Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

कर्णालीमा ६१२ वटा अक्सिजन सिलिन्डर 

सबै जिल्लामा अक्सिजन पलान्ट

सीता वली सुर्खेत वैशाख २४, २०७८       

कर्णालीमा ६१२ वटा अक्सिजन सिलिन्डर 

कर्णाली प्रदेशका विभिन्न सरकारी अस्पतालहरुमा ६१२ अक्सिजन सिलिन्डर छन् । अक्सिजन सकिएपछि खाली सिलिन्डर भरेर पुनः चलाइन्छ । प्रदेशका १० वटै जिल्लामा रहेका प्रदेश तथा संघीय सरकार मातहतका अस्पतालहरुमा कतिपय सिलिन्डरहरू खाली छन् । पछिल्लो समय स्थानीय तहले समेत अस्पताल सञ्चालन गर्दै आएका छन् ।

कर्णालीका १० जिल्लाका १३ वटा अस्पतालहरुमा ६१२ अक्सिजन सिलिन्डर र अक्सिजन पलान्ट पाइपलाइन रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ । जिल्लाका अन्य अस्पतालमा भन्दा प्रदेश अस्पताल सुर्खेतले अक्सिजन अभाव झेल्नुपरेको छ । त्यसो त गत आइतबार दुईवटा अक्सिजन पलान्ट सुचारु गरिएको छ । तर पनि अस्पतालमा अक्सिजन सिलिन्डरको संख्याभन्दा बिरामीको चाप बढ्दो छ । दैनिक अक्सिजन पाइपलाइनसहितको बेड संख्या बढ्ने क्रम रहेको अस्पतालले जानकारी दिएको छ । 

प्रदेशका १० अस्पतालहरुमा अक्सिजन पलान्ट सञ्चालनको लागि प्रदेश सरकारले  ५० लाखदेखि ६० लाखसम्म सबै अस्पतालहरुमा पठाएको छ । जसमध्ये पाँचवटा जिल्लाले अक्सिजन पलान्ट सञ्चालन गरी अक्सिजन पाइपलाइन जोडिसकेका छन् । हुम्ला, कालिकोट, डोल्पा, सल्यान र रुकुमपश्चिमले पाइपलाई सञ्चालन गरिसकेका हुन् । जाजरकोट, सुर्खेतको मेहेलकुना, दैलेख, आयुर्वेद अस्पताल सुर्खेत र मुगुमा अक्सिजन पलान्टको काम भइरहेको छ । बिरामीको सबैभन्दा बढी चाप हुने प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा ७० अक्सिजनका सिलिन्डर रहेको सूचना अधिकारी बिनोद बस्नेतले जानकारी दिए । ‘हामीसँग त्यस्तै ७० जती अक्सिजन सिलिन्डर होलान्,’ उनले भने ‘नियमित भर्ने र प्रयोग गर्ने भइरहेको छ ।’

बस्नेतका अनुसार अस्पतालमा कोरोनालगायत अन्य बिरामीसहित दैनिक १३० वटाभन्दा बढी अक्सिजन सिलिन्डर तत्काल आवश्यक पर्ने गरेको छ । केही समय अक्सिजन अभाव भए पनि हाल अक्सिजन पलान्ट सञ्चालन गरेको कारण समस्या समाधान हुने उनले बताए । सुर्खेतको गुर्भाकोट नगरपालिकामा रहेको मेहेलकुना अस्पतालमा समेत १४ वटा अक्सिजन सिलिन्डर रहेको प्रमुख डा. सोजन सापकोटाले जानकारी दिए । उनका अनुसार प्रदेश अस्पतालले भार कम गरेकोले मेहेलकुनाको सिटी हलमा अक्सिजन सहितको २५ बेड आइसोलेनसको तयारी गर्न लागिएको छ । हाल अस्पतालमा कारोनाका कुनै संक्रमित भर्ना छैनन् । 

अस्पतालमा ७० जना कोरोना  भाइरस (कोभिड –१९) का संक्रमित भर्ना भएका छन् । प्रायः सबैलाई अक्सिजन लगाउनुपरेको छ । अस्पतालका कोरोना फोकलपर्सन डा. के.एन पौडेलले अक्सिजनका दुईवटा पलान्ट सुरु भएपछि स्थिति सामान्य भएको बताएका छन् । उनका अनुसार संक्रमितको चाप एक सय नाध्यो भने फेरि पनि समस्या हुन सक्छ । तत्काल २५ बेडमा पाइपलाई जोडेको उनले बताए ।

दैलेख जिल्लामा दुई वटा अस्पताल रहेका छन् । स्थानीय तहले सञ्चालन गरेको दुल्लु अस्पताल र जिल्ला अस्पताल दैलेख । दुवै अस्पतालमा गरी ७१ वटा साना ठूला अक्सिजन सिलिन्डर रहेका छन् । जिल्ला अस्पताल दैलेखमा जम्मा ३६ वटा सानो र ठूलो अक्सिजन सिलिन्डर छन् भने दुल्लु अस्पताल दैलेखमा ३५ वटा सानो अक्सिजन सिलिन्डर रहेको छ । जनस्वास्थ्य सेवा कार्यलय दैलेखका जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मीले दैलेखमा अक्सिजनको तत्काल अभाव नभए पनि बिरामीको चाप बढ्दै गएकोले समस्या हुन सक्ने बताए । अस्पतालमा भर्ना भएका २० जना बिरामीमध्ये १३ जनालाई अक्सिजन लगाउनु परेको उनले सुनाए ।

अस्पतालमा भएका सबै सिलिन्डर भरी नभएकोले भर्नको लागि नेपालगञ्ज पठाएको उनले बताए । उनका अनुसार दैलेख जिल्लामा अक्सिजन पलान्ट सुचारु गर्ने काम जारी छ । दुल्लु अस्पतालमा भने हालसम्म कोरोना भाइरसका संक्रमित भर्ना भएका छैनन् । जिल्ला अस्पताल जाजरकोटमा  ५० वटा अक्सिजन सिलिन्डर छन् तर, सबै भरी छैनन् । बिरामीको चाप पनि तत्काल छैन । जनस्वास्थ्य सेवा कार्यालय जाजरकोटका जनस्वास्थ्य अधिकृत टीकाराम जैसीका अनुसार तत्काल अभाव नभए पनि निकट भविष्यमा अक्सिजनको अभाव हुनसक्छ । संक्रमितको चाप बढेको र प्रायलाई अक्सिजन लगाउनु परेकोले समस्या नआओस् भन्नको लागि खाली भएका सिलिन्डर भर्न पठाएको उनले बताए । जाजरकोट जिल्ला अस्पतालमा ८ जना कोरोना संक्रमित भर्ना भए पनि दुईजनालाई मात्र अक्सिजन लगाउनुपरेको उनले बताए । अक्सिजन पलान्टका लागि टेण्डर भएको उनले बताए ।

जिल्ला अस्पताल कालिकोटमा जम्मा ४० वटा अक्सिजन सिलिन्डर छन् । ६ वटाबाहेक सबै भरेर राखेका छन् । अस्पतालमा २७ जना संक्रमित भर्ना भए पनि तीन जनालाई मात्र अक्सिजन लगानुपर्ने अवस्था भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले बताए । उनका अनुसार गाउँ–गाँउमा संक्रमण फैलिसकेकोले अक्सिजन स्टक राख्नुपर्ने अवस्था आएको छ । 'तत्काल अक्सिजनको अभाव नभए पनि बिरामीको चाप बढेसँगै अक्सिजनको मागसमेत बढ्न सक्छ,' उनले भने ।

जिल्ला अस्पताल डोल्पामा १२ वटा सिलिन्डर र पाँचवटा कन्सन्टर (बत्ती र पानीद्वारा सञ्चालन हुने अक्सिजन) रहेको जनस्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अम्मरसिंह शाहीले जानकारी दिए । उनका अनुसार अस्पतालमा चार जना कोरोना भाइरसका संक्रमित भर्ना भए पनि अवस्था सामान्य रहेको छ । 
त्यस्तै हुल्ला जिल्ला अस्पतालमा तीन वटा अक्सिजन पलान्ट रहेको छ । जसमा दुई वटा सञ्चालनमा छन् । अक्सिजन सिलिन्डर नभए पनि २३ बेडमा अक्सिजन पाइपलाइन जोडिएको उनले बताए । शाहीका अनुसार जिल्ला अस्पताल हुम्लामा ८ जना कोरोना संक्रमित भर्ना भएका र सबैको अवस्था सामान्य छ । 

मुगु जिल्ला अस्पतालमा २१ वटा अक्सिजन सिलिन्डर रहेको जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत रितिजा रावलले जानकारी दिइन् । मुगुमा तीन जना संक्रमित मात्रै अस्पतालको आइसोलेसन भर्ना भएका छन् । भर्ना भएका तीनै जनाको अवस्था सामान्य रहेको उनले बताइन् । मुगुमा सिलिन्डर भए पनि दुइटा मात्रै भरेर राखेको र अन्य खाली भएको रावलले सुनाइन् । ‘जटिल संक्रमित आए के गर्ने ?’ उनले प्रश्न गर्दै भनिन्, ‘तत्काल अभाव छैन भनेर के गर्नु भोली समस्या हुन सक्छ ।' परिस्थितिलाई हेर्दा जटिल अवस्था आउन सक्ने अनुमान लगाइन् । 

जिल्ला अस्पताल सल्यानमा २२ वटा अक्सिजन सिलिन्डर रहेका छन् । तर ती सबै भरेर राखेका भने छैनन् । भर्न पठाएका सिलिन्डर पनि फिर्ता आएको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख दशरथ श्रेष्ठले बताए । अहिले अस्पतालमा १३ जना संक्रमित भए पनि सबैको अवस्था सामान्य भएको उनले बताए । रुकुम पश्चिममा दुई वटा अस्पताल छन् । जिल्ला अस्पताल रुकुमपश्चिम र चौरजहारी अस्पताल, दुवै अस्पतालमा गरी ६४ अक्सिजन सिलिन्डर रहेका छन् । जिल्ला अस्पतालमा समेत ३९ वटा अक्सिजन सिलिन्डर र चौरजहारीमा २५ वटा सिलिन्डर रहेका हुन् ।

जिल्ला अस्पतालमा अक्सिजन पलान्ट सञ्चालनको अन्तिम तयारी भएको कोरोना फोकल पर्सन ईश्वर रावतले जानकारी दिए । उनका अनुसार खाली भएका २५ वटा सिलिन्डर भर्नको लागि पठाए पनि अझै आइनसकेको हो । चौरजहारी अस्पताल रुकुमपश्चिममा समेत २५ वटा अक्सिजन सिलिन्डरमा ६ वटा मात्रै कोरोना भाइरस संक्रमणको लागि छुट्याइएको अस्पतालका प्रमुख डिलबहादुर गिरीले बताउँछन् । 'अस्पतालमा ६ जना संक्रमित रहेको र सबैको अवस्था सामान्य छ,' उनले भने, 'तत्काल अक्सिजनको अभाव नभए पनि दैनिक संक्रमितको दर हेर्दा अवस्था जटिल हुन सक्छ । समयमै अक्सिजनको जोहो नगरे नागरिकको ज्यान कसरी जोगाउने भन्ने चिन्ता भइरहेको छ ।'

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला संघीय सरकार मातहतको ठूलो शिक्षण अस्पताल हो । जहाँ दुई सय अक्सिजन सिलिन्डर रहेको अस्पतालका निमित्त डाईरेक्टर डा. राजिव शाह बताउँछन् । अक्सिजनको अभाव हुन नदिन अहिलेदेखि नै स्टक राख्न सुरु गरेकोसमेत उनले बताए । 'प्रतिष्ठानमा अक्सिजन पलान्ट रहे पनि हाल सञ्चालनमा छैनन्,' उनले भने, 'अब केही दिनमै उक्त पलान्टसमेत सुचारु गर्ने गरी कामको थालनी भइरहेको छ ।' 

कर्णाली प्रदेशमा अर्को प्रदेशबाट अक्सिजन सिलिन्डर भरेर ल्याउने गरिन्छ । एचओ अक्सिजन ईण्डस्ट्रिज प्रालि नेपालगञ्जका सञ्चालक रामु खड्काले सुर्खेतमा मात्रै दैनिक ६० देखि ८० सिलिन्डर भरेर ल्याउने गरेको बताउँछन् । आफूहरुले दैनिक एक हजार अक्सिजन सिलिन्डर उत्पादन गर्ने भए पनि प्रदेश अस्पताल सुर्खेतमा मात्रै अक्सिजन वितरण गर्ने गरेको उनले बताए ।

यता प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प्रमुख डा. रबिन खड्काले प्रदेशभरका संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालन भएका सरकारी अस्पताल तथा निजी अस्पतालहरुमा गरी करिब एक हजारको हाराहारीमा अक्सिजन हुन सक्ने बताउँछन् । ‘साना ठूला गरी एक हजारको हाराहारीमा अक्सिजन होलान्,’ उनले भने, ‘सबै जिल्लाहरुबाट हामीहरुले तथ्यांक मागिरहेका छौं ।’ उनका अनुसार केही महिना पहिले जिल्ला अस्पतालहरुमा ४७३ अक्सिजन भएको तथ्यांक आए पनि स्थानीय तह, अक्सिजन पलान्ट बेड र संक्रमण बढेपछि ल्याइएका र निजी अस्पतालहरुमा गरी एक हजारको हाराहारीमा प्रदेशभर अक्सिजन सिलिन्डर रहेको अनुमान गरे । उनले प्रदेशका १० वटा अस्पतालहरुमा अक्सिजन पलान्टको लागि रकम पठाएको र वैशाख महिनाभित्र सञ्चालन गरी सक्नेगरी निर्देशनसमेत दिएको जानकारी दिए ।

सम्बन्धित खबरहरु