Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

दशकपछि नेपालको निर्यात लक्ष्य पूरा हुँदा कुन-कुन वस्तुमा फाइदा ?

भूमिराज 'पिठातोली' काठमाडौं जेठ ११, २०७८       

दशकपछि नेपालको निर्यात लक्ष्य पूरा हुँदा कुन-कुन वस्तुमा फाइदा ?

चालू आर्थिक वर्षको १० महिनामा नेपालको व्यापार घाटा करिब साढे ११ खर्ब पुगेको छ । साउनदेखि वैशाख सम्मको अवधिमा व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार गत वर्ष सोही अवधिमा व्यापार घाटा ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा दुई खर्ब दुई अर्ब ५५ करोड रुपैयाँ व्यापार घाटा भएको हो । तथ्यांकअनुसार यस वर्ष व्यापार घाटा २१.४८ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२.४ र निर्यातको हिस्सा ७.९६ प्रतिशत रहेको छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.५९ प्रतिशतले घटेको छ ।

१० महिनामा १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख ३५ हजार रुपैयाँ वैदेशिक व्यापार गरेको नेपालले १२ खर्ब ५४ अर्ब ११ करोड एक लाख ७९ हजार रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । निर्यात भने एक खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँको मात्र गरेको छ । गत वर्षको सोही अवधिमा ८२ अर्ब ६ करोड ४६ लाख रुपैयाँ बराबरको विभिन्न वस्तु नेपालबाट अन्य मुलुकतर्फ निर्यात भएको थियो । आयातको तुलनामा निर्यात १२ गुणा कम भए पनि अघिल्लो वर्षको तुलनामा धेरै नै निर्यात भएको देखिन्छ । गत वर्षको भन्दा ३२.१९ प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।

एक दशकपछि लक्ष्य प्राप्त

सरकारले आर्थिक वर्ष २०६६/६७ मा नै एक खर्ब बढीको निर्यात गर्ने लक्ष्य राखेको थियो । लक्ष्यको ११ वर्षपछि चालू आवको १० महिनाको अवधिमा उक्त लक्ष्य पूरा भएको छ । नेपालले निर्यात लक्ष्यको ११ वर्षपछि पूरानो लक्ष्यमा प्रवेश गरेको हो । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा निर्यातमा वृद्धि सन्तोषजनक भएको देखिन्छ ।

९७ प्रकारका वस्तुहरुको व्यापार गरिरहेको नेपालले १० प्रकारका वस्तुहरुमा मात्रै नेपालले नाफा कमाएको छ । विभिन्न देशसँग वैदेशिक व्यापार गरिरहँदा ८७ वस्तुहरुमा नेपालले खर्बौं रुपैयाँको घाटा व्योहोरिरहेको छ । 

कुन-कुन वस्तु निर्यातमा फाइदा ?

नेपालले सबैभन्दा बढी निर्यात गर्ने र फाइदा कमाउने वस्तुभित्र पर्छ, चिया-कफी । चिया कफीले मात्रै नेपालको वैदेशिक व्यापारको सकारात्मक ग्राफ तन्किएको छ । चालू आवको १० महिनामा नेपालले चिया कफी मात्रै १० अर्ब १५ करोड ५३ लाख ७० हजार रुपैयाँको निर्यात गरेको छ । आयात भने ८ अर्ब १६ करोड ८५ लाख ७४ हजार रुपैयाँको रहेको छ । भन्सार विभागको तथ्यांकअनुसार चिया-कफीमा एक अर्ब ९८ करोड ६७ लाख ९६ हजार रुपैयाँ फाइदा गरेको छ । राजस्व मात्रै एक अर्ब ७३ करोड ४६ हजार रुपैयाँ संकलन भएको विभागका प्रवक्ता शिशिर घिमिरेले बताए ।

उनका अनुसार तरकारी प्लेटिङजन्य वस्तुमा पनि नेपालको वैदेशिक व्यापार उकालो लागेको छ । २८ करोड ३४ लाख २५ हजार रुपैयाँको आयात हुँदा एक अर्ब ६५ करोड ९६ लाख ४६ हजार रुपैयाँको निर्यात भएको छ । तरकारी प्लेटिङजन्य वस्तुमा नेपालले एक अर्ब ३७ करोड ६२ लाख २१ हजार रुपैयाँ फाइदा नै गरेको छ भने चार करोड ९६ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।

तरकारी तथा फलफूलको बेर्नाबाट पनि नेपालको वैदेशिक व्यापारको ग्राफ उकालो लागेको देखिन्छ । तथ्यांकअनुसार एक अर्ब ४४ करोड २३ लाख ६६ हजार रुपैयाँको तरकारी तथा फलफूलको बेर्ना लगायतका वस्तुहरु आयात हुँदा तीन अर्ब ३७ करोड ६४ लाख ८८ हजार रुपैयाँको निर्यात भएको छ । सो बेर्नाबाट मात्रै नेपालले एक अर्ब ९३ करोड ४१ लाख २३ हजार रुपैयाँ फाइदा कमाएको देखिन्छ । यसबाट ६१ करोड ३७ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै कच्चा छालाका सामग्रीबाट पनि नेपालले फाइदा कमाएको देखिन्छ । तथ्यांकअनुसार चार करोड ९९ लाख ८५ हजार रुपैयाँको छालाका सामग्री आयात हुँदा १० करोड ६९ लाख ५९ हजार रुपैयाँको निर्यात भएको छ । सो सामग्रीबाट मात्रै पाँच करोड ६९ लाख ७४ हजार रुपैयाँ नेपाललाई फाइदा भएको छ भने ८९ लाख २८ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

हातले बुनेका कपडाहरुमा पनि आयातको तुलनामा निर्यात बढेको छ । दुई अर्ब ६० करोड २६ लाख ३० हजार रुपैयाँको आयात हुँदा दुई अर्ब ७४ करोड ६ लाख ७६ हजार रुपैयाँको निर्यात भएको छ । विभागका अनुसार सो कपडा सामग्रीबाट १३ करोड ८० लाख ४६ हजार फाइदा र ५४ करोड ९७ लाख राजस्व संकलन भएको हो ।

धागो लगायतका वस्तुमा पनि नेपालको अन्तर्राष्ट्रिय व्यापारमा सुधार भएको छ । एक अर्ब ६४ करोड २० लाख ६५ हजार रुपैयाँको धागो लगायतका वस्तु आयात हुँदा तीन अर्ब ३४ करोड ३६ लाख १४ हजार रुपैयाँको निर्यात भएको छ । यो संख्या झन्डै साढे दुई गुणा बढी हो । सो वस्तुबाट एक अर्ब ७० करोड १५ लाख ४९ हजार रुपैयाँ नेपालले फाइदा गरेको छ भने ४७ करोड १६ लाख तीन हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यस्तै कार्पेटलगायत भुँईमा बिच्छ्याउने कपडामा नेपालले निकै फाइदा कमाएको देखिन्छ । आयातको तुलनामा ११ गुणाभन्दा बढी सो कपडा निर्यात भएको हो । ६ अर्ब २८ करोड एक लाख ९१ हजार रुपैयाँको निर्यात हुँदा ५२ करोड ५२ लाख ७ हजार रुपैयाँको मात्रै आयात भएको छ । यसरी हेर्दा कार्पेट लगायतका वस्तुमा मात्रै पाँच अर्ब ७५ करोड ४९ लाख ८४ हजार रुपैयाँको नेपाललाई फाइदा भएको छ भने २४ करोड ३९ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ । 

कपडा उद्योगबाट बनेका विभिन्न वस्त्रहरुमा पनि नेपालले केही फाइदा गरेको छ । दुई अर्ब ९३ करोड ४१ लाख २९ हजार रुपैयाँको आयात हुँदा दुई अर्ब ९६ करोड ६२ लाख ७१ हजारको निर्यात भएको छ । यसबाट तीन करोड २१ लाख ४२ हजार रुपैयाँ नेपालले नाफा कमाएको छ भने ७२ करोड ९५ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

सांगीतिक बाजा तथा उपकरणको वैदेशिक व्यापारमा पनि नेपालले ५० करोडभन्दा बढी फाइदा गरेको छ । १८ करोड ५४ लाख ५६ हजार रुपैयाँको आयात गर्दा ७० करोड ६ लाख ८४ हजार रुपैयाँको निर्यात गरेको छ । यसमा ५१ करोड ५२ लाख २८ हजार रुपैयाँ फाइदा भएको हो । सांगीतिक बाजाहरुबाट मात्रै पाँच करोड ५४ लाख ७६ हजार रुपैयाँ राजस्व उठेको भन्सार विभागले जनाएको छ ।

कला सामग्री तथा प्राचीन चीजहरु भने आयातको तुलनामा २११ गुणा बढी नेपालबाट बाहिरिएको छ । २४ लाख १४ हजार रुपैयाँको सामग्री आयात हुँदा ५१ करोड ९ लाख ३२ हजारको निर्यात भएको छ । यसमा नेपाललाई ५० करोड ८५ लाख १८ हजार रुपैयाँ फाइदा भएको छ । सो सामग्रीहरुबाट ६ लाख १५ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

सम्बन्धित खबरहरु