Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

रोगले तर्साउँदा घर, भोकले सताउँदा भारत

दिनेश बिष्ट धनगढी असार १, २०७८       

रोगले तर्साउँदा घर, भोकले सताउँदा भारत त्रिनगर नाकामा भारततर्फ लाग्दै गरेका नेपालीहरू ।

सुदूरपश्चिम प्रदेशको एक प्रमुख सीमा नाका धनगढीको त्रिनगर । गत जेठ दोस्रो साताको एक बिहान करिब ९ बजे । त्रिनगर नाकामा सदाझैं बिहानैदेखि भारत जाने नेपालीहरूको लर्को थियो । काँधमा झोला बोकेका कैलालीको जोशीपुर गाउँपालिका- ७ का पदमराज अवस्थी नाम लेखाउन सोही लाइनमा पालो कुरिरहेका थिए । 

कोरोना महामारीको दोस्रो लहरले भारतलाई हायलकायल बनायो । जेठको तेस्रो सातासम्म कोरोना संक्रमण र मृत्यु दर कुनै कमी आएको थिएन, भयावह थियो । तर, सुदूरपश्चिमका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारत जानेहरूको संख्यामा भने कमी आएको छैन । भारतमा कोरोना महामारीको सन्त्रास कायमै रहँदा पनि किन नेपालीहरू गइरहेका छन् ? पदमराजको सहज उत्तर थियो, ‘उता (भारत)मा महामारी फैलिएपछि ज्यान जोगाउन घर आयौं, तर यहाँ कति दिनसम्म बेरोजगार भएर बस्ने ? परिवारलाई कसरी पाल्ने ? बाध्य भएर फेरि उतै जाँदैछु ।’ सरकारले गरिखाने केही व्यवस्था गरेको भए आफूहरूले भारत धाउनु पर्ने अवस्था नहुने पदमराज बताउँछन् । उनले भने, ‘सरकारले हाम्रा लागि केही गरिखाने बाटो बनाइदिएको भए पराया देशमा जानु पर्दैनथ्यो होला ।’

पदमराज मात्रै होइनन्, अहिले पनि हरेक दिन सयौंको संख्यामा सुदूरपश्चिमेलीहरू कामका लागि भारततिर गइरहेका छन् । भारत जानेहरूको लाइनमा रहेका कैलालीको टीकापुर नगरपालिकाका नरबहादुर साउँद रोजगारी गुमाएर एक वर्षअघि घर फर्किएका थिए । उनी अहिले फेरि गाउँका केही साथीहरूसँगै भारत जान लागेका हुन् । ‘सात जनाको परिवार छ । खेतीपाती गरुँ भने जग्गाजमिन छैन । कुनै रोजगारी छैन । अनि भारत नगएर के गरौं ?’ उनी बाध्यता सुनाउँदै थिए ।

नेपाल-भारत सीमानजिक रहेको कैलालीको मोहना पुलमाथि साथीहरूसँगै काँधमा झोला भिरेर पैदल हिँडिरहेका भेटिए टीकापुरका तपेन्द्र साउँद । उनको गन्तव्य भारतको छत्तीसगढ राज्य रहेछ । कोरोना महामारीबीच उनी पाँच महिनाअघि भारतबाट घर फर्किएका रहेछन् । सञ्चारकर्मीहरूसँग उनले भावहीन मुद्रामा छोटो प्रतिक्रिया दिए, ‘घर आएको पाँच महिना भयो । यहाँ पनि फेरि लकडाउन भयो । गाउँमा कुनै रोजगारी छैन । हामीजस्ता गरिब मजुदरलाई बिना काम एक दिन पनि परिवारको गुजारा गर्न साह्रै समस्या हुन्छ ।’

उनले गाउँमा पढेलेखेका मान्छेले पनि बेरोजगार बस्नु परेको अनुभव सुनाए । भने, ‘म पनि १२ कक्षा पढेको छु । मैले धेरै ठाउँमा रोजगारीका लागि प्रयास गरेँ । तर केही सीप नलागेपछि पाँच वर्षदेखि भारतमा काम गरेर परिवारको लालनपालन गरिरहेको छु ।’ तपेन्द्रले आफ्ना बुवा र बाजेले पनि लामो समयसम्म भारतमा रोजगारी गरेको बताए । ‘मेरा बुवा, बाजे भारतमा काम गर्दागर्दै बुढा भए । अब मेरो पनि अवस्था यस्तै त हुने होला ।’ कोरोना संक्रमण उच्च बनेको बेला तीन महिनाअघि भारतको गुजरातबाट घर आएका कैलालीको बर्दगोरिया गाउँपालिकाका टेकबहादुर बिक बचत गरेको रकम सकिएपछि बाध्य भएर पुनः उतै फर्कंदै थिए । उनको सात जनाको परिवार छ । टेकबहादुरले भने, ‘जम्मा पाँच कठ्ठा जमिन छ । आफ्नो उत्पादनले मुस्किलले पाँच महिना खान पुग्छ । त्यही भएर भारत नगएर उपाय छैन । आफ्नो गाउँमा अरु कुनै रोजगारी पनि छैन ।’

बर्दगोरियाकै कर्ण विकको पनि कथा र व्यथा उही छ । भारतमा कोरोनाको महामारी कायमै भए पनि जहान, छोराछोरीको भोक र अभाव सहन नसकेर आफू ज्यान जोखिममा राखेर उता जान लागेको उनको प्रतिक्रिया थियो । उनले भने, ‘कोरोना कहर कम होला भनेर चार-पाँच महिना पर्खिएँ । तर, महामारी कम त भएन । बरु परिवार भोकभोकै हुने अवस्था आएपछि फेरि भारत जान लागेको हुँ ।’ उनले पनि सरकारले आफूहरूजस्ता बेरोजगारहरूका लागि स्वदेशमै रोजगारीको व्यवस्था गर्न ध्यान नदिएको गुनासो गरे, ‘आफ्नै देशमा काम गर्न पाइन्थ्यो भने अरुको देशमा किन जानु पर्दथ्यो र ?’ उनले केही आक्रोशमिश्रित स्वरमा भने, ‘सरकारले आश मात्रै देखाउँछ, काम दिँदैन । कुनै काम नपाएपछि विदेश नगएर पनि के गर्ने ? नजाउ भने घरको चुल्हो बल्दैन । कहिलेकाँही लाग्छ, सरकारको आस गर्नु पूरै बेकार छ ।’

कोरोनाको पहिलो लहर र अहिलेको दोस्रो लहरमा सुदूरपश्चिमका विभिन्न जिल्लाका मानिसहरू कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत जाने र आउने क्रम जारी छ । त्रिनगर नाका हुँदै भारतको सितारगञ्जतर्फ सपरिवार जान लागेका कञ्चनपुरको बेलौरी नगरपालिका- ३ का विनोद जोशीले भने, ‘उता (सितारगञ्ज)मा सानो नास्ता पसल छ । कोरोना महामारी फैलिएपछि ज्यान जोगाउन परिवारसहित घर फर्किएँ । यता कुनै काम नभएपछि फेरि जाँदैछु ।’ उनी तीन वर्षदेखि सितारगञ्जमा चियानास्ता पसल चलाउँदै आएका रहेछन् ।

सीमा नाकामा नाम दर्ता गर्ने लाइनमा रहेका कैलालीको गोदावरी नगरपालिका- ७ का चन्द्रबहादुर बिष्टलाई चेकिङमा रहेका प्रहरी जवान तिलक बोहराले सोधे, ‘किन भारत जाँदै हुनुहुन्छ ? यतै काम गरे हुँदैन र ? ‘आफ्नै देशमा काम पाए को बाहिर जान्थ्यो र ?’ चन्द्रको जवाफ थियो । पछिल्लो समय त्रिनगर नाका हुँदै दैनिक पाँच सयको हाराहारीमा नेपालीहरू भारततर्फ गइरहेकोे त्रिनगर प्रहरी चौकीको तथ्यांकले देखाएको छ । बर्खे बाली लगाउने समय भइसके पनि कामको खोजीमा भारतका विभिन्न सहर पस्ने क्रम जारी छ ।

तीन महिनामा ४५ हजार बाहिरिए

कोरोनाको दोस्रो लहर फैलिएपछि भारतका विभिन्न स्थानबाट नेपालीहरू धमाधम घर फर्किएकोमा उतातिर जानेहरूको संख्या पनि उत्तिकै छ । त्रिनगर प्रहरी चौकीका इन्चार्ज असई खडगजंग शाहीका अनुसार गत चैत ३ देखि जेठको तेस्रो सातासम्म त्रिनगर नाका हुँदै २४ हजार छ सय ३८ जना नेपालीहरू भारत गएका छन् । असई शाहीले भने, ‘अहिले दैनिक पाँच सयको हाराहारीमा नेपालीहरू कामको खोजीमा भारततर्फ गइरहेका छन् । आउनेहरूको संख्या पनि निकै छ । गत चैत्रदेखि अहिलेसम्म भारतका विभिन्न स्थानबाट करिब ३५ हजार सुदूरपश्चिमेलीहरू घर फर्किएका छन् । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै पछिल्ला तीन महिनामा २० हजार नौ सय ९९ जना कामको खोजीमा भारततर्फ गएका छन् । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका डीएसपी अमर थापाका अनुसार यो अवधिमा गड्डाचौकी नाका हुँदै ३० हजार छ सय ७७ जना नेपालीहरू घर फर्किका थिए । 

रोजगारीका अवसर सिर्जना गर्न सकिएन

सुदुरपश्चिम प्रदेश सरकारले कोरोना महामारीका कारण रोजगारी गुमाएर भारत तथा अन्य मुलुकबाट घर फर्किएका सुदूरपश्चिमेली नागरिकहरूलाई रोजगारमुलक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरे पनि खासै उपलब्धि देखिएको छैन । प्रदेश सरकारले कोरोना महामारीका कारण बेरोजगार बनेकाहरूलाई लक्षित गरी गत वर्ष रोजगारमुलक कार्यक्रमहरू ल्याएको थियो । सरकारले विभिन्न मन्त्रालयमार्फत कृषि, उद्यम, आयआर्जन तथा सीपमुलक तालिम, बाख्रा पालन लगायतका कार्यक्रम घोषणा गर्नुका साथै अनुदानको व्यवस्थासमेत गरेको थियो ।

तर, प्रदेश सरकारले सञ्चालन गरेका कार्यक्रमबाट खासै रोजगारीका अवसरहरू सिर्जना भएको देखिँदैन । सुदरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनिता देवी चौधरीले कोरोना महामारीका कारण बेरोजगार भएका व्यक्तिहरूलाई लक्षित गरेर मन्त्रालयले विभिन्न कार्यक्रम ल्याए पनि धेरै जनालाई समेट्न नसकेको स्वीकारिन् । मन्त्रालयले कोरोना प्रभावितका लागि लक्षित कार्यक्रमअन्तर्गत तरकारी खेती, गाईपालन, च्याउ खेतीलगायत विभिन्न अनुदानका कार्यक्रम ल्याएको थियो । तर, तीन तहका सरकारबीच समन्वय र सहकार्यको कमीका कारण प्रभावकारी कार्यान्वयन हुन सकेन ।

सरकारले बेरोजगारहरूलाई कुनै न कुनै क्षेत्रमा रोजगारमा जोड्नका लागि संघीय तथा स्थानीय सरकारहरूसँग समन्वय गरिरहेको मन्त्री चौधरीले बताइन् । उनले भनिन्, ‘प्रदेशमा रोजगारीका प्रशस्त अवसर सिर्जना गर्न कम्तिमा तीन-चार वटा ठूला उद्योग आवश्यक भइरहेको छ ।’ मन्त्री चौधरीले बेरोजगारहरूलाई कृषिमा जोड्न सरकारले १५ करोड रुपैयाँ बजेटको व्यवस्था गरेको जानकारी दिइन् । आगामी आर्थिक वर्षको बजेटमार्फत कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरूका लागि विशेष कार्यक्रम ल्याइएको उनले बताइन् ।

सम्बन्धित खबरहरु