Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

मन्त्रीलाई प्रदेश सभा बैठकमा प्रवेश निषेध

न्युज कारोबार वीरेन्द्रनगर जेठ २८, २०७८       

मन्त्रीलाई प्रदेश सभा बैठकमा प्रवेश निषेध

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापालाई प्रदेश सभा बैठकमा निषेध गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मन्त्री थापालाई पदबाटै बर्खास्तीको माग राख्दै चार दिनदेखि सदन अवरुद्ध गर्दै आएको थियो ।

मन्त्री थापालाई प्रदेश सभामा प्रवेश निषेध गर्ने सहमति भएपछि बैठक सुचारु भएको हो । गत २४ गतेदेखि अवरुद्ध भएको कर्णाली प्रदेश सभा बैठक बिहीबारदखि सुचारु भएको हो । सभाको आठौं अधिवेशनको पहिलो बैठकको कार्यसूचीमै प्रवेश नगरी एमालेको अवरोधका कारण सभा स्थगित भएको थियो ।

चारदिनसम्म लगातारको छलफलपछि मन्त्री थापालाई बैठकमा प्रवेश निषेध गर्ने सहमति जुटेको नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए । उनका अनुसार आगामी ३० गते सर्वोच्च अदालतमा थापामाथि परेको रिटको पेशी भएकाले सोही दिनसम्म उनलाई संसद बैठकमा निषेध गरिएको छ ।

सरकारी कागज किर्तेको आरोपमा मन्त्री थापाले सजाय पाइसकेकाले मन्त्रीजस्तो सार्वजनिक पदमा उनी रहन नैतिकताले नदिने भन्दै एमालेले विरोध जनाएको हो । ‘मन्त्री जस्तो पदमा फौजदारी अभियोगमा सजाय पाइसकेको व्यक्ति बस्नुहुँदैन,’ नेता कँडेलले भने, ‘नागरिकको प्रतिनिधि स्वच्छ छवि भएको हुनुपर्छ ।’ उनले पद पाए जस्तोसुकै कदम पनि चाल्नसक्नेले नागरिकको हितमा काम गर्न नसक्ने तर्क गरे । सुध्रिएर गए प्रतिपक्ष नभनी एमालले सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

बिहीबार सुचारु भएको बैठकमा दलको तर्फबाट धारणा राख्दै नेता कँडेलले दल व्यवस्थित हुनसके पार्टी व्यवस्थित हुने र व्यवस्था नै बलियो हुने बताए । उनले सदनमा माग एउटा राखे पनि सम्मानित सर्वोच्च अदालनको निर्णयलाई कदर गर्दै सहमतिमा जुटेको बताए । नेकपा माओबादी केन्द्रको तर्फबाट बोल्दै सांसद नरेश भण्डारीले कोरोना भाइरसको महामारीसँग एक्लै लड्न नसकिने भएकाले सबै मिलेर लड्न अपिल गरे । राप्रपाको तर्फबाट धारणा राख्दै सांसद शोसीला शाहीले एकआपसमा दलहरु नलडी कोरोनासँग लड्न आग्रह गरिन् ।

सम्बन्धित खबरहरु