Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

पुनर्कर्जामा १२८ अर्ब लगानी, सहुलियतपूर्ण कर्जा १४९ अर्ब रुपैयाँ

भूमिराज पिठातोली काठमाडौं असार ३, २०७८       

पुनर्कर्जामा १२८ अर्ब लगानी, सहुलियतपूर्ण कर्जा १४९ अर्ब रुपैयाँ

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको १० महिनाको समीक्षामा कर्जा तथा वित्तीय क्षेत्रसम्बन्धी व्यवस्थामा लगानी स्वीकृत गरेको छ । पुनर्कर्जा, कृषि तथा उर्जा, लघु–साना एवं मझौला उद्यम कर्जा, कोभिड-१९ बाट अति प्रभावित पेशा÷व्यवसाय सञ्चालन कर्जा र सहुलियतपूर्ण कर्जामा अर्बौं रूपैयाँ लगानी स्वीकृत भएको विवरण बैंकले सार्वजनिक गरेको हो ।बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा १२८ अर्ब ४४ करोड लगानीमा रहेको जनाएको छ । यसबाहेक करिब २० अर्ब रुपैयाँ पुनर्कर्जामा स्वीकृत भई लगानीको क्रममा रहेको छ ।

वैशाख मसान्तसम्म करिब ९६ हजार ऋणीलाई १४९ अर्ब रुपैयाँ कर्जा बक्यौता पुगेको छ । राष्ट्र बैंकका अनुसार चालू आव १० महिनामा ९५ हजार ८०६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १४९ अर्ब ७६ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ४३ हजार ९९७ ऋणीलाई प्रवाह भएको एक खर्ब १० करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ४९ हजार ४५० महिला उद्यमीलाई ४६ अर्ब ४६ करोड कर्जा प्रवाह भएको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत पनि दुई हजार ३५९ ऋणीको तीन अर्ब २० करोड कर्जा बक्यौता रहेको छ ।

व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा ४८ करोड ६१ लाख रुपैयाँ स्वीकृत भएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए ।

घट्यो अन्तर-बैंक कारोबार

चालू आर्थिक वर्षको दश महिनामा १३२० अर्ब ९७ करोड रुपैयाँको अन्तर-बैंक कारोबार भएको छ । वाणिज्य बैंकहरुको ११५६ अर्ब रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को १६४ अर्ब ९६ करोड रुपैयाँ गरी १३२० अर्ब ९७ करोड रुपैयाँको अन्तर-बैंक कारोबार भएको हो । प्रवक्ता ढकाललका अनुसार अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको १३८० अर्ब ८५ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुको ११८ अर्ब ७ करोड गरी कुल १४९८ अर्ब ९२ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको थियो । गत वर्षको तुलनामा यो वर्ष अन्तर–बैंक कारोबार १७७ अर्ब ९५ करोड रुपैयाँले घटेको हो ।

मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर-बैंक ब्याजदर चालू आवको वैशाखमा ४.१२ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर गत वर्ष ४.०६ प्रतिशत रहेकोमा यो वर्ष ४.१२ प्रतिशत पुगेको हो । ९१-दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर भने घटेको छ । गत वर्षको वैशाख मसान्तमा ३.५१ प्रतिशत रहेको ब्याजदर यो वर्षको सोही अवधीमा २.२८ प्रतिशत पुगेको हो ।

२३.८ प्रतिशतले बढ्यो कर्जा प्रवाह

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो कर्जा ११.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २४.८ प्रतिशतले बढेको छ । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २४.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २५.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ८.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका प्रवक्ता ढकालका अनुसार चालू आवको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । गत वर्षको सोही अवधीमा घर जग्गाको धितोमा प्रवाहित कर्जा ६५.४ प्रतिशत र चालू सम्पतिको धितोमा १३.२ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ३८.३ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १७.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १५.१ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २२.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १७.६ प्रतिशतले बढेको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २४.६ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २७.७ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा २०.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ११.४ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ८७.२ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ४६.५ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.४ प्रतिशतले घटेको छ ।

सम्बन्धित खबरहरु