Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

विश्व अर्थतन्त्रको वृद्धिदर सुधारोन्मुख : अन्तर्राष्ट्रिय मुद्रा कोष

भूमिराज 'पिठाताेली' काठमाडौं जेठ ७, २०७८       

विश्व अर्थतन्त्रको वृद्धिदर सुधारोन्मुख : अन्तर्राष्ट्रिय मुद्रा कोष

कोरोना भाइरसको प्रकोपले संकुचन भएको विश्व अर्थतन्त्रको वृद्धिदर पुन: सुधारोन्मुख दिशातर्फ अघि बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक वित्तीय विवरणमा विश्व अर्थतन्त्रको वृद्धिदर सुधारोन्मुख दिशातर्फ अघि बढेको उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार कोभिड-१९ विरुद्धको खोपको उत्पादन तथा वितरणमा भएको प्रगति र विश्वका अधिकांश मुलुकले शिघ्र आर्थिक पुनरुत्थानका लागि अवलम्बन गरेका कार्यक्रमले अर्थतन्त्र सुधारोन्मुख दिशामा प्रवेश गरेको हो । २०१९ मा विश्वको अर्थतन्त्र २.८ प्रतिशतले विस्तार भएको थियो । कोरोना महामारीकै कारण सन् २०२० मा ३.३ प्रतिशतले संकुचन भएको अर्थतन्त्र सन् २०२१ मा भने ६ प्रतिशतले विस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण रहेको छ ।

विकसित मुलुकको अर्थतन्त्र

कोषका अनुसार सन् २०१९ मा १.६ प्रतिशतले वृद्धि भएको विकसित मुलुकहरूको अर्थतन्त्र सन् २०२० मा ४.७ प्रतिशतले संकुचन भएको थियो । उदीयमान तथा विकासशील अर्थतन्त्रमा पनि सन् २०१९ मा ३.६ प्रतिशतले वृद्धि भएकोमा सन् २०२० मा २.२ प्रतिशतले संकुचन भएको थियो । सन् २०२१ मा विकसित मुलुकहरूको अर्थतन्त्र ५.१ प्रतिशत र उदीयमान तथा विकासशील मुलुकहरूको अर्थतन्त्र ६.७ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ ।

चीन र भारतको अर्थतन्त्र

छिमेकी मुलुक चीनको अर्थतन्त्र सन् २०१९ मा ५.८ प्रतिशतले विस्तार भएकोमा सन् २०२० मा २.३ प्रतिशतले वृद्धि भएको अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ । भारतीय अर्थतन्त्र सन् २०१९ मा ४.० प्रतिशतले विस्तार भएकोमा सन् २०२० मा ८.० प्रतिशतले संकुचन भएको कोषको अनुमान छ । सन् २०२१ मा चीनको आर्थिक वृद्धिदर ८.४ प्रतिशत तथा भारतको आर्थिक वृद्धिदर १२.५ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।

विकसित मुलुकको मुद्रास्फीति

विकसित मुलुकहरूको मुद्रास्फीति सन् २०१९ मा १.४ प्रतिशत तथा सन् २०२० मा ०.७ प्रतिशत रहेकोमा सन् २०२१ मा १.६ प्रतिशत रहनेछ । उदीयमान तथा विकासशील मुलुकहरूको मुद्रास्फीति सन् २०१९ मा ५.१ प्रतिशत तथा सन् २०२० मा ५.१ प्रतिशत रहेकोमा सन् २०२१ मा ४.९ प्रतिशत रहने कोषको प्रक्षेपण छ । कोषका अनुसार कोभिड-१९ का कारण सन् २०२० मा विश्व व्यापार आयतन ८.५ प्रतिशतले संकुचन भएकोमा सन् २०२१ मा ८.४ प्रतिशतले विस्तार हुने प्रक्षेपण रहेको छ ।

आर्थिक तथा मौद्रिक परिदृश्य

चालू आव २०७७/७८ को नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख दिशामा अघि बढेको भएता पनि कोभिड-१९ को दोस्रो लहरको संक्रमण नियन्त्रण गर्न धेरै स्थानमा अवलम्बन गर्नुपरेकाले आर्थिक वृद्धिमा कठिन हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नसमेत चुनौतीपूर्ण हुने देखिन्छ । चालू आर्थिक वर्षको चैतसम्म विप्रेषण आप्रवाह सन्तोषजनक रहेता पनि विश्वव्यापी रुपमा कोभिड-१९ को नयाँ स्वरुपमा दोस्रो लहर फैलिएको र विगत एक वर्षभन्दा बढी समयसम्म वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न नसक्दा विप्रेषण आप्रवाहको वृद्धि हुन नसक्ने राष्ट्र बैंकले अनुमान लगाएको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म मुद्रास्फीति दर नियन्त्रित अवस्थामा रहेता पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुन थालेको,  भारतको मूल्य वृद्धि नेपालको भन्दा केही उच्च रहेको र नेपाली रुपैयाँ अवमूल्यन हुँदै गएको कारण आगामी दिनमा मुद्रास्फीतिमा केही चाप पर्ने स्थिति रहेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । उनका अनुसार कोभिड-१९ को पहिलो लहरको प्रभावलाई नियमनकारी नीतिगत सहजताले गर्दा बैकिङ क्षेत्रले व्यवस्थापन गर्न सकेको थियो । तर, कोभिड-१९ को दोस्रो लहरको कारण अवलम्बन गरिएको लकडाउनले आर्थिक गतिविधिहरु पुनः प्रभावित भई बैकिङ क्षेत्र पनि प्रभावित हुने सम्भावना रहेको छ ।

पछिल्ला महिनाहरुमा बैकिङ क्षेत्रबाट निजी क्षेत्रमा जाने कर्जा उत्साहजनक ढंगले बढेकोमा पुनः शिथिलतातर्फ जाने देखिएको र चालू आर्थिक वर्षको बाँकी अवधिमा मौद्रिक नीतिको सुरुको लक्ष्यभन्दा बढी नै कर्जा विस्तार हुने उनले बताए ।

सम्बन्धित खबरहरु