Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

‘ताक्लाकोटी सांसद’को मन्त्री यात्रा

भूमिराज 'पिठाताेली' काठमाडौं असार ३, २०७८       

‘ताक्लाकोटी सांसद’को मन्त्री यात्रा

भर्खरै वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएकी आशाकुमारी विककाे अर्काे परिचय छ, ‘ताक्लाकोटी सांसद’ । उनले सिंहदरबारमै ‘ताक्लाकोटी सांसद’को उपनाम पाएकी हुन् । संसदका विभिन्न समिति तथा संसद बैठकमा ताक्लाकोट नाकाको विषय उठाइरहने हुँदा उनको नाम अन्य सांसद तथा पत्रकारले ‘ताक्लाकोटी सांसद’ राखिदिएका हुन् । आशाकुमारीको जन्म भने लुम्बिनी प्रदेशमा भएको हो । ‘उत्पीडित समुदायको सहारा’ संज्ञा पाएकी उनले अहिले थप जिम्मेवारी पाएकी छन् । हिमाली जिल्ला बझाङलाई कर्मथलो बनाएकी उनी राज्यमन्त्री भएसँगै बझाङबासीका लागि झनै ‘आडभरोसाको केन्द्र’ भएकी छन् । लैंगिक हिंसा नियन्त्रणको प्रयासमा अग्रणी भूमिका निर्वाह गर्दै आएकी मन्त्री विक पीडित महिलाहरुका लागि त प्रेरणाको आधार नै हुन् ।

दलित समुदायबाट प्रतिनिधित्व गरिरहँदा उनले धेरै पटक विभेद खेप्नुपर्‍यो । बझाङमा केही वर्षअघि दुई वटा महिला हिंसाका घटनामा आफैंले अदालतमा मुद्दा दर्ता गरेर पीडितलाई न्याय दिलाएपछि उनको चर्चा चुलिएको थियो । लामो समय सामाजिक क्षेत्रमा काम गरिरहेकी आशा पार्टीको नजरमा परिन् । उनको समाजप्रतिको निरन्तर समर्पणले समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनायो । त्यसपछि वन राज्यमन्त्री । 

तराईमा जन्मेर हिमालमा राजनीति

रुपन्देहीको कन्चन गाउँपालिका- ४ मा सामान्य परिवारमा जन्मिएकी हुन् उनी । उनका बुवाले नागाल्याण्ड आम्र्ड पुलिसमा कार्यरत भएको केही समयमा जागिर छोडेपछि परिवार विभिन्न पेशामा छरियो । आशाका दाइ कम्प्युटरको काम सिकेर व्यवसायतिर लागे भने परिवारका अन्य सदस्य खेती किसानीमा । आशा बाल्यकालमै विद्यालयका शिक्षकबाट विभेदमा परिन् । गैरदलित समुदायका बालबालिका एकतिर भने दलित समुदायका बालबालिका अर्कोतिर राखेसँगै आफू विभेदमा परेको उनलाई महशुस हुन थाल्यो ।

उनी हुँर्कदै गर्दा रुद्रपुर क्षेत्रका उत्पीडित समुदायको आवाज बन्ने कोसिस गरिन् । उमेरले सानै भए पनि भेदभावको प्रतिवाद गर्न थालिन् । प्राथमिक शिक्षा लिएसँगै जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न अग्रजको प्रेरणा पाएपछि उनलाई सहज भयो । तत्कालीन दलित महिला संघ (फेडो)को रुपन्देही जिल्ला सदस्य बनिन् । त्यसपछि बिहे गरेर बझाङ गएपछि उनले ठूलो संघर्ष गर्नुपर्‍यो । जयपृथ्वी नगरपालिका- १ का सामान्य पृष्ठभूमिका गोविन्द विकसँग बिहे गरेपछि उनले नेकपा एमालेको सदस्यता लिएकी थिइन् । ‘काम गर्छु, फलको आशा गर्दिनँ, मन्त्री बनुँला भन्ने सोचेकी पनि थिइनँ, सरप्राइजजस्तै भयो । अब सकेजति जनताको काम गर्छु,’ उनले भनिन् ।

विवाहपछि राजनीति

भनिन्छ संघर्ष र सफलता एक अर्काका परिपुरक हुन् । संघर्षशील मानिसले नै सफलताको सिँढी चढ्न सक्छ । आशाको जीवन पनि यस्तै संघर्ष र सफलताले भरिएको छ । २०३८ सालमा जन्मिएकी आशा रुपेन्देहीकै मलावर आधारभूत र भैसाही माविबाट १० कक्षासम्म पढिन् । फोटो स्टुडियो सञ्चालक भएर गुल्मीमा गएका दाइसँगै बसेर गुल्मीको जनकल्याण मावि फोक्सिङबाट २०५६ सालमा एसएलसी उत्तीर्ण गरिन् । पारिवारिक समस्याका कारण बीचमा पढाईलाई निरन्तरता दिन नसकेर दुई वर्ष पढाई रोकियो । त्यसपछि विज्ञापनका आधारमा २०५९ सालमा सामुदायिक विकास कार्यकर्तासम्बन्धी १५ महिने तालिम लिइन् । सो तालिमपश्चात् तीन महिने ‘अन द जब ट्रेनिङ’ लिने अवसर पाइन् । त्यसपछि जीविकोपार्जनका लागि वन कार्यक्रमअन्तर्गत इलाका वन कार्यालय दाङमा जागिर गर्ने अवसर जुर्‍यो । काठमाडौंमा तीन महिने तालिम लिँदाकै समयदेखि गोविन्द विकसँग उनको निकटता बढेको थियो । २०६१ वैशाखमा उनीहरुले विवाह गरे ।

विवाहपछि दुवै जना गैरसरकारी संस्थामा काम गर्न थाले । एसएलसीमात्रै अध्ययन गरेको हुँदा आशाले प्राइभेटबाट स्थानीय जयपृथ्वी क्याम्पसमा आइएमा भर्ना गरिन् । त्यसपछि बीएड पनि सोही क्याम्पसबाट पास गरिन् । नेकपा एमालेको राजनीतिमा लागेकी उनी जिल्ला कमिटी सदस्य, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य हुँदै नेकपा एमाले (केपी ओली पक्ष)की केन्द्रीय कमिटी सदस्य भएकी छन् । २०७४ सालको प्रतिनिधि सभा सदस्यमा समानुपातिक कोटाबाट निर्वाचित भएकी आशा वन तथा वातावरण राज्यमन्त्री भएकी हुन् । 

दलित समस्याप्रतिको बुझाइ    

डेढ दशक सामाजिक क्षेत्रमा काम गरेकी आशा दलित समस्याबारे निकै जानकार छन् । बाल्यकालमा आफूमाथि भएको विभेददेखि सभा सम्मेलनमा पनि सांकेतिक विभेद खेपेकी उनी विभेद निर्मुल पार्ने प्रयासमा छिन् । बझाङका १३ प्रतिशत दलित समुदायलाई उर्जा भर्नेमध्ये एक हुन् उनी । त्यसैले बझाङबाट हिंसामा परेका अधिकांश जोकोही आशाको सम्पर्कमा आउँछन् । मुलुकभर दलितमाथि भएको हिंसाको विषयमा उनले संसदमा निरन्तर आवाज उठाइन् । गत वर्ष जाजरकोटमा भएको नवराज विकसहित ६ जनाको हत्याकाण्डमा पनि उनले जिम्मेवार निकायलाई निरन्तर घच्घचाइरहिन् ।

केही जिल्लामा मात्रै होइन, देशभर पनि दलित समस्या राजनीतिक चंगुलमा परेको आशाको बुझाइ छ । ‘राजनीतिक आडमै कतिपय पीडकहरुले सजिलै उन्मुक्ति पाइरहेका छन् । पीडकहरु कुनै न कुनै पार्टीको कार्यकर्ता हुन्छन् । एउटा सरकारको पालामा पीडकलाई हत्कडी लागे पनि दोस्रो सरकारले आफ्नो कार्यकर्ता भन्दै छुटाएका अधिकांश घटनासमेत छन्,’ उनी भनिछन् । पीडित पक्षले राहत पाउने अवस्थामा पनि राजनीति नै अगाडि आइपुग्छ । एउटा सरकार आएर एउटा निर्णय गर्ने र अर्को सरकार आएर अर्को निर्णय गर्दा पनि दलित समुदाय उपेक्षामै पर्ने गरेको उनी बताउँछिन् । ‘दलित उत्थानको लागि एउटा सरकारले बजेट ल्याउँछ, अर्को सरकार आएपछि त्यो फाइल अर्कै ठाउँ पुग्छ । एक वर्षेमा हुने कामले दश वर्ष लाग्छ । त्यस्तै पीडितले राहत पाउन पनि दशक बित्ने गर्छ,’ उनको अनुभव छ ।

झर्दैछ धारामा पानी

२०७४ को निर्वाचनमा उनको गृहजिल्लामा ‘एक घर, एक धारा’ भन्ने नारा थियो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनसहित चुनावको बेला ताक्लाकोट नाका खोल्ने, १३३ केभी प्रशारण लाइन विद्युत निर्माण गर्ने, प्रत्येक पालिकाअन्तर्गत अत्याधुनिक सेवासहितका अस्पताल सञ्चालन गर्ने, बहुमूल्य जडिबुटी संकलन केन्द्र तथा प्रवर्द्धन गर्ने, एक घर एक धारा कार्यक्रम सबै पार्टीका प्रमुख बुँदा थिए । लामो समय सामाजिक काम गरेको हुँदा प्रचार प्रसारमा जाँदा पनि आशाका समर्थकहरु उनलाई ‘सांसद बन्नुहोला र ?’ भन्थे, प्रश्नसमेत गर्थे । त्यो बेलामा उनको एउटै जवाफ हुन्थ्यो- म सांसद नभए पनि तपाईंहरुकै सेवामा, तपाईंहरुसँगै समन्वय गरिरहन्छु । 

सांसद बनेपछि निर्वाचनमा उठाएका कुराहरु जति सके गर्छु भनेर बझाङका समस्या पटक-पटक संसदमा उठाइरहिन् । प्रतिनिधि सभाअन्तर्गतका विभिन्न समितिहरुमा पनि बझाङका समस्या बारे बोलिरहिन् । निर्वाचनको बेला पहिलो प्राथमिकतामा परेको चैनपुर-ताक्लाकोट सडकको विषय बोल्दा-बोल्दै त सांसद तथा पत्रकारले आशाकुमारीको नाम ‘ताक्लाकोटी सांसद’ राखेका हुन् । निर्वाचनको बेलामा प्रतिवद्धता जनाएका विषय र अन्य समसामयिक विषयको समाधानका लागि काठमाडौंमा हुँदा मन्त्रालयमा धाइरहने उनको दिनचर्या नै हो । आशाकै पहलमा बझाङका विभिन्न क्षेत्रमा करोडौं बजेट पनि विनियोजन भइसकेको छ । खानेपानीको चरम अभाव भएका ठाउँमा पनि पछिल्लो समय धारामा पानी झर्न थालेको छ ।

मन्त्रालयको जिम्मेवारी पाए पनि आशाको मनमा बझाङको विकास नै प्राथमिकतामा छ । जिम्मेवारीमा भए-नभए पनि समुदायको हितमा काम गरिरहने आशा फेरि बझाङीकी ‘आशा’ भएकी छन् । मन्त्रालयको जिम्मेवारीमा आएसँगै मान्छे र जनावरको द्वन्द्व घटाउने, मुलुकको जंगल तथा चुरेको दोहन कम गर्न सक्दो प्रयास गर्ने उनको योजना छ । 

गृह जिल्लाका लागि आर्थिक संघर्ष

बझाङको विकासका लागि ताक्लाकोटी सांसद विकले करोडौं रुपैयाँ विनियोजन गराएकी छन् । पटक-पटक चैनपुर-ताक्लाकोट नाम लिँदै ताक्लाकोटी सांसद भनेर चिनिएकी आशाले रणनैतिक सडकअन्तर्गत सोही सडकमा ६१ करोड ४६ लाख रुपैयाँ विनियोजन गराएकी छन् । त्यस्तै निर्वाचन क्षेत्र रणनैतिक सडक, अन्य ग्रामीण सडकहरु, पुल, एकीकृत दलित बस्ती, महिला तथा जेष्ठ नागरिकका लागि विभिन्न योजना र जिल्ला अस्पताल स्तरोन्नतिका लागिसमेत बजेट विनियोजन गराएकी छन् ।

परिपाटी नसुध्रिँदा विकास सुस्त

नेपालमा कछुवा गतिमा अघि बढेको विकास परिपाटी नसुध्रिँदा सुस्ताएको आशाको बुझाई छ । ‘आर्थिक वर्ष सुरु हुँदा नै बजेट कार्यान्वयन भएपछि मात्रै नेपालको विकासले लक्ष्य प्राप्ति गथ्र्यो । हाम्रो कानुनले नै ढिलाई गर्छ । स्थानीय तहमा कुनै योजना पुग्न तीनै तहका सरकारमा घुम्नुपर्छ । त्यसपछि मात्रै सम्बन्धित ठाउँमा बजेट पुग्छ र काम सुरु हुन्छ । तर, त्यो ढिलाइ भइसकेको हुन्छ,’ उनी भन्छिन् ।

‘कतिपय योजनामा भने उपभोक्ता समितिकै हेलचक्रयाँई हुने गर्छ,’ आशाले भनिन्, ‘मुलुकभर स-साना अधिकांश योजनाहरु वैशाख-जेठमा सम्झौता हुन्छन् । सम्पन्न हुने समयमा योजना सम्झौता भएपछि ढिलाई हुनु स्वभाविक हो । त्यसमा उपभोक्ताले बुझ्नुपर्छ ।’ अहिलेको सरकारले विभिन्न ठाउँ लक्षित गरेर विनियोजन गरेको बजेट पनि अर्को वर्ष अर्कै ठाउँमा पर्दा तालमेलबिहीन भएर ढिलाई हुने उनी बताउँछिन् ।

सम्बन्धित खबरहरु