुरु भयाे, पठनपाठन विधिबारे छैन टुंगाे

सीता वली वीरेन्द्रनगर असार ३, २०७८       

विद्यार्थी भर्ना अभियान सुरु भयाे, पठनपाठन विधिबारे छैन टुंगाे

कर्णाली प्रदेशका विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान सुरु भएको छ । कोरोना महामारीका कारण शैक्षिक सत्र कहिले सुरु होला भन्ने अन्यौलतापछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार भर्ना अभियान सुरु भएको हो । कर्णालीका सामुदायिक विद्यालयहरुले भर्ना अभियान सुरु गरिसकेका छन् । तर कसरी अध्यापन गराउने भन्ने विषयमा भने अन्यौलता नै छ ।

कालिकोटको खाँडाचक्र नगरपालिका- ५ मा रहेको चुलिमालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपबहादुर शाहीले कुन माध्यमबाट अध्यापन गराउने भन्ने विषयमा स्थानीय तह तथा जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय कुरेको बताए । ‘कालिकोटमा अनलाइन कक्षा सम्भव छैन । किनभने, यहाँ बत्ती छैन, फोनको नेटवर्क पनि छैन,’ उनले समस्या सुनाए । उनले गत वर्ष रेडियोको माध्यमबाट पठनपाठन गरेको र सम्बन्धित शिक्षकहरुले टोल-टोलमा गएर गृहकार्य दिने गरेको बताए । मंगलबार भर्ना अभियान सुरु भएकोबारे सूचना जारी गरेको तर एकजना पनि विद्यार्थी भर्ना नभएको उनले बताए । 

दैलेखको नारायण नगरपालिका- ८, तर्ताङस्थित सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक जिवराज तिमिल्सिनाले पहिलो चरणमा अनलाइनबाटै अध्यापन गराउने तयारी थालेको जानकारी दिए । उनले भने, ‘कोरोना नियन्त्रणमा आएपछि भौतिक रुपमै बोलाउनुपर्छ । तत्कालका लागि अनलाइन कक्षाबाट पढाउने तयारी थालेका छौं ।’ विद्यार्थी भर्ना अभियान सुरु भएकै दिन भर्ना हुन आएका विद्यार्थीहरुलाई पाठ्यपुस्तकसमेत वितरण गरेको उनले जानकारी दिए ।

कर्णालीका अधिकांश विद्यालय तथा विद्यार्थीहरु इन्टरनेट र विद्युतको सुविधाबाहिर छन् । अनलाइन कक्षा कर्णालीमा यसअघि पनि असफल भइसकेको शिक्षकहरु बताउँछन् । कर्णालीका राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकामा समेत अनलाइन कक्षाबाट अध्ययन-अध्यापन सम्भव नभएको अमरज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले बताए । सबै विद्यार्थीसँग स्मार्ट मोबाइल फोन र रिचार्ज हाल्ने पैसा नहुने भएकाले अनलाइन कक्षा सम्भव नहुने उनले तर्क गरे । ‘पटक-पटक विद्युत अवरुद्ध भइरहने भएका कारणले पनि विद्यार्थीहरुले राजधानीमै अनलाइन कक्षा पढ्न पाएका छैनन् भने विकटका स्थानीय तहका विद्यार्थीहरुलाई अनलाइन कक्षामा कसरी समेट्न सकिएला र !’ उनले भने । भौतिक दूरी कायम गरी विद्यालयमै उपस्थित भइ अध्यापन गराउँदा प्रभावकारी हुने उनले सुनाए ।

शिक्षा विकास निर्देशनालय, कर्णालीकी प्रमुख दिपा हमालले सम्बन्धित स्थानीय तहहरुले भर्ना अभियानका लागि निर्देशन दिई मंगलबारदेखि भर्ना अभियान सुरु भएको बताइन् । उनले वैकल्पिक विधिबाटै अध्यापन गराउनुपर्नेमा जोड दिइन् । पाठ्क्रमका लागि सबै विद्यालयमा रकम निकासाको काम भइसकेको जनाउँदै हमालले पाठ्यपुस्तकसमेत बजारमा आइसकेको जानकारी दिइन् । जनक शिक्षा सामग्रीको कार्यालय सुर्खेतमै भएकाले सबै जिल्लामा पाठ्यपुस्तकसमेत पठाइसकेको उनले बताइन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जेठ २३ गते भएको छलफलका क्रममा मन्त्री कृष्णगोपाल श्रेष्ठले असार १ देखि अनिवार्य भर्ना प्रक्रिया अगाडि बढाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

सम्बन्धित खबरहरु