Nepalese Flag २०७८ साउन १० गते आइतबार   |   July 25, 2021

रक्सी खुवाएर राउटे युवतीमाथि 'यौन दुर्व्यवहार', होटल सञ्चालकसहित ३ जना पक्राउ 

न्युज कारोबार वीरेन्द्रनगर जेठ २३, २०७८       

रक्सी खुवाएर राउटे युवतीमाथि 'यौन दुर्व्यवहार', होटल सञ्चालकसहित ३ जना पक्राउ 

राउटे युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका, मेहलकुनाबाट होटल सञ्चालकसहित तीन जनालाई प्रकाउ गरेको छ । प्रहरीले आरोपितलाई शनिबार राति पक्राउ गरेको हो । पक्राउ परेकाहरुमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय बिनोद पुन रहेका छन् । पुन होटलका सञ्चालक हुन् । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुई राउटे युवतीलाई मादक पदार्थ सेवन गराई दुव्र्यवहार गरेका भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयले तत्काल अनुसन्धान गरी कारबाहीको माग गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुसार घटनास्थलमा छिन्चुबाट पुगेको प्रहरीको टोलीले अनुसन्धान थालिसकेको छ ।

राउटे समुदायका युवतीहरु दुर्व्यवहारमा परेको विषयमा आफूहरुले एक महिनादेखि छानबिन गरिरहेको राष्ट्रिय मानव अधिकार शाखा जुम्लाले जनाएको छ । शनिबार दुई राउटे युवती दुई युवासँग होटेलमा गएको सूचना पाएलगत्तै राष्ट्रिय मानव अधिकारको कार्यालय शाखा जुम्लाका सूचना अधिकारी किरण बरामले प्रहरीलाई जानकारी दिएका थिए । सामाजिक विकास मन्त्रालयलाई समेत यसअघि नै जानकारी दिइसकेको र मन्त्रालयले समेत यस विषयमा सुक्ष्म अध्ययन गरिरहेको उनले बताए ।

पछिल्लो समय युट्युब, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरुमाथि दुर्व्यवहार हुन थालेको हो । विवाहको प्रलोभन देखाउँदै राउटे युवतीहरुसँग भिडियाे बनाएर युवाहरूले टिकटकमा हालेकाे पाइएको छ । यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं. ११ आँपसोती जनैघाटस्थित भेरी नदीमा बसाई सरेका हुन् । राउटे समुदाय नेपालकाे लाेपाेन्मुख जाति हुन् ।

सम्बन्धित खबरहरु