Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

नौ महिनामा संघीय सरकारको खर्च ६९० अर्ब

भूमिराज पिठातोली काठमाडौं वैशाख ३१, २०७८       

नौ महिनामा संघीय सरकारको खर्च ६९० अर्ब

संघीय सरकारले चालू आर्थिक वर्षको नौ महिनामा ६९० अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ । चालू, पुँजीगत र वित्तीय खर्च गरेर चैत मसान्तसम्म ६ खर्ब ९० अर्ब २८ करोड रुपैयाँ खर्च गरेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालू खर्चअन्तर्गत सरकारले करिब ५२७ अर्ब रुपैयाँ खर्च गरेको छ । चालू आव ०७७/७८ को पहिलो नौ महिनासम्म पाँच खर्ब २६ अर्ब ९७ करोड रुपैयाँ खर्च भएको छ । चालू खर्चको तुलनामा पुँजीगत खर्चको ग्राफ भने निकै कमजाेर देखिन्छ ।

आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा पनि पुँजीगत खर्च करिब १०६ अर्ब रुपैयाँको मात्रै खर्च भएको देखिन्छ । बाँकी करिब साढे दुई खर्बको हाराहारीमा बजेट बाँकी तीन महिनामा खर्च गरिसक्ने मन्त्रालयले जनाएको छ । वित्तीय व्यवस्था अन्तर्गतको खर्च भने ५७ अर्ब ५९ करोड रुपैयाँ खर्च भएको छ ।

संकुचित मुद्राप्रदाय

सरकारले ९ महिनाको अवधिमा करिब ६८४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत गरेर सो अवधिमा सरकारले ६ खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँ संकलन गरेको हो । जसमध्ये कर राजस्वअन्तर्गत करिब ६३७ अर्ब संकलन भएको छ । चालू आवको साउनदेखि चैतसम्म ६ खर्ब ३६ अर्ब ७० करोड रुपैयाँ कर राजस्वअन्तर्गत संकलन गरेको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए । उनका अनुसार सरकारले नौ महिनाको अवधिमा गैर कर राजस्व ४७ अर्ब १७ करोड रुपैयाँ गरी कुल ६८४ अर्ब रुपैयाँ संकलन गरेको हो ।

त्यस्तै सरकारले ११२ अर्बभन्दा बढी आन्तरिक ऋण परिचालन छ । प्रवक्ता आचार्यका अनुसार एक खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको हो । जसमा २० अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल, ९० अर्ब रुपैयाँको विकास ऋणपत्र, २ अर्ब रुपैयाँको नागरिक वचतपत्र र एक करोड ५३ लाख रुपैयाँको वैदेशिक रोजगार वचतपत्र गरी कुल एक खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको उनले बताए ।

प्रदेश सरकारलाई १०४ अर्ब

प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को चैतमा एक खर्ब चार अर्ब ३९ करोड रुपैयाँ प्राप्त गरेका छन् । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ७१ अर्ब ३३ करोड रुपैयाँ सबै प्रदेशलाई हस्तान्तरण गरिसकेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारहरुलाई हस्तान्तरणका लागि छुट्याइएको १०४ अर्ब रूपैयाँबाट पनि प्रदेश मातहतमै राजस्व र अन्य स्रोतबाट संकलन भएको हो । जसमा ६२ अर्ब ६५ करोड रुपैयाँ खर्च भइसकेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

त्यस्तै प्रदेश सरकारको मौद्रिक स्थिति अन्तर्गतको मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको तुलनामा उक्त मुद्राप्रदाय ८.९ प्रतिशतले बढेको हो । वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय भने २३.९ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित खबरहरु