Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

बैंक तथा वित्तीय संस्थाका लागि बैंकर्स एशोसिएसनको १२ बुँदे निर्देशन

न्युज कारोबार काठमाडौं वैशाख २०, २०७८       

बैंक तथा वित्तीय संस्थाका लागि बैंकर्स एशोसिएसनको १२ बुँदे निर्देशन

नेपाल बैंकर्स एसाेसिएशनले निषेधात्मक आदेशको पालना गर्दै र आवश्यक सजगता अपनाउँदै आफ्ना ग्राहकलाई सेवा प्रदान गर्नका लागि सदस्य विकास बैंकहरुलाई निर्देशन दिएकाे छ । यसका लागि एसाेसिएशनले विभिन्न १२ बुँदे निर्णय गरेकाे छ । दोस्रो लहरकाे काेराेना महामारीकाे विषम परिस्थितिले बैंक तथा वित्तीय संस्थालाई सेवा प्रवाह गर्न चुनौती थपेकाले थप सजगता अपनाउन एसाेसिएशनले भनेकाे छ । यसका साथै, ग्राहकलाई सम्भव भएसम्म डिजिटल बैंकिङ प्रडक्टहरु प्रयोग गरिदिन र उक्त सेवा नलिएको भए वा उक्त सेवामा कुनै समस्या आएमा सम्बन्धित बैंकको वेबसाइटमा उल्लेख गरिएका सम्पर्क व्यक्तिहरुलाई सम्पर्क गरी बैंकिङ सेवा लिन एसाेसिएशनले अनुरोध गरेकाे छ ।

निर्णयहरू :

१) नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशनको अक्षरश: पालना गर्ने र कर्मचारी तथा ग्राहकहरुको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई कोभिडको असर पर्न नदिनका लागि सम्भव भएसम्मका उपायहरुको अवलम्बन गर्ने ।
२) निषेधाज्ञा जारी भएका स्थानमा नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधिभित्र रही सेवा प्रदान गर्नका लागि प्रत्येक सदस्य बैंकले योजना बनाउने र उक्त योजना सदस्य बैंकहरुबीच समन्वयताका लागि आदान प्रदान गर्ने ।
३) सेवा प्रदान गर्न खोलिने शाखा/बैकल्पिक शाखाहरुको सूची बैंकिङ समयसमेत उल्लेख गरी प्रत्येक दिन बैंकको वेबसाइट र शाखाका मूल ढोकामा प्रकाशित गर्ने व्यवस्था मिलाउने ।
४) स्थानीय प्रशासनले बैंकिङ सेवासमेत प्रवाह गर्न रोक लगाएको वा वैकल्पिक व्यवस्था गरेको भएमा सोहीअनुसार गर्ने ।
५) स्थानीय प्रशासन र अन्य निकायहरुसँग आवश्यक समन्वयको व्यवस्था मिलाउने ।
६) प्रत्येक सदस्य बैंकले प्रधान कार्यालयमा र शाखामा ग्राहकबाट लिइने जानकारी प्रदान गर्न र समन्वय गर्नका लागि सम्पर्क व्यक्ति तोकी उक्त सम्पर्क व्यक्तिको फोन नं. र इमेल आइडी बैंकको वेबसाइटमा प्रकाशित गर्ने ।
७) सदस्य बैंकले प्रधान कार्यालयमा २ जना वरिष्ठ पदाधिकारीलाई सम्पर्क व्यक्ति तोकी उक्त पदाधिकारीको नाम, मोवाइल नं., इमेल आइडी आदि एसोसएशनको सचिवालयलाई उपलब्ध गराउने ।
८) एशोसियसनको माध्यमबाट पहल गरी समाधान गर्नु पर्ने किसिमका कुनै समस्या आएमा अध्यक्ष/उपाध्यक्ष/अन्य कार्यसमिति पदाधिकारी वा सचिवालयमा यथाशीघ्र जानकारी गराउने ।
९) डिजिटल बैंकिङ प्रडक्टहरुबाट बैंकिङ कारोबार गर्न ग्राहकलाई उत्प्रेरित गर्ने र उपलब्ध र सम्भव भएसम्मका सञ्चार माध्यमबाट सोसम्बन्धी जानकारी ग्राहकलाई गराउने । 
१०) डिजिटल बैंकिङ प्रडक्टहरुबाट गरिने बैंकिङ कारोवारका प्रकृयाहरु र अपनाउनु पर्ने सावधानीका बारेमा पनि ग्राहकलाई उपलब्ध र सम्भव भएसम्मका सञ्चार माध्यमबाट जानकारी गराउने ।
११) डिजिटल बैंकिङ प्रडक्टहरुबाट बैंकिङ कारोवार गर्दा जोखिम पनि बढ्ने भएकाले जोखिम न्यूनीकरणका उपायहरु अवलम्बन गर्ने । जोखिम न्यूनीकरण गर्नका लागि सदस्य बैंकहरुले लागू गरेका उत्तम अभ्यासहरु उपलब्ध गराउन मिल्नेसम्मको सीमाभित्र रही जानकारी गराइ एक अर्कालाई सहयोग गर्ने ।
१२) अन्य कुराहरुको हकमा नेपाल राष्ट्र बैंकको निर्देशन तथा स्थानीय प्रशासन वा नेपाल सरकारको निर्णय र सम्बन्धित सदस्य बैंकको नीति नियमको परिधिभित्र रहेर कार्य गर्ने ।

सम्बन्धित खबरहरु