Nepalese Flag २०७८ वैशाख २८ गते मंगलबार   |   May 11, 2021

कोरोना संक्रमितलाई काठमाडौँबाट हेलिकप्टरमार्फत झापा पुर्‍याइयो

न्युज कारोबार काठमाडौं वैशाख २०, २०७८       

कोरोना संक्रमितलाई काठमाडौँबाट हेलिकप्टरमार्फत झापा पुर्‍याइयो

काठमाडौँका अस्पतालमा कोभिड- १९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आइसीयू) शय्याको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी  बिरामी लैजाने क्रम जारी छ । कारोना महामारीको पहिलो चरणमा काठमाडौँ उपत्यका बाहिरका  बिरामीलाई ‘हवाई बेड लिफ्ट’ गरी उपचारार्थ यहाँ ल्याइने गरिन्थ्यो ।

यसक्रममा झापा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा आज अपराह्न काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचारार्थ एक कोराना संक्रमित  बिरामीलाई थप उपचारार्थ हेलिकप्टरमार्फत ‘बेड सिफ्ट’ गरिएको छ । काठमाडौँका अस्पतालमा  भेन्टिलेटर सहितको आइसीयू शय्या नपाएपछि झापा कमल गाउँपालिका वडा- ५ का ३५ वर्षीय मदन पाठकलाई बीएण्डसी अस्पताल लगिएको बताइएको छ । 

वैशाख १५ गते पनि  ह्याम्स अस्पतालबाट झापाकै कोरोना संक्रमित नरप्रसाद उप्रेतीलाई भेन्टिलेटरसहित आइसीयू अभाव भएपछि काठमाडौँबाट हवाई चार्टरमार्फत सो अस्पतालमा भर्ना गरिएको थियो छ । हाल उनको स्वास्थ्यमा सुधार भइरहेको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए । उनका अनुसार काठमाडौँका अस्पतालमा कोरानाका बिरामीका लागि भेन्टिलेटरसहित आइसीयूको अभाव भएपछि बीएण्डसीमा सम्पर्क गर्नेक्रम निरन्तर जारी  छ ।

बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटरसहित आइसीयू शय्या, विशेषज्ञ चिकित्सक र आधुनिक प्रयोगशाला छ ।  यसमध्ये २५ भेन्टिलेटरसहित आइसीयू शय्या कोभिडका बिरामीलाई छुट्याएकाे र बिरामीको आवश्यकता अनुसार थप गर्दै जाने अस्पतालको नीति रहेको उनले जानकारी दिए ।

सम्बन्धित खबरहरु