Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

बहराइनका राजकुमार सहितको टोलीद्वारा सगरमाथाको सफल आरोहण

न्युज कारोबार काठमाडौं वैशाख २८, २०७८       

बहराइनका राजकुमार सहितको टोलीद्वारा सगरमाथाको सफल आरोहण तस्बिर स्रोत : सेभेन समिट ट्रेकको फेसबुक पेज ।

बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफा सहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्य सहितको टोली आज बिहान ६:४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ ।

सगरमाथाको आधार शिविरमा रहेका विभागका निर्देशक मीरा आचार्यले सामाजिक सञ्जालमा पोष्ट गरेकी छन्, 'सन् २०२१ मे ११ स्थानीय समय बिहान ६ः:० बजे बहराइनको राजपरिवारका सदस्य सहितको टोली सगरमाथाको शिखर तथा नेपाली गौरव, शान तथा अनुपम सम्पत्ति सगरमाथाको सफल आरोहण गरेको जानकारी प्राप्त भएको छ । सफल आरोहीलाई सगरमाथा जति नै उच्च बधाई ।' बहराइनका अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली सगरमाथा आरोहणमा गएको थियो । उक्त आरोहण टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स)मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती छन् । 

वसन्त यामको सगरमाथा आरोहणका यही वैशाख २४ देखि सुरु भएको थियो । कीर्तिमानी आरोही कामीरिता शेर्पा नेतृत्वको १२ शेर्पा आरोही टोलीले आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरोमा पुगेको (रोप फिक्सिङ) गरेपछि व्यावसायिक आरोहण सुरु भएको थियो । पर्यटन मन्त्रालयका अनुसार सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोहीले आरोहण अनुमति लिएका छन् । यसमा ९३ महिला र ३१५ पुरुष छन् । वसन्त यामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन् । 

सगरमाथासहितका विभिन्न १९ हिमाल तथा पिक आरोहणका लागि विभिन्न २४ एक्सिपीडिसन कम्पनीमार्फत पर्वतारोही गन्तव्यमा निस्केका हुन् । वसन्त यामको हिमाल आरोहणबाट हालसम्म ७१ करोड ४८ लाखभन्दा बढी रोयल्टी संकलन भएकोे छ । सगरमाथाबाट मात्रै ६६ करोडभन्दा बढी रोयल्टी जम्मा भएको छ । (रासस)

सम्बन्धित खबरहरु