Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

पाँच वर्षको बजेट : आकार ठूलो, खर्च साँघुरो

भूमिराज 'पिठातोली' काठमाडौं जेठ १५, २०७८       

पाँच वर्षको बजेट : आकार ठूलो, खर्च साँघुरो

सरकारले वर्षेनी सार्वजनिक गरेको बजेटको आकार भने सन्तोषजनक नै हुन्छ । आर्थिक वर्ष सुरु भएदेखि अन्त्य हुनेसम्म भने कुल बजेटको ७० प्रतिशत पनि खर्च भएको देखिँदैन । चालू खर्चको अवस्था लक्ष्यनजिकै पुगे पनि पुँजीगत खर्चले भने लक्ष्यभन्दा ६० प्रतिशतभन्दा कम मात्रै खर्च भइरहेको तथ्यांकले देखाएको छ ।

पछिल्ला पाँच वर्षको तथ्यांक हेर्न हो भने कुल बजेटको ७०/७५ प्रतिशत बजेट मुस्किलले खर्च भएको देखिन्छ । सरकारले बजेट घोषणा गर्दा ठूलो आकारको ल्याए पनि हरेक वर्ष दुई खर्बभन्दा बढी फ्रिज जाने गरेको छ । खर्चमा पनि वार्षिक औसत ८३ प्रतिशत चालू खर्च हुँदा पुँजीगत खर्च (विकास खर्च) मुस्किलले ६६ प्रतिशत हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

कुन वर्ष कति बजेट, कति खर्च ?

पछिल्लो पाँच वर्षमा चार जना मन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । आफ्नो कार्यकालमा मन्त्रीहरुले पनि फराकिलो आकारकै बजेट ल्याए पनि खर्च भने ७० प्रतिशतकै हाराहारीमा मात्रै पुगेको तथ्यांकले देखाएको छ । सरकारले आर्थिक वर्ष २०७२/७३ मा ८ खर्बभन्दा बढीको बजेट ल्यायो । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले ८ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँको बजेट सार्वजनिक गरे । आर्थिक वर्ष सकिनसम्म जम्मा ७३.३४ प्रतिशत अर्थात् ६ खर्ब एक अर्ब एक करोड मात्रै खर्च भयो । बाँकी दुई खर्ब १८ अर्ब रुपैयाँ फ्रिज गयो । त्यस्तै सरकारले आर्थिक वर्ष २०७३/७४ मा अघिल्लो वर्षको भन्दा दुई खर्ब बढी बजेट ल्यायो । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट सार्वजनिक गरे । सो बजेट ७९.२४ प्रतिशत अर्थात् ८ खर्ब ३१ अर्ब १५ करोड मात्रै खर्च भएको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०७४/७५ तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले पनि अघिल्लो वर्षको भन्दा दुई खर्ब बढाएर १२ खर्बको बजेट ल्याए । १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको बजेटमा ८४.८ प्रतिशत अर्थात् १० खर्ब ८४ अर्ब ६८ करोड रुपैयाँ मात्रै खर्च भयो । बाँकी करिब दुई खर्ब नै बजेट फ्रिज गयो ।

त्यस्तै आर्थिक वर्ष ०७५/७६ मा पनि सरकारले ठूलै आकारको बजेट ल्यायो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १६ करोडको बजेट ल्याए । कार्यकालको पहिलो वर्ष अब्बल अर्थमन्त्रीको संज्ञा पाएका खतिवडाले दोस्रो वर्ष भने बजेटको खर्च गर्ल्याम्मै घटाए । अर्थात् खर्च गर्न सकेनन् । उनी अर्थमन्त्री भएको पहिलो वर्षमा कुल बजेटको ८४.४४ प्रतिशत अर्थात् ११ खर्ब १० अर्ब ४५ करोड खर्च भएको थियो । अहिलेसम्मकै बढी बजेट खर्च गर्ने अर्थमन्त्री भन्दै खतिवडाको चर्चा भयो । तर, दोस्रो वर्ष ०७६/७७ मा भने खतिवडाले कुल बजेटको ७१.१८ प्रतिशत मात्रै खर्च गर्न सके ।

१५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट ल्याएका खतिवडाले १० खर्ब ९१ अर्ब १३ करोड मात्रै खर्च गरे । बाँकी करिब पाँच खर्बको हाराहारीमा बजेट फ्रिज भयो । अर्थमन्त्री भएको तेस्रो वर्षमा खतिवडाले बजेटको आकार नै घटाए । चालू आर्थिक वर्ष ०७७/७८ मा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको सरकारले ७४ प्रतिशतको हाराहारीमा खर्च हुने अनुमान गरिएको छ । यो वर्ष करिब ४ खर्ब रुपैयाँ फ्रिज भएर जाने अर्थविद्हरु बताउँछन् ।

किन लक्ष्यअनुसार खर्च हुँदैन बजेट ?

सरकारले जनतालाई रिझाउनका लागि ठूलो आकारको बजेट ल्याउने र पछि स्रोत जुटाउन नसकेर खर्च गर्न नसक्ने अर्थविद् तथा पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी बताउँछन् । न्युज कारोबारसँग कुरा गर्दै उनले भने, ‘यहाँ बजेट बनाउने कुनै सिस्टम नै छैन । सरकारले जनता रिझाउनका लागि ठूलो आकारको बजेट ल्याउने र पछि चालू खर्च गर्ने, कार्यकर्तालाई नचाहिँदो खर्च बाँड्ने तर पुँजीगत खर्च नगर्ने प्रवृत्ति दोहोर्‍याइरहेका छन् ।’

डा. लोहनीका अनुसार सरकारले अहिलेसम्म कुनै पनि वर्ष ११ खर्ब रुपैयाँभन्दा बढी बजेट खर्च गर्न सकेको छैन । तर, बजेटको आकार भने १५ खर्बभन्दा बढी पनि ल्याइरहेका छन् । सरकारले स्रोत र खर्चको विश्लेषण गरेर बजेट ल्याउन नसकेको उनले बताए ।

सम्बन्धित खबरहरु