Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

बिर्तामोडमा ‘टेम्पो एम्बुलेन्स’ सेवा सुरू

न्युज कारोबार काठमाडौं वैशाख २५, २०७८       

बिर्तामोडमा ‘टेम्पो एम्बुलेन्स’ सेवा सुरू फाइल तस्बिर

झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरू गरेको छ । कोरोना संक्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयोग गर्छन् । यसका लागि चार वटा टेम्पो जिल्ला टाफिक प्रहरी कार्यालय विर्तामोडमा तयारी अवस्थामा राखिएको छ । नगरपालिका क्षेत्रको कुनै पनि स्थानबाट बिरामीलाई नजिकको अस्पताल पुरयाउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त सेवा दिने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्कीले बताए । नगरपालिका क्षेत्रमा बीएन्डसी, विर्ता सिटी, मनमोहन सामुदायिक, कनकाई, कञ्चनजंघा र अञ्जलि हस्पिटल सञ्चालित छन् ।

घरघरै अक्सिजन पुर्याउँदै मेचीनगर

यसैबीच, मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा कोरोना संक्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकताअनुसार घरमै पुरयाउने व्यवस्था मिलाएको छ । वडा नं. ११ धाइजनमा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको र होम आइसोलेसनमा रहेका संक्रमितलाई चिकित्सक टोलीले घरै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए । 'होम आइसोलेसनमा कुनै असुविधा भोग्नु पर्नेछैन,' ओझाले भने, 'जुनसुकै समयमा हामी औषधि र सिलिन्डर बोकेर होम आइसोलेसनमा पुग्नेछौं ।' नगरपालिकाले सय वटा हाते अक्सिजन प्याक (डिस्पोजेबल) र ३० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ । नगरभित्रका एम्बुलेन्सका चालकहरुलाई पीपीइ, ग्लोब स्यानिटाइजर र मास्क उपलब्ध गराएर कोरोना संक्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको उनले बताए ।

सम्बन्धित खबरहरु