Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

खोप अभियानलाई प्रभावकारी बनाउन आग्रह

न्युज कारोबार काठमाडौं असार १, २०७८       

खोप अभियानलाई प्रभावकारी बनाउन आग्रह

नेपाली कांग्रेसको संगठन विभागले कोरोना खोप अभियानलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । संगठन विभागका प्रमुख एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सोमबार साँझ एक विज्ञप्ति जारी गरी दोस्रो चरणको कोरोना संक्रमण देशभर व्यापकरूपमा फैलिएको भन्दै खोप अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

'तेह्र लाख ज्येष्ठ नागरिक दोस्रो चरणको खोप लगाउन बाँकी रहेका छन् । विश्व स्वास्थ्य संगठनको मापदण्डानुसार समयमै दोस्रो खोप उपलब्ध गराउने विश्वासिलो आधार सरकारले बनाउन सकेन,' उनले भने । सरकारले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि महत्वपूर्ण उपलब्धि ठानेको लकडाउनलाईसमेत सरकारले आफ्नो सत्ता लम्ब्याउन प्रयोग गरेको उनको भनाइ थियो । नेता श्रेष्ठले कोभिड-१९ को संकटसँग जुध्दै नेपाली जनताको जीउधनको सुरक्षा गर्ने जिम्मा सबै राजनीतिक दलको रहेको बताए । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने गृहकार्य थाले पनि नयाँ सरकार बन्ने अवसर हुँदाहुँदै सरकारले संसद् विघटन गरेको उल्लेख गरे ।

पार्टीका पूर्वउपसभापतिसमेत रहेका श्रेष्ठले पार्टीको विधान र संविधानअनुसार आगामी भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म पार्टीको १४औँ महाधिवेशन हुने स्पष्ट पारे । महाधिवेशनको प्रस्तावित मितिबारे छलफल गरेर अन्तिम टुंगो लगाउन यही असार ३ गते बिहीबार कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । भदौभित्रै महाधिवेशन गर्नुपर्ने बाध्यता रहेकाले महाधिवेशन तयारीमा लाग्न पनि संगठन विभागले सबैलाई आग्रह गरेको छ । नेता श्रेष्ठले वर्तमान कामचलाउ सरकारले गैरजिम्मेवारी काम गरिरहेको आरोपसमेत लगाए ।

सम्बन्धित खबरहरु