Nepalese Flag २०७८ साउन १० गते आइतबार   |   July 25, 2021

कोरोना महामारीमा हामी ‘स्वविवेकी’ भएको भए . . .

निनाम कुलुङ ‘मंगले’ काठमाडौं जेठ १, २०७८       

कोरोना महामारीमा हामी ‘स्वविवेकी’ भएको भए . . .

हो, साँच्चै हामी नेपालीहरु स्वविवेकी भएको भए, अथवा आफूभन्दा जान्ने, बुझ्ने र विषय विज्ञहरुले भनेको मान्ने भएको भए, अहिले हाम्रो देशमा दोस्रो लहरको रुपमा चलिरहेको कोरोना महामारीको यो महासमर जित्नलाई त्यति गाह्रो हुन्थेन होला कि ? कोरोना महामारीको ताण्डव नृत्य देख्नु/हेर्नुपर्ने नै थिएन ।

तर, हामी नेपालीहरु स्वविवेकी मात्रै नभएर अति जान्ने, सुन्ने (अजासु) नै हौं, सर्वज्ञ नै हौं, सर्वज्ञानी नै हौं । यो ब्रम्हाण्डमा हामी नेपालीभन्दा जान्ने, सुन्ने, विवेकी, ज्ञानी, ध्यानी, विनयशील, सहनशील आदि कोही छैन । त्यही भएर हामी आफूभन्दा जान्ने, सुन्ने, बुझ्ने खास गरेर कुनै पनि विषयका विज्ञहरुले भनेकोसमेत मान्दैनौं । नत्र भने त कोरोना महामारी फैलिएको लगभग १६/१७ महिना भइसक्यो । तर, पनि हामीमध्ये धेरैले अझै पनि मास्क लगाउँदैनौं । मास्क लगाउँदा वा मास्क लगाउनेले पनि नाक-मुख छोप्ने गरी राम्रोसँग नलगाएर यसो चिउँडोमात्रै छोप्ने गरी लगाउँछौं । मानौं कि, हामीले लगाएको मास्क कसैको वाध्यताका लागि मात्रै हो । सायद उनीहरुका लागि मास्क लगाउनु भनेको बल्ल-तल्ल पाएको आफ्नो अमूल्य जीवन बचाउनलाई र आफ्नाे जीवनलाई सुरक्षा प्रदान गर्नका लागि होइन, आफ्नै लागि हुँदै होइन । 

अझ हामीमध्ये कतिपयमा त ‘म फलानो ठाउँको हुँ, त्यसैले मलाई कोरोनाले छुँदैन, कोरोना लाग्दैन’ भन्ने सर्वज्ञान पनि छ । त्यस्तै म हिमाली हुँ, त्यसैले मलाई कोरोनाको महामारीले भेट दिँदैन, दर्शन गर्दैन । भन्ने ‘अजासुपन’ पनि छ । माथिकै प्रसंगमा भन्नु पर्दा त्यसरी म यस्तो वा उस्तो ठाउँको हुँ, मलाई कोरोनाले छुँदैन, कोरोना लाग्दैन वा कोरोनाको महामारीले केही गर्न सक्दैन भन्नेहरुलाई कोरोना महामारीले कहाँ–कहाँ मात्रै सताएको छ र कहाँ बाँकी राखेको छ ? भन्ने कति जानकारी होला ?

त्यसैले उनीहरु स्वविवेकी मात्रै नभएर अति जान्ने सुन्ने (अजासु) नै हुन् । किनभने हामी आमनेपालीमा चेतनाको जुन स्तर छ, बुझाइको जुन स्तर छ, उनीहरुको पनि औसतमा त्यही हो । त्यसैले वास्तविकता के हो ?, सत्य, तथ्य के हो ?, जाँच-परख नगरी हचुवाकै भरमा, अथवा लिम्बु भाषामा भन्नु पर्दा ‘मेन्जो-सेन्जो’मै ‘बिग टक’ दिइहाल्छन् । 

त्यसैले त अझै पनि हाम्रो देश नेपालका धेरै ठाउँमा ‘तपाईँको मास्क खोई ?’ भनी अभियान चलाएर मास्क बाँड्नु परिरहेको छ । कतिपय स्थानमा प्रहरी प्रशासनले ‘नगद जरिवाना’ गराएररै मास्क लगाउनुपर्ने वाध्यता सिर्जना गरिएको छ । कोही ठाउँमा मास्क नलगाई हिँड्नेहरुलाई ‘होल्डमा राखेर’ उनीहरुको ‘पाईन’ हेर्नुपर्ने अवस्था आएको छ । यसरी हामी नेपालीहरुको स्वविवेकी र अजासु बनेर सर्वज्ञता, सर्वज्ञानीपनकै हुर्मत लिइरहेका छौं । सायद यो ब्रह्माण्डमा हामी नेपालीहरु भन्दा जान्ने, सुन्ने, विवेकी, ज्ञानी, ध्यानी, विनयशील, सहनशील आदि कोही छैन । वा, छैन भन्ने कुरा जबर्जस्ती प्रमाणित गर्न लागिपरेका छौं । त्यही भएर हामी नेपालीहरु आफूभन्दा जान्ने, सुन्ने, बुझ्ने खासगरी कुनै पनि विषयका विषय विज्ञहरुले भनेकोसमेत मान्दैनौं ।

यता नेपाल सरकारले पनि सकेसम्म आफ्नाे जनताहरु धेरैभन्दा धेरै बचाउन भनी निषेधाज्ञा वा भनौं लकडाउन गरेको छ । तर, उही गत वर्षजस्तै यसपटक पनि सरकारले आफ्ना देशका जनताका लागि अत्यावश्यक चिजबिजहरु बिनै जस्तै- खान्ते-पिन्ते, अन्य सेवासुविधा, औषधो-उपचार, सार्वजनिक यातायात नचलेको अवस्था, राहत प्याकेज व्यवस्थापन बिनाको निषेधाज्ञा वा लकडाउन लागू गरेको अवस्था छ । बिनाराहत प्याकेज र सहुलियतको निषेधाज्ञा वा लकडाउनले गर्दा कोही पनि व्यक्ति काम गर्न जानसक्ने अवस्था नभएकाले गर्दा विस्तारै निषेधाज्ञाका कारण धेरै सर्वसाधारण नेपालीहरुले आफ्नाे जीवन धान्न आच्छु-आच्छु हुँदै भइरहेको छ । निषेधाज्ञा वा लकडाउनका कारण कति निमुखा, गरीब दुःखीको बिचल्ली हुने पक्का जस्तै छ । जुन कुरा कुन दिनदेखि नेपालका विभिन्न सञ्चारमाध्यममा समाचारका रुपमा आउन थाल्ने हो ? अहिले नै किटेर भन्न सकिने अवस्था छैन । 

सरकारले जारी गरेको एक हप्ते निषेधाज्ञा नसकिँदै थपेर दुई हप्ता लागू गर्‍याे । यो समय पनि गुज्रन आँट्दा अब एकैचोटि अर्को दुई हप्ता थपिने निश्चितप्रायः छ । यस किसिमको निषेधाज्ञाले मात्रै त मान्छेहरुमा कोरोना महामारीको दोस्रो लहरका कारण बिरामी भएरभन्दा पनि खान नपाएर मरिएला कि ? भन्ने पीर सुरु भएको छ । हुन पनि आधारभूत तहबाट हेर्दा गत वर्ष पनि सबैभन्दा तल्लोस्तरमा जीवन निर्वाह गरिरहेका अति गरीब, दुःखी र निमुखा जनतालाई कोरोना भाइरसबाट भन्दा पनि खान नपाएर भोकले मर्ने चिन्ता बढी थियो । यो वर्ष (अहिले)को निषेधाज्ञा वा लकडाउनले पनि आखिरमा तल्लोस्तरमा जीवन निर्वाह गरिरहेका अति गरीब, दुःखी र निमुखा जनतालाई अहिले फैलिरहेको कोरोना भाइरसको दोस्रो लहरको महामारीले पार्ने/गर्ने असरबाट भन्दा पनि खान नपाएर भोकैले धेरै मर्ने सम्भावना पो छ कि ? हुन पनि यही बेला देशप्रति जिम्मेवार भनिएका (र हो पनि ) राजनीतिक दल र तिनका नेताहरुचाहिँ कसरी आफ्नाे सरकार टिकाउने भन्नेमा ध्यान दिएका छन् । त्यस्तै आफ्नाे नेतृत्वमा सरकार बनाउन चाहने नेताले भने कसरी यो सरकार भत्काउने ? भन्ने खेलमा व्यस्त छन् ।

धन्य हामी स्वविवेकी, अति जान्ने सुन्ने (अजासु), सर्वज्ञ, सर्वज्ञानी नेपाली !

सम्बन्धित खबरहरु