Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

योजना र तारतम्य मिलाउँदै गर्दा पुन: कोरोनाको चपेटामा होटल व्यवसायी

भूमिराज पिठातोली काठमाडौं वैशाख ३०, २०७८       

योजना र तारतम्य मिलाउँदै गर्दा पुन: कोरोनाको चपेटामा होटल व्यवसायी

ठमेलका एक व्यवसायीले दुई वर्षअघि होटल व्यवसाय सुरु गरेका थिए । एक वर्ष नपुग्दै उनको व्यवसाय कोरोनाको चपेटामा पर्‍यो । गत वर्षको कोरोना महामारीमा उनको होटल पूरै एक वर्ष बन्द रह्यो । त्यस अवधिमा उनले घरभाडाबापत मात्रै करिब एक करोड रुपैयाँ तिरे ।

जब कोरोना महामारी मत्थर भयो र लकडाउन खुल्यो, उनको होटलमा बिस्तारै चहलपहल हुन थाल्यो । एक वर्षको घाटा व्यहोर्नुपरेको पीडामा मल्हम लगाउन उनी तानाबाना बुन्दै थिए । योजना र तारतम्यहरु मिलाउँदै थिए । तर, कोरोनाको एक वर्षे पीडा बिर्सन नपाउँदै उनको व्यवसाय उस्तै मारमा पर्‍यो, जब अर्को चरणको कोरोना महामारी सुरु भयो ।

कर्मचारी थपेर होटलको सुविधा विस्तार गर्ने तयारीमा रहेकै बेला दोस्रो चरणको भेरियन्ट देखिएपछि उनको व्यवसाय पुन: चौपट हुने मोडमा पुग्यो । गत वर्षकोे जस्तै घाटा व्यहोर्नु नपरोस् भनेर यस वर्ष भने निषेधाज्ञा सुरु भएलगत्तै उनले होटल नै बन्द गरिसकेका छन् । उनीमात्र होइनन्, उनीजस्ता हजारौं होटल व्यवसायी कोरोनाको दोस्रो लहरको मारमा परेका छन् ।

पछिल्लो समय व्यवसाय बन्द गर्ने वा व्यवसायबाटै बाहिरिनेहरुको संख्या बढ्दै गएको छ । ‘ठूला व्यवसायहरु घाटा भए पनि कम्पनीमा गएका हुँदा बन्द नै गर्नुपर्ने अवस्था हुुँदैन,’ होटल संघ नेपाल (हान)का कार्यकारी निर्देशक टेकबहादुर महतले भने, ‘ठूला होटलहरु प्रायः व्यक्तिका निजी नभई सामूहिक लगानी गरेर सञ्चालन गरेका छन् । साना व्यवसाय निजी लगानीमा सञ्चालित हुन्छ । पारिवारिक सदस्य नै सञ्चालक हुन्छन् । घाटा सबै आफैंलाई पर्ने हुँदा संकटमा परेर बाहिरिन थालेका छन् ।’

हानको नेतृत्वमा करिब चार हजार होटल सञ्चालनमा छन् । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पर्यटन विभागको अनुमति पाएका ती होटलमध्ये कोरोनाका कारण अहिले एउटा होटल पनि पूर्ण रुपमा सञ्चालनमा छैन । सम्पूर्ण होटलको कारोबार ६० प्रतिशतभन्दा बढी बन्द भइसकेको छ ।

सरकारले सहयोग गरेन

कर्मचारीलाई बिदा दिने वा उनीहरुको सेवासुविधा घटाएर होटल खुला गर्नुपरेको कार्यकारी निर्देशक महतले बताए । उनले भने, ‘बन्द हुने अवस्थाका केही होटलहरु विदेशबाट आउनेका लागि क्वारेन्टिनको रुपमा प्रयोग गरिएका छन् । साना होटलहरु भने कति ठप्प भइसके, कति बन्द हुने तयारीमा छन् ।’ सरकारले होटल व्यवसायीको लागि कुनै राहत प्याकेज नल्याउँदा समस्या भएको उनले बताए । ‘सरकारले चासो नै दिँदैन । राहत प्याकेजका लागि हानले लिखित पत्र बुझाउँदा पनि कुनै सुनुवाई भएन,’ उनले गुनासो सुनाए ।

कोरोना महामारीको दोस्रो भेरियन्ट बढ्दै गएपछि सरकारको निर्देशनमा होटल सञ्चालकहरुले क्वारेन्टिनका लागि केही कोठाहरु छुट्याएका छन् । विदेशबाट आउनेले अनिवार्य दुई साता क्वारेन्टिनमा बस्नुपर्ने सरकारले नियम तोकेको छ ।  हानले साना-ठूला गरी ८१ होटलका दुई हजार ६५९ कोठा क्वारेन्टिनका लागि छुट्याएका छन् । 

मासिक २ अर्ब घाटा

गत वर्षको लकडाउनमा होटल व्यवसायीहरुले मासिक एक अर्ब ८० करोड रुपैयाँका दरले घाटा व्यहोरेका थिए । होटल सञ्चालकले मजदूरलाई पनि ५० प्रतिशत मात्र तलब दिएका थिए । सरकारले होटल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर राहत प्याकेज नदिँदा मासिक दुई अर्ब रुपैयाँ बराबर घाटा भएको हानकी अध्यक्ष सिर्जना राणाले बताइन् । उनले भनिन्, ‘त्यो बेला कोरोना प्रभावले होटल क्षेत्रमा भएको घाटा लगायतको सम्पूर्ण विवरणसहित पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालयमा विशेष राहत ल्याउनको लागि लिखित रुपमा ध्यानाकर्षण गराएका थियौं ।’

होटल व्यवसायीहरु गत वर्षको जस्तै लकडाउनले यो वर्ष पनि घाटा व्यहोर्नुपर्ने भन्दै चिन्तित भएका छन् । ‘कतिपय व्यवसायीहरुले त हामीले होटल बन्द गरिसक्यौं भनेर आइरहेका छन्,’ उनले भनिन्, ‘उहाँहरुलाई व्यवसायमा पुनस्थापित गर्न हामीसँग कुनै उपाय नै छैन । सरकारले हाम्रो माग सुन्दैन ।’

गएको माघमा पनि हानले तत्काल राहत कार्यक्रम कार्यान्वयन गर्न माग गर्दै पर्यटन मन्त्रालयमा १५ बुँदे मागपत्र पेश गरेको थियो । सरकारले सम्बोधन नगरेपछि गत वर्षको जस्तै घाटा व्यहोर्नु परेको व्यवसायीहरु बताउँछन् । हानमा आवद्ध व्यवसायीहरु मात्रै होइनन्, साना व्यवसायीहरुलाई पनि त्यस्तै समस्या देखिएको छ । होटल व्यवसायी महासंघमा आवद्ध ५०औं हजार व्यवसायीका होटल निषेधाज्ञापछि बन्द भएको महासंघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठले बताए ।

सम्बन्धित खबरहरु