Nepalese Flag २०७८ साउन १० गते आइतबार   |   July 25, 2021

पाँचथरमा कोरोनाको संक्रमणदर ३७ प्रतिशत

न्युज कारोबार पाँचथर जेठ १३, २०७८       

पाँचथरमा कोरोनाको संक्रमणदर ३७ प्रतिशत

यहाँका दूरदराजका ग्रामीण बस्तीहरुमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण दर करिब ३७ प्रतिशत रहेको पाइएको छ । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर तुम्वापोका अनुसार पाँचथरमा कोरोना भाइरसको यकिन संक्रमण दर ३६.९१ प्रतिशत छ । यस्तै मृत्यु दर ०.६० प्रतिशत रहेको छ ।

स्वास्थ्य कार्यालय पाँचथरमा प्राप्त तथ्यांकअनुसार गत वैशाख १९ गतेदेखि हालसम्म जिल्लामा ४९८ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । उक्त अवधिमा यहाँ पिसिआर विधिबाट ३१९ र एन्टिजेन विधिबाट एक हजार ३० जना गरी कूल एक हजार ३४९ को परीक्षण गरिएको छ । तुम्वापोका अनुसार उक्त संख्याको परीक्षणमा ४९८ जनामा संक्रमण देखिएको हो ।

यस्तै संक्रमण पुष्टि भएकामध्ये तीन जनाको मृत्यु भएको उहाँले जानकारी दिए । यहाँ संक्रमण पुष्टि भएकामध्ये एक जनाको जिल्लाबाहिर तथा दुई जनाको जिल्लामै उपचारका क्रममा मृत्यु भएको हो । परीक्षण र संक्रमितको संख्याका आधारमा जिल्लामा संक्रमितको मृत्युदर ०.६० प्रतिशत रहेको उनले बताए । 

कोरोनाभाइरसको संक्रमण दर र मृत्यु दर सामान्य रहे पनि उपचारात्मक व्यवस्था कमजोर हुनाले यो सङ्ख्यासमेत चुनौतीपूर्ण हुने सरोकारवालाको ठम्याइ छ । जिल्लामा हालसम्म सघन उपचार कक्ष (आइसीयू) र भेन्टिलेटरको प्रबन्ध हुन सकेको छैन । जिल्ला अस्पतालमा सघन उपचार कक्ष (आइसीयू), भेन्टिलेटर र अक्सिजन प्लान्ट स्थापनाका लागि संघीय सरकारबाट बजेट प्राप्त भए पनि सो कार्यमा ढिलाइ भइरहेको छ । संक्रमितको सामान्य उपचार गर्न सक्ने हाई डिफेन्डेन्सी युनिटमा हालसम्म १० वटा शय्या छन् । जिल्लामा ११९ थान अक्सिजन सिलिण्डर रहेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ । गम्भीर समस्या देखिएका बिरामीलाई यहाँबाट तत्कालै रेफर गर्नुपर्ने बाध्यता छ । 

दिनहुँ संक्रमितको संख्यामा वृद्धि भइरहे पनि गम्भीर बिरामी पर्नेको संख्या न्यून छ । छयानब्बे संक्रमित रहेको जिल्लाको हिलिहाङ गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेले भने, 'गाउँहरुमा कोभिड–१९ सँग मिल्ने लक्षण भएका बिरामीको संख्या र संक्रमितको अवस्था हेर्दा स्थिति भयावह देखिन्छ तर गम्भीर समस्या भएका बिरामी निकै न्यून हुनाले आत्तिनुपर्ने अवस्था छैन् ।'

जिल्लामा फिदिम नगरपालिकासहित हिलिहाङ र मिक्लाजुङ गाउँपालिकामा संक्रमितको संख्या बढी छ । संक्रमणको दोस्रो लहर जिल्लामा सुरु हुँदा धेरै संक्रमित देखिएका याङ्वरक र फालेलुङमा भने संक्रमित थपिन छाडेको एक साता बितेको छ । यी दुई गाउँपालिका उक्त लहरको संक्रमणको जालो तोड्न सफल भएका छन् । (रासस)

सम्बन्धित खबरहरु