Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

कृषकलाई प्रोत्साहन स्वरूप रकम वितरण गर्दै घिरिङ गाउँपालिका

न्युज कारोबार तनहुँ वैशाख २५, २०७८       

कृषकलाई प्रोत्साहन स्वरूप रकम वितरण गर्दै घिरिङ गाउँपालिका

तनहुँको घिरिङ गाउँपालिकाले लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । कृषकलाई नगदे बालीतर्फ आकर्षित गराउँदै गाउँपालिकालाई लसुन र प्याजमा आत्मनिर्भर बनाउने उद्देश्यसहित गाउँपालिकाले कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो ।

चालू आर्थिक वर्षको गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार कृषकलाई प्रति रोपनी पाँच हजार रूपैयाँका दरले प्रोत्साहन रकम वितरण गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार १८ कृषकलाई एक लाख ४२ हजार रूपैयाँ पाँच सय वितरण गरिएको छ । घिरिङ गाउँपालिका–१, २ र ३ का लसुन र प्याज उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम प्रदान गरिएको हो ।

घिरिङ गाउँपालिका–१ अत्रौलीका प्रेम थापाले आठ रोपनीमा लसुन र प्याज उत्पादन गरेबापत ४० हजार रूपैयाँ प्राप्त गरेका छन् । त्यस्तै तीन जना कृषकलाई दुई रोपनी, एक जना कृषकलाई डेढ रोपनी र १३ जना कृषकलाई एक रोपनीका दरले सो सुविधा प्रदान गरिएको छ । गाउँपालिकाले एक जना कृषकलाई आठ रोपनीको ४० हजार रूपैयाँ, तीन जना कृषकलाई ६ रोपनीको ३० हजार रूपैयाँ, एक जना कृषकलाई डेढ रोपनीको सात हजार पाँच सय रूपैयाँ र १३ जना कृषकलाई ६५ हजार रूपैयाँका दरले प्रोत्साहन रकम वितरण गरेको छ ।

कृषक नगदेबालीतर्फ त्यति आकर्षित नभइरहेको अवस्थामा गाउँपालिकाले प्रोत्साहन रकम प्रदान गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । 'नगदेबालीतर्फ आकर्षण बढाउन चालू आर्थिक वर्षबाटै यो कार्यक्रम ल्याएका हौं, आगामी वर्ष पनि यसले निरन्तरता पाउँछ,' उनले भने ।

गाउँपालिकामा सानो परिमाणमा लसुन र प्याज उत्पादन गर्ने कृषक धेरै नै भएपनि व्यावसायिक रुपमा उत्पादन गर्ने कृषक कम रहेका छन् । प्रोत्साहन रकम प्राप्त गर्नका लागि न्यूनतम एक रोपनीमा उत्पादन गरेको हुनुपर्ने मापदण्ड बनाइएको छ । 'प्रोत्साहन रकम प्राप्त गर्नका लागि निवेदन माग गरेका थियौ, निवेदन परेपछि फिल्डमै गएर मूल्यांकनका आधारमा रकम प्रदान गर्ने मापदण्ड बनाइएको छ,' उनले भने । 

कृषकलाई बोयर बोका

तनहुँको व्यास नगरपालिका–१३ ले वडाभित्रका व्यावसायिक कृषकलाई बोयर बोका वितरण गरेको छ । व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका कृषकलाई सघाउने उद्देश्यसहित वडा कार्यालयले ६ जना कृषकलाई बोयर बोका शतप्रतिशत अनुदानमा वितरण गरेकोे वडा सदस्य लक्ष्मीकान्त मिश्रले जानकारी दिए । उनका अनुसार भानु नगरपालिका–५ स्थित प्रकाश एग्रिकल्चर प्रालिबाट खरिद गरी कृषकलाई वितरण गरिएको हो । यो कार्यक्रमका लागि वडा कार्यालयले दुई लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो । (रासस)

सम्बन्धित खबरहरु