Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

कोरोना संक्रमणसँग जुध्न गोल्छा ग्रुपद्वारा १ करोड सहयोग

न्युज कारोबार काठमाडौं वैशाख २८, २०७८       

कोरोना संक्रमणसँग जुध्न गोल्छा ग्रुपद्वारा १ करोड सहयोग

गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गोंगललाई १ करोड रूपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पतालमार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै आफ्नो सेवाबाट थुप्रै संक्रमितको जीवन रक्षा गर्न सफल भएको थियो । अस्पतालले सधैँ उत्कृष्ट कार्य गरेकोले उक्त प्रशंसनीय कार्यको उच्च मूल्यांकन गर्दै अहिले दोश्रो लहरले झनै आक्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न सहज होस् भन्ने हेतुले गोल्छा ग्रुपले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

गोल्छा ग्रुपद्वारा प्रदान गरिएको सहयोग रकमलाई अस्पतालले अक्सिजन व्यवस्थापन गर्न, उपकरणको अभावलाई पूर्ति गर्न, स्वास्थ्यकर्मीद्वारा दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने बेडहरुको संख्या बढाउनेलगायत कोरोनाको संक्रमणसँग जुध्ने अन्य कार्य गर्नलाई उपयोग गर्ने बताएको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक गोल्छाले भने, 'अहिले देश एकदमै विषम परिस्थितिबाट गुज्रिरहेको छ र कोरोनाको यो दोस्रो लहरले हामी सबैलाई एकदमै अफ्ठ्यारोमा पारेको छ । यस महामारीको घडीमा हामीले पाटन अस्पताललाई सहयोग गर्न पाउँदा हामी निकै नै खुसी छौँ ।'

कोरोनाको पहिलो लहर र लकडाउनको बेलामा पनि अन्य केही संस्थाहरुसँग मिलेर कोरोनाविरुद्ध सहकार्य गरेकाे निर्देशक गाेल्छाले बताए । उनले भने, 'हामीले लकडाउनका बेला सिंगापुरको परोपकारी संस्था टेमासेक फाउन्डेशनबाट अनुदान प्राप्त १० हजार पीसीआर फर्टिट्यूड किट प्लेन चार्टर्ड गरी ल्याएर सरकारलाई हस्तान्तरण गरेका थियौँ । जुन फ्रन्टलाइनमा कार्य गरिरहेका स्वास्थ्यकर्मीद्वारा देशभरका कोभिड-१९ का बिरामीको परीक्षणका लागि उपयोग गरिएको थियो । हामीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्यको थालनी गरेका छौं र भविष्यमा पनि यस सहकार्यलाई निरन्तरता दिने छौं । यो हाम्रो संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत थालिएको स्वास्थ्य क्षेत्रसँगको नयाँ साझेदारी हो ।'

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गोंगलले भने, 'गोल्छा ग्रुपले हामीलाई यो विषम परिस्थितिमा आवश्यक उपकरण र सेवा सहज बनाउन गरेको यो सहयोग अत्यन्तै समय सापेक्ष भएको छ । यो सहयोगले अवश्य पनि हाम्रा फ्रन्टलाइन स्वास्थ्यकर्मीको पनि मनोबल बढाउने छ । निजी क्षेत्रले यस्तो विषम परिस्थितिसँग जुध्न हामीसँग गरेको यो हातेमालोका लागि गोल्छा ग्रुपका अध्यक्ष जो समग्र निजी क्षेत्रकै नेतृत्व पनि गर्दै हुनुहुन्छ, उहाँलाई धन्यवाद दिन चाहन्छु ।'

सम्बन्धित खबरहरु