Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

सुदूरपश्चिम बजेट : आगामी वर्ष पनि प्रदेश सांसदले निर्वाचन क्षेत्रमा तीन करोड खर्च गर्ने

दिनेश बिष्ट कैलाली असार २, २०७८       

सुदूरपश्चिम बजेट : आगामी वर्ष पनि प्रदेश सांसदले निर्वाचन क्षेत्रमा तीन करोड खर्च गर्ने

सुदूरपश्चिम प्रदेशका सांसदले आगामी वर्ष पनि आफ्नो निर्वाचन क्षेत्रमा तीन करोड रुपैयाँका दरले खर्च गर्ने भएका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेटमा प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ९६ करोड रूपैयाँ विनियोजन गरेका हुन् । यस्तै मन्त्री शाहले प्रदेश गौरवका आयोजना र क्रमागत योजनाका लागि पाँच अर्ब १२ करोड रूपैयाँ, तटबन्धनका लागि दुई अर्ब २ करोड रूपैयाँ, खानेपानी योजनाका लागि एक अर्ब ३४ करोड रूपैयाँ, मुख्यमन्त्री कृषि तथा पशुपन्छी विकास कार्यक्रमका लागि १६ करोड रूपैयाँको बजेट विनियोजन गरेका हुन् । 

बजेटमा आगामी वर्षका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । अस्पताल स्तरोन्नति तथा सेवा सुधार वर्ष कार्यक्रम सञ्चालन गर्न दुई अर्ब ४२ करोड ५८ लाख रूपैयाँ, कोरोना लगायतका महामारी रोकथाम र उपचारका लागि ९० करोड रूपैयाँ, विद्यालय सुधार कार्यक्रमका लागि एक अर्ब १७ करोड रूपैयाँ र महिला सशक्तिकरण कार्यक्रमका लागि पाँच करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै बादी समुदायको गरिवी न्यूनीकरणका लागि तीन करोड रूपैयाँ, कैलाश मानवसरोवार प्रवेशद्वार निर्माणका लागि २० करोड ९० लाख रूपैयाँ, खप्तडमा पूर्वाधार विकास गर्न दुई करोड ५० लाख रूपैयाँ, सशस्त्र द्वन्द्वमा पीडीत र घाईते परिवारलाई रोजगार बनाउन १० करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

मन्त्री शाहले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रूपैयाँको बजेट प्रस्तुत गरे । बजेटमा १० अर्ब ६६ करोड ९ लाख (३५.१ प्रतिशत) चालू र १७ अर्ब ६५ करोड ४० लाख पुँजीगत (विकास) बजेट रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षभन्दा झन्डै तीन अर्ब बजेट घटाएर ल्याइएको हो । चालू आर्थिक वर्षका लागि ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरिएको थियो ।

सम्बन्धित खबरहरु