Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

विश्वभर कोरोना संक्रमितको संख्या १५ करोड ९६ लाख नाघ्यो, ३३ लाखको मृत्यु

न्युज कारोबार काठमाडौं वैशाख २८, २०७८       

विश्वभर कोरोना संक्रमितको संख्या १५ करोड ९६ लाख नाघ्यो, ३३ लाखको मृत्यु

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १५ करोड ९६ लाख नाघेको छ । बितेका २४ घण्टामा विश्वमा ६ लाख ११ हजार ९६ संक्रमित थपिएका थिए । यससँगै विश्वमा कोरोना संक्रमित हुनेको कुल संख्या १५ करोड ९६ लाख ५ हजार पुगेको छ ।

गत २४ घण्टाभित्र विश्वभर १० हजार ५८६ जनाको निधन भएको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार मंगलबार बिहानसम्म विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ लाख १७ हजार पुगेको छ । त्यस्तै विश्वभर कोरोनाबाट डिस्चार्ज हुनेको संख्या भने १३ करोड ७२ लाख ९१ हजार रहेको छ । गत २४ घण्टामा सबैभन्दा बढी भारतमा ३ लाख २९ हजार नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा भारतमा कोरोना संक्रमणका कारण ३ हजारको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार पुगेको छ भने संक्रमितको संख्या २ करोड २९ लाख ९१ हजार पुगेको छ ।

कोरोना भाइरस संक्रमण बढी फैलिएको राष्ट्रमध्ये भारत दोस्रो नम्बरमा छ । सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा भने पछिल्ला दिनमा संक्रमणदर घट्दै गइरहेको छ । बितेका २४ घण्टामा अमेरिकमा ३० हजार संक्रमित थपिएका छन् भने ३७० जनाको निधन भएको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ३ करोड ३५ लाख १५ हजार छ भने ५ लाख ९६ हजारको ज्यान गएको छ । अमेरिकामा २ करोड ६५ लाख ७ हजार डिस्चार्ज भएका छन् । त्यसैगरी ब्राजिलमा पछिल्लो २४ घण्टामा २९ हजार संक्रमित थपिँदा तीन हजार १ हजारको मृत्यु भएको छ । ब्राजिलमा हाल संक्रमितको संख्या १ करोड ५२ लाख १४ हजार रहेको छ भने ४ लाख २३ हजारको ज्यान गएको छ । ब्राजिलमा निको हुनेको संख्या भने एक करोड ३७ लाख ५९ हजार पुगेको छ ।

पछिल्ला दिनहरूमा नेपालमा कोरोना संक्रमण र मृत्यु उच्च दरमा फैलिरहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ९ हजार १२७ संक्रमित थपिएका छन् भने १३९ जनाको निधन भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३७ हजार ९४ पुगेको छ भने ३ लाख ६७ हजार ९४ जना निको भएका छन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगेको छ ।

सम्बन्धित खबरहरु