Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

सुदूरपश्चिम प्रदेशमा १० जना संक्रमितको मृत्यु

न्युज कारोबार काठमाडौं वैशाख १९, २०७८       

सुदूरपश्चिम प्रदेशमा १० जना संक्रमितको मृत्यु फाइल तस्बिर

सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला र एक पुरुष तथा बझाङका एक पुरुषको मृत्यु भएको छ । शनिबार प्रदेशमा पीसीआर पद्धति र एन्टिजेन पद्धतिबाट एक हजार ४१५ को नमूना परीक्षण गर्दा ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म एन्टिजेन परीक्षणबाट संक्रमण भएकामध्ये २० र पीसीआर परीक्षणबाट संक्रमण भएकामध्ये ८० जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

सुदूरपश्चिमको रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पतालमा ५९ संक्रमित उपचाररत रहेकामध्ये तीन जना भेन्टिलेटरमा र १७ जनाको सघन उपचार कक्षमा राखेर उपचार व्यवस्थापन भइरहेको छ । अक्सिजनको सहयोग लिएर ३४ र ‘मोडरेड केस’ पाँच जनाको उपचार भइरहेको छ । कोरोना अस्थायी अस्पतालमा बिरामीको चाप बढ्दा सहजरूपमा उपचार व्यवस्थापन गर्न समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् । कोरोना संक्रमण र मृत्यु दर उच्च हुँदा सक्रिय बिरामी पनि बढेका छन् । प्रदेशमा एक हजार ८५२ सक्रिय बिरामी पुगेका छन् । (रासस)

सम्बन्धित खबरहरु