Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

नाका-नाकामा 'आफ्नै देशमा मर्न चाहने'हरु

दिनेश बिष्ट धनगढी वैशाख २७, २०७८       

नाका-नाकामा 'आफ्नै देशमा मर्न चाहने'हरु

भारतमा दोस्रो लहरको कोरोना महामारीले निकै भयावह अवस्था सिर्जना गरेपछि रोजगारीकै लागि भारत पसेका नेपालीहरु स्वदेश फर्किने क्रम बढ्दो छ । कोरोना कहरले भारतका विभिन्न सहर बन्द भएसँगै रोजगारी खोसिएपछि उनीहरु स्वदेश फर्किरहेका हुन् । अहिले कैलालीको त्रिनगर नाकाबार दैनिक १ हजारदेखि १ हजार ५ सयसम्म नेपालीहरु स्वदेश फर्किरहेका छन् ।

‘आफ्नै देशमा मर्न चाहने’हरु

गत वर्ष पहिलो चरणको कोरोना कहरका कारण रोजगारी गुमाउँदै भारतबाट फर्केकाहरु लकडाउन खुलेसँगै भारत पसेका थिए । तर उनीहरु भारत पसेको केही महिनामा फेरि दोस्रो चरणको कोरोना लहर सुरु भएपछि उनीहरुले स्वदेशकै बाटो रोज्नुपरेको छ । दैनिक लाखौँको संख्यामा कोरोना संक्रमित थपिदै गएपछि भारतका विभिन्न सहरमा लकडाउन जारी गरिएको छ ।

डडेल्धुराको आलिताल गाउँपालिकाका सागर बिक गत पुसमा रोजगारीकै लागि भारतको दिल्ली गएका थिए । पहिलो चरणको कोरोना कहरकै बेला स्वदेश फर्केका उनी केही दिनको घर बसाइपछि पुनः भारत पसेका थिए । आफू काम गर्ने भारतको दिल्लीस्थित एक होटेल बन्द भएपछि स्वदेश फर्किरहेका उनी आइतबार गौरीफन्टा नाकामा भेटिएका थिए ।

यस्तो समयमा किन स्वदेश फर्किनपुर्‍यो ? भन्ने प्रश्नमा सागरले जवाफ दिए, ‘के गर्ने हजुर ! काम गर्ने ठाउँ बन्द भए । के खाने, कहाँ बस्ने ? अन्तमा केही उपाय नलागेपछि घर नै प्यारो लाग्यो ।’ पहिलो चरणको कोरोना महामारीका बेला अति नै सास्ती खेपेर स्वदेश फर्किएको भए पनि यसपटक भने बाटोमा त्यति समस्या नभएको उनले बताए । ‘बाटोमा खासै समस्या भएन । तर, त्रास भने अलि बढी भयो,’ उनले भने, ‘धमाधम मान्छे मरेको देखेपछि मरे पनि आफ्नै देशमा मरिन्छ भनेर स्वदेश आएका हौँ ।’

डोटीका समिर एसके पनि गौरीफन्टा नाका हुँदै आफ्नो घर फर्किंदै थिए । आइतबार बिहानै उनले स्वदेशको भूमि टेके । वषौँदेखि परिजारसहित भारतमा बस्दै आएका उनी यसपटक भने त्यहाँको दर्दनाक अवस्था देखेपछि आफ्नै देश फर्किएका थिए । ‘म दिल्ली बस्थेँ । परिवार सबै उतै छन् । काम सबै बन्द भयो आमाबुवा उतै हुनुहुन्छ । म मात्र फर्केको हुँ,’ उनले भने । वर्षौंदेखि बस्नेलाई त्यति समस्या नभए पनि छोटो समयका लागि भारत जानेहरुलाई भने निकै समस्या भएको उनले सुनाए । भने, ‘रोजगारी गुमेको छ । यतिबेला मालिकले पैसा पनि दिँदैनन् । केही त घर आउने पैसा नै नभएर उतै रोकिएका छन् । त्यहाँको अवस्था यहाँकाले अनुमान गरेभन्दा निकै जटिल छ ।’

महामारीको पहिलो लहरमा भारतबाट आएकाहरुलाई स्वदेशमै रोजगारी दिने सरकारले उद्घोष गरे पनि त्यसको कार्यान्वयन नहुँदा हजारौँ नेपाली पुनः भारत जान बाध्य छन् । तर, भारतमा पनि कोरोनाका कारण लकडाउन भएपछि रोगसँगै भोकको त्रासले उनीहरु अर्को बाध्यता बोकरे स्वदेश फर्किरहेका हुन् । यसरी विदेशी भूमिको अत्याससँग भाग्दै ‘मर्नु परे आफ्नै देशमा मर्ने’ विचार लिएर स्वदेश फर्किनेहरुको भीड अहिले सुदूरपश्चिमको हरेक नाकामा देख्न सकिन्छ ।

एउटा झोलामात्र भिरेर गौरीफन्टा नाका हुँदै आइबार स्वदेश फर्किरहेका अर्का व्यक्ति हुन् बाजुराका बल बहादुर शाह । किन यस्तो बेला घर आउनुभएको ? सुरक्षित भएर उतै बसेको भए हुँदैनथ्यो ? भनेर प्रश्न गर्दा उनले भने, ‘सर, मर्नै छ भने अर्काको देशमा किन मर्ने ! आफ्नै देशमा मरौँला भनेर स्वदेश आएको हुँ ।’ दिल्लीमा आफू काम गर्ने ठाउँबाट बेतलवी बिदा दिएपछि जाने अरु ठाउँ नभएर पनि स्वदेश फर्कनु परेको उनको भनाइ छ ।

१० प्रतिशतमा एन्टिजेन पोजेटिभ

पछिल्लो एक महिनाको अवधिमा मात्रै २५ हजार बढी नेपाली त्रिनगर नाका हुँदै स्वदेश फर्किएका छन् । हाल दैनिक स्वदेश आउनेको संख्या बढिरहेको छ । गौरीफन्टा नाकास्थित हेल्थ डेस्कमा कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट खटिएका गणेश साउँदका अनुसार भारतबाट नेपाल आउनेमध्ये समूहअनुसार एन्टिजेन परिक्षण गर्ने गरिएको छ । उनले भने, ‘एक समूहको एकजनालाई परीक्षण गरिने र सम्पर्कमा आएका अर्थात् समस्या देखिएकालाई परीक्षण गर्ने गरेका छौँ । १ महिनाको अवधिमा १६ हजारलाई परीक्षण गर्दा १० प्रतिशतमा एन्टिजेन पोजेटिभ देखिएको छ ।’
जति कोरोना संक्रमण बढिरहेको छ, त्यहीअनुसार भारतबाट आउनेको संख्या पनि बढिरहेको साउँदको भनाइ छ । उनले भने ‘हामीसँग पर्याप्त एन्टिजेन परीक्षणका लागि किट पर्याप्त छैनन् । त्यही भएर शंकास्पदलाई मात्र परीक्षण गरिरहेका छौँ ।’

सम्बन्धित खबरहरु