Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

सुदूरपश्चिमको नीति तथा कार्यक्रम बहुमतले पारित

न्युज कारोबार धनगढी जेठ ३०, २०७८       

सुदूरपश्चिमको नीति तथा कार्यक्रम बहुमतले पारित

सुदूरपश्चिम प्रदेश सरकारको आगामी वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सुदूरपश्चिम प्रदेश सभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याइएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख अर्जुनबहादुर थापाले घोषणा गरेका हुन् ।

‘हुन्छ’ भन्ने संख्याभन्दा ‘हुन्न’ भन्ने संख्या न्यून देखिएको जनाउँदै आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति बहुमतले पारित भएको घोषणा गरे । प्रदेशको आगामी नीति तथा कार्यक्रममा नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल पक्षका र नेकपा माओवादीका प्रदेश सभा सदस्यहरु पारित गर्नुपर्ने पक्षमा थिए भने नेकपा एमालेकै केपी शर्मा ओली पक्षका प्रदेश सभा सदस्यहरु विपक्षमा थिए । ‘हुन्न’ भन्नेमा ओली पक्षका प्रदेश सभा सदस्य लिलाधर भट्ट, ग्याल्बुसिंह बोहरा, पठानसिंह बोहरा, नेपालु चौधरी, रतन थापा, बलदेव रेग्मी र माया तामाङ रहेका थिए ।

नेपाली कांग्रेसले नीति तथा कार्यक्रममा मौन समर्थन गरेको छ । प्रदेश सभामा जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुको सहभागिता रहेको थिएन । नीति तथा कार्यक्रम घोषणा गर्नुअघि मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । यसअघि आइतबार बिहान एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । गत बिहीबार प्रदेश प्रमुख गंगाप्रसाद यादवले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सुदूरपश्चिम प्रदेशमा एमाले माधव नेपाल पक्ष र माओवादी केन्द्रको संयुक्त सरकार छ । नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुला भएको छ । प्रदेश सरकारहरूले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित खबरहरु