Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

श्रीमतीको शव व्यवस्थापन एक्लैले गर्नु पर्दाको पीडा

न्युज कारोबार कैलाली वैशाख २८, २०७८       

श्रीमतीको शव व्यवस्थापन एक्लैले गर्नु पर्दाको पीडा फाइल तस्बिर ।

कैलालीको भजनी नगरपालिका- १ को हो स्थानीय ४३ वर्षीय महिलाको मंगलबार बिहान कोरोना संक्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि चासो नदेखाउँदा श्रीमानले नै खाल्डो खनेर अन्त्यष्टि गर्नु परेको थियो ।  

करीब एक हप्तादेखि भजनी अस्थायी कोभिड अस्पतालमा उपचाररत उनको मंगलबार बिहान ३ बजेतिर मृत्यु भएको थियो । मृत्युपछि उनको शव व्यवस्थापन गर्न कोही अघि सरेनन् ।  नगरपालिकाको टिप्परले शव भजनी नगरपालिका- ­३ मा रहेका कान्द्रा नदी किनारमा छाडेर गयो त्यसपछि मृतकका श्रीमान् आफैँले शव व्यवस्थापन गरेका थिए । कसैले खाल्डो खन्ने उपकरण समेत नदिएपछि उनले घरबाटै लिएर जानु परेको थियो ।

भजनी नगरपालिकामा  कोरोना संक्रमितकाे शव व्यवस्थापनका लागि स्वास्थ्य मापदण्ड पालना गरेर बढीमा २५ जना सहभागी हुने गरी भरपाइ बनाएर अस्थायी कोभिड अस्पतालले आफन्तलाई जिम्मा दिने गरेको छ । त्यसपछि नगरपालिकाले टिप्पर र जेसिबी प्रयोग गरेर शवको व्यवस्थापन गरिरहेको छ । शव व्यवस्थापनका लागि खाल्डो खन्न नगरपालिकाले जेसिबी पठाउने गरेता पनि यस पटक जेसीभीको टायर बिग्रेकाले पठाउन नसकिएको नगरप्रमुख शेरबहादुर चौधरीले बताए । भजनी नगरपालिकाले स्थापना गरेको १५ शय्याको अस्थायी कोभिड अस्पतालमा स्वास्थ्यकर्मी र उपकरण सँगसँगै अत्यावश्यक खानेपानीको समेत समस्या भइरहेको छ । (रासस)

सम्बन्धित खबरहरु