Nepalese Flag २०७८ कार्तिक ८ गते सोमबार   |   October 25, 2021

'संक्रमितलाई राम्रोसँग व्यवस्थापन गर्न नसकेकाले नै कोरोना फैलिएको हो'

दिनेश बिष्ट धनगढी जेठ ३, २०७८       

jeewan-bima-jaruri-chha 'संक्रमितलाई राम्रोसँग व्यवस्थापन गर्न नसकेकाले नै कोरोना फैलिएको हो'

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरले तीव्र रुप लिएको छ । छिमेकी मुलुक भारतमा दैनिक लाखौँको संख्यामा संक्रमित बढिरहँदा नेपालमा पनि दैनिक हजारौँ जनामा कोरोना पुष्टि भइरहेको छ । विगतको तुलनामा अहिले कोरोनाकै कारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । कोरोना संक्रमणलाई न्यूनीकरण गर्न देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । बैतडीमा पनि अहिले निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको अवस्था, कोरोनाको प्रभाव र न्यूनीकरणका बारेमा केन्द्रित रहेर न्युज कारोबार डटकमका सुदूरपश्चिम संयोजक दिनेश बिष्टले बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष बिरबहादुर बिष्टसँग गरेको कुराकानी :


गाउँपालिकामा कोरोना संक्रमणको अवस्था, रोकथाम तथा नियन्त्रणको विषयमा के गरिराख्नु भएको छ ?

अहिले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला संकट व्यवस्थापन समितिले निषेधाज्ञा जारी गरेको अवस्था छ । हामीले जिल्लाको निर्णयलाई कार्यान्वयन गराउने र ग्रामीण भेगमा सामाजिक दुरी कायम तथा स्वास्थ्य मापदण्ड अपनाएर हिँडडुल गर्न आग्रह गर्ने लगायतका काम गरिरहेका छौँ । विशेषगरी अहिले कोरोना पोजेटिभ भएकाहरुका लागि हामीले अक्सिजन सहितको आइसोलेसन बनाएका छौँ । केही संक्रमितहरु आइसोलेसनमा बसिराख्नुभएको छ । 

कोरोना महामारीलाई रोक्न सकिने भनेको स्वास्थ्य मापदण्डले नै हो । त्यसलाई कडा रुपले पालना गराइरहेका छौँ । हामीले आग्रह गर्दागर्दै पनि कतै पालना नभएको पनि पाएका छौँ । नागरिक त्यति धेरै गम्भिर नभएको अवस्था पनि छ । तर पनि हामीले सम्झाउने, आग्रह गर्ने गरेर सक्ने जति पालना गराउनमा हामी केन्द्रित छौँ । 

दोस्रो भेरियन्टपछिको संक्रमणको अवस्था के छ गाउँपालिकामा ? अनि भारतबाट स्वदेश फर्किनेहरु कतिको छन् ?

अहिले भारतबाट आउनेहरुका लागि नाकामै परीक्षण भइरहेका कारण हामीले क्वारेन्टिनमै राख्नुपर्ने अवस्था छैन । नाकामा परीक्षण गर्दा नेगेटिभ आएका साथीहरु पनि अहिले होम क्वारेन्टिनमा बसिराख्नुभएको छ । हालसम्म गाउँपालिकाभरी ३५ जनामा पोजेटिभ देखिएको छ । ४ जना आइसोलेसनमा हुनुहुन्छ । अहिले ज्वरो आयो अथवा त्यस्ता लक्षण देखिएमा परीक्षण गरेर व्यवस्थापन गर्ने काममा हामी सक्रिय छौँ । 

तत्काललाई के के सुविधा छन् आइसोलेसनमा ?

हामीले अक्सिजन सुविधा सहितको आइसोलेसन राखेका हौँ । गाउँपालिकामा एमबीबीएस डाक्टर छैन । अहेबले स्वास्थ्यचौकी चलाइराख्नुभाथ्यो । तत्काललाई त्यही जनशक्ति प्रयोग गरेका छौँ । दक्ष चिकित्सकका लागि जिल्ला अस्पतालसँग माग गरेका छौँ । हालसम्म दक्ष चिकित्सक पाएका छैनौँ । र त्यस्तो जटिल अवस्था कसैमा आएको पनि छैन । 

भोलिका दिनमा धेरै संक्रमण बढ्न सक्ला । अक्सिजन धेरै आवश्यक पर्ला । पूर्व तयारीहरु के गर्नुभाछ ?

हामीले जिल्ला अस्पतालसँग चिकित्सक माग गरेका छौँ । अक्सिजन गाउँपालिकाकै बजेटमा थप गर्ने र निजी क्षेत्रलाई पनि सहयोगका लागि अपील गरेका छौँ । बिस्तारै अक्सिजन थप्छौँ । आइसोलेसन बेड थप्नपर्ने अवस्था आए पनि हामीसँग स्वास्थ्य चौकीहरु छन् । ति स्वास्थ्य चौकीमै बेडहरु थप्न सकिने अवस्था छ । 

अहिले देशव्यापी संक्रमण बढिरहेको छ । गाउँमा कोरोना भारतबाट आएकाहरुबाट हो वा कस्तो किसिमले फैलिरहेको छ ?

देशव्यापी त भारतबाट आएकैहरुबाट संक्रमण बढेको भन्ने छ । गाउँतिर त मौसमी रोग पनि छ, कोरोना पनि छ । अर्कोतर्फ पोजेटिभ देखिएका साथीहरुलाई हामीले नै राम्रोसँग व्यवस्थापन गर्न नसकेकाले तीव्र रुपमा फैलिएकोजस्तो देखिन्छ । ४ नम्बरमा १०/१५ जनालाई एकैपटक देखिनु, ८ नम्बरमा स्वास्थ्यकर्मीलाई नै देखिनुमा अलि व्यवस्थापनमा कमजोरी भयो कि भन्ने पनि लागेको छ । जिम्मेवार नागरिक तथा जिम्मेवार पक्षलगायत हामी चुकेका छौँ कि भन्ने पनि लागेको छ । 

रोकथाम र नियन्त्रण गर्न कति कठिन छ ?

संक्रमण भएका व्यक्तिहरुले इमान्दारितापुर्वक होमआइसोलेसन अथवा समस्या भए पालिकाको आइसोलेसनमा बसिदिए नियन्त्रण गर्न सकिन्छ । म आफैँले भोगेको कुरालाई हेर्दा पनि जसरी विगतमा आफैँ डराएर, अनुशासित भएर बस्यौँ । त्यसरी नै निषेधाज्ञाको पालना गरे नियन्त्रण गर्न धेरै कठिन छैन । हाम्रो गाउँपालिकामा न कोही सिकिस्त नै भएका छन्, न मृत्यु नै । अझ पनि अलिकति सजगता अपनाउने हो भने नियन्त्रण गर्न समस्या छैन । 

गाउँतिर बजारभन्दा त्रास कम र कोरोनालाई सामान्य लिएर अन्तमा अवस्था जटिल भएपछि मात्रै अस्पताल आउँछन् भन्ने छ । के छ अवस्था ?

८० प्रतिशत मान्छे अनुशासनमा छन् । घरमा बसेका छन् । तर २० प्रतिशत मान्छे लुखुरलुखुर घुम्ने, पोजेटिभ भएकाहरु पनि घरबाहिर निस्कने गरेका छन् । मलाई केही भएको छैन, सामान्य रुघाज्वरो हो भन्ने मनसाय बनाएर घुम्ने मान्छे पनि नभएका होइनन् । यस्ता मान्छेकै कारण पालिकामा संक्रमण बढेको हो । यस्ता मान्छेलाई व्यवस्थापन गर्न जनप्रतिनिधि र प्रहरी सक्रिय भएको छ । हामी नियन्त्रणतिर छौँ । 

निषेधाज्ञाको अवस्था के छ पालिकामा ?

विकास निर्माणका धेरै काम हामीले टुंग्याएका छौँ । अरु सामाजिक दुरी कायम गरेर काम भइरहेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट ढिलो आउने र समयमै सक्नुपर्ने भएकाले त्यो काम चलिरहेको छ । बजार क्षेत्र सबै बन्द छन् । पालिकाबाट दिइने सेवामा अति आवश्यक सेवा मात्र दिइरहेका छौँ । अति आवश्यक कामबाहेक अरु सबै बन्द छ । 

गाउँ पालिकासँग प्रदेश र संघ सरकारले कस्तो समन्वय गरिरहेको छ ?

समन्वय धेरै आवश्यक छ । सबैभन्दा अग्रपंक्तिमा काम गरिरहेको भनेकै स्थानीय सरकारले हो । स्थानीय सरकारलाई धेरै अनुभव पनि छ । ठूला उपकरण ल्याउने, विशेषज्ञ चिकित्सक ल्याउने कुरामा स्थानीय सरकारले नै भ्याउँछ भन्ने छैन । धेरै काम स्थानीय सरकारको आर्थिक हैसियतभन्दा माथिका पनि छन् । आइसोलेसनलाई अलिकति वैज्ञानिक र प्रविधिमैत्री बनाउनका लागि पनि हामीसँग पर्याप्त बजेट हुँदैन । यो अभावमा संघ र प्रदेशले सहयोग गरे स्थानीय तहले कोभिडविरुद्ध सफलता पाउने पक्का छ । म के भन्न चाहान्छु भने, अहिले सबैको आँखा कोभिड नियन्त्रणमै जानुपर्छ । सबैका काम छुट्याएर जानुपर्छ, आवश्यकताका आधारमा समन्वय र सहकार्य गर्नुपर्छ । बजेटको व्यवस्थापन गरिदिए नियन्त्रण गर्न सकिन्छ । 

अन्तमा केही भन्नुपर्ने छ कि ?

प्रवृत्ति अलिकति फरक देखिएको छ । पोजेटिभ देखिएको छ तर गाउँका चिया पसलमा डुलेका छन् । कसैले पोजेटिभ भने पनि मलाई केही भएको छैन । किन भित्रै बसौँ ? भन्ने खालका प्रवृत्ति भएका मान्छेहरु पनि छन् । यो प्रवृत्ति त्यागौँ, सबै मिलेर स्वास्थ्य मापदण्ड पालना गरौँ, यति भए कोरोना जितिन्छ । यो एकल पहलले जितिने रोग होइन । स्वास्थ्य अवस्था सामान्य भए पनि आफ्नै घरमा केही दिन बसौँ न । सबैले यो कुरालाई गम्भीर भएर लिइदिन हुन आग्रह पनि गर्न चाहान्छु ।

सम्बन्धित खबरहरु