Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

कोरोना क्रन्दन : अस्पताल डुलाउँदा-डुलाउँदै संक्रमितको मृत्यु

न्युज कारोबार धनुषा वैशाख २१, २०७८       

कोरोना क्रन्दन : अस्पताल डुलाउँदा-डुलाउँदै संक्रमितको मृत्यु

बटेश्वर गाउँपालिकाका एकजना कोरोना संक्रमित बिरामीले उपचार अभावमा ज्यान गुमाउनु परेको छ । बटेश्वर गाउँपालिका- ४ स्थित ससुराली घरमा बस्दै आएका ४५ वर्षीय लोकबहादुर परियारको मंगलबार बिहान मृत्यु भएको हो ।

पाँच दिनदेखि रुघाखोकी र ज्वरोले ग्रस्त परियारलाई सोमबार साँझ ८ बजे उपचारका लागि एम्बुलेन्समा राखेर जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ आइसोलेशनमा बेड खाली नभएको भन्दै अस्पतालले भर्ना नलिएकाे एम्बुलेन्स चालक रामबाबु महताेले बताए । उनका अनुसार जनकपुरकै अन्य केही निजी अस्पतालले समेत भर्ना नगरेपछि परिवारजनको आग्रहमा पुनः बटेश्वरमै फर्काइएकाे थियाे ।

बटेश्वरस्थित आरपी मेडिकल हलको अगाडि बरन्डामा अक्सिजन अभावमा छटपटिएर परियारको मृत्यु भएको एम्बुलेन्स चालक महतोकाे भनाइ छ । एम्बुलेन्स चालक महतोका अनुसार ‘परियारको शरीरमा अक्सिनको मात्रा आफुले चेक गर्दा ४५ मात्र थियो । एम्बुलेन्समा अक्सिजन लगाएर उपचारको लागि जनकपुर लगेको उनले बताए ।

आरपी मेडिकल हलका सञ्चालक सुवोध साहले मृत्यु भइसकेको अवस्थामा एम्बुलेन्सबाट आफनो मेडिकलको बरन्डामा शव ल्याएर राखेको बताए । मृतकको शव अहिले आरपी मेडिकलको बाहिर रहेको छ । मृतकका आफन्त अहिलेसम्म सम्पर्कमा नआएको अस्थायी प्रहरी चौकी बटेश्वरले जनाएको छ । शवको व्यवस्थापनका लागि सदरमुकाममा खबर गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु