Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

कोरोनाबाट भाग्दै स्वदेश आइपुगे, तर . .

दिनेश बिष्ट धनगढी वैशाख १९, २०७८       

कोरोनाबाट भाग्दै स्वदेश आइपुगे, तर . . गाैरीफन्टा नाकामा स्वदेश फर्कनेहरूको लर्को ।

नेपालमा रोजगारी नपाएपछि सुदूरपश्चिमका नागरिकहरु भारतमै निर्भर हुने गरेका छन् । पहिलो चरणको कोरोना महामारीका बेला त्रसित हुँदै स्वदेश फर्केका नेपालीहरु कोरोना कहरकै बिच परिवार पाल्नकै लागि उनीहरु फेरि भारत पसेका थिए । पहिलो चरणको कोरोना संक्रमण घट्दै गएपछि भारतमा सबै उद्योगहरु पनि सञ्चालन भए । स्थिति सहज बन्दै गएकाले नेपाली मजदुरहरुले काम गर्न पाइरहेका थिए । 

भारतमा फेरि अर्को चरणको कोरोना संक्रमण फैलिएपछि नेपालीहरु धमाधम घर फर्किन थालेका छन् । मजदुरीका लागि भारत पसे पनि अन्तिम अवस्थामा उनीहरु नेपालमै फर्किन थालेका हुन् । कयौँ दिन हिँडेर र कयौँ जोखिम मोलेर भए पनि उनीहरु स्वदेशी भूमिमै फर्किरहेका हुन् । कोरोना त्रासले स्वदेश फर्किरहेकामध्ये ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गौरीफन्टा नाकाबाट स्वदेश भित्रिएकामध्ये १३ हजार ९ सय ७२ जनाको कोरोना परीक्षण गर्दा १ हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो एक हप्ताको अवधिमा मात्रै सुदूरपश्चिममा १ हजार २ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै सोही एक हप्ताको अवधिमा १६८ जना संक्रमितले कोरानालाई परास्त गरेका छन् ।

प्रदेशमा हालसम्म १५ हजार ९ सय १२ जनालाई कोरोना संक्रमण भएको छ । तीमध्ये १४ हजार २ सय ७५ जना निको भइ घर फर्किएका छन् । यो हप्ता प्रदेशभर कोरोना संक्रमणका कारण ३३ जनाले ज्यान गुमाएका छन् । तीमध्ये कैलालीका १४, कञ्चनपुरका १३, अछामका २ र डडेल्धुरा, बैतडी, बझाङ तथा दार्चुलाका १÷१ जना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट ७४ जनाको मुत्यु भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । तीमध्ये धेरैजसोमा कडा खालको निमोनिया रहेको पाइएको छ ।  

कोरोना भाइरसबाट छिमेकी मुलुक भारतको स्थिति भयावह बनेको छ । भारतमा कोरोना संक्रमितले उपचारका लागि अस्पतालमा बेडसमेत नपाउने अवस्था सिर्जना भएपछि त्यहाँ रहेका नेपालीहरु पनि धमाधम स्वदेश फर्किन थालेका हुन् । यसरी फागुनयता स्वदेश फर्किएका सुदूरपश्चिमका ६ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । 

गत शनिबार मात्रै भारतबाट स्वदेश फर्किएका कञ्चनपुरका २ जनाको मृत्यु भएको छ । कञ्चनपुरस्थित महाकाली अस्पतालमा उपचार गरिरहेका भीमदत्त नगरपालिका वडा नंं. १८ का ४० वर्षीय पुरुष र वडा नं. ४ की ५० वर्षीय महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । एक साताअघि भारतको इन्दौरबाट फर्किएका ती पुरुष स्वास्थ्यमा समस्या भएपछि बिहीबार अस्पताल भर्ना गरिएको थियो । उनलाई शुक्रबार मात्रै कोरोना पुष्टि भएको थियो । महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाका अनुसार आइसीयूमा राखेर उपचार गर्दागर्दै उनको शनिबार मृत्यु भएको हो । फोक्सोमा समस्या तथा अक्सिजनको मात्रा घटेका कारण ती पुरुषको मृत्यु भएको डा. रोकायाले बताए । 

यस्तै कोरोना त्रासकै कारण कञ्चनपुरकी ५० वर्षीय महिला पनि भारतबाट स्वदेश फर्किएकी थिइन् । कोरोनाबाट बच्न स्वदेश फर्किएकी उनी पनि स्वास्थ्यमा असहज भएपछि बिहीबार सेती प्रादेशिक अस्पताल भर्ना भइन् । शुक्रबार उनमा पनि कोरोना पुष्टि भयो । यस्तै, बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ६ का ४८ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार जिल्ला अस्पताल बझाङबाट कोहलपुर लैजाने क्रममा मृत्यु भएको थियो । चैत २९ गते भारतको तमिलनाडुबाट घर फर्किएका ती व्यक्तिलाई अक्सिजन सपोर्टमा राखेर उपचार गरिँदै आएको थियो । तर अवस्था खराब भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने देखिएको थियो । जिल्ला अस्पतालमा दुई थान भेन्टिलेटर भए पनि चलाउने जनशक्ति नहुँदा बिरामीलाई कोहलपुर रेफर गरेको जनाइएको छ । तर कोहलपुर पुग्न नपाउँदै ती संक्रमितले बाटोमै ज्यान गुमाए ।

अछाम घर भएका एकजना पुरुष १७ दिनअघि भारतको गुजरातबाट घर फर्किएका थिए । अछामको साँफेबगर नगरपालिका वडा नं. ६, भाग्यश्वरका ६५ वर्षीय ती पुरुषको बिहीबार बिहान जिल्ला अस्पताल मंगलसेनमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशी बताए । बुधबार बयालपाटा अस्पतालमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टिपछि उनलाई बुधबार नै जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । 

एकै परिवारका दाजुभाइ रहेनन्

भारतको गुजरातबाट फर्किएका डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. १, घटालीका एक युवक वैशाख ७ गते स्वदेश फर्किएर होम क्वारेन्टिनमै बसेका थिए । होम क्वारेन्टिनमै बसेका उनको पनि मृत्यु भयो । उनको दाजुको समेत कोरोनाकै कारण मृत्यु भएको छ । भारतमा सँगै काम गरिरहेका ती युवकको आफ्नै दाजुको कोरोना संक्रमणले ३ साताअघि भारतमै मृत्यु भएको थियो । दाजुको मृत्युपछि घर फर्केका ती युवकको पनि कोरोनाकै कारण वैशाख ७ गते मृत्यु भएको हो ।

कोरोनबाटै जोगिन स्वदेश आइपुगेका कैलालीको गोदावरी नगरपालिका वडा नं. ३ का ५० वर्षीय एक पुरुष पनि जोगिन सकेनन् । कोरोनाकै कारण उनको गत चैत ३० गते मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । फागुन पहिलो साता भारतबाट फर्किएका उनीमा निमोनिया र दमसहित कडा प्रकृतिको लक्षण देखिएको थियो ।

कामको खोजीमा भारत पस्नु सुदूरपश्चिमको बाध्यता हो । अरुबेला उनीहरु चाडपर्वको समयमा मात्र घर फर्किने गर्दथे । तर, अहिले भने हरेकपटक कोरोना महामारीले अत्याउन थालेपछि भारतका विभिन्न स्थानमा रहेका उनीहरु सीमा नाका आउन थालेका छन् । बाध्यताले मुग्लानिएका उनीहरु कोरोनाबाट भाग्दै घरपरिवारसम्म आईपुग्दा नपुग्दै कतिपयले ज्यान गुमाइरहेका छन् ।

सम्बन्धित खबरहरु