Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

कोरोना महामारी नियन्त्रणका लागि जुट्यो कर्णाली सरकार

न्युज कारोबार काठमाडौं वैशाख १६, २०७८       

कोरोना महामारी नियन्त्रणका लागि जुट्यो कर्णाली सरकार पत्रकार सम्मेलनमा मन्त्री केसी ।

कर्णाली प्रदेश सरकारले दोस्रो लहरको कोरोनाभाइरस (कोभिड- १९) नियन्त्रणका लागि तयारी थालेको छ । जसको लागि सरकारले बजेटको व्यवस्थापन गरेको हो ।

स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि तत्काल प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड, चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पतालहरु र रणनैतिक अस्पताललाई १२ करोड बजेट निकासा गरी सरकारले पठाएको हो । त्यस्तै कोभिड रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि थप १ अर्ब बजेट व्यवस्था गरी तत्काल ५० करोड रकम विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको समेत सरकारका प्रवक्ता बिमला केसीले जानकारी दिइन् । 

बिहीबार पत्रकार समम्मेलनको आयोजना गरी सरकारले कोरोनाभाइरस नियन्त्रण गर्नका लागि तयारी गरेको उनले जानकारी गराइन् । उनले प्रदेशका दशवटै जिल्ला अस्पतालमा मिनी अक्सिजन प्लाण्टको लागि ४०/४० लाखको दरले बजेट विनियोजन गरिएको उनले बताइन् । ‘कर्णाली प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत ठूला अक्सिजन प्लाण्ट सञ्चालनमा आएको छ,’ उनले भनिन् ।

प्रदेशको आन्तरिक क्षमताले नभ्याउने अवस्थामा नेपालगञ्जबाट दैनिक १ सय ५० सिलिण्डर आपूर्तिको व्यवस्था मिलाइएको, प्रदेशभर ४ सय ठूला अक्सिजन सिलिण्डर रहेको मन्त्री केसीले जानकारी दिइन् । उनका अनुसार गरिब तथा विपन्न समुदायका लागि कोभिड उपचारमा आवश्यक पर्ने औषधि रेम्डिसिभिर निशुल्क व्यवस्थापन गर्ने, कोभिड प्रतिकार्यका लागि १ सय ५० सहायक स्तरका स्वास्थ्यकर्मी भर्ना प्रक्रियामा रहेको र संघीय सरकार तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप जनशक्तिको लागि सरकारले अनुरोधसमेत गरेको छ ।

कर्णाली प्रदेशमा दैनिक कोरोनाभाइरसका संक्रमितहरुको संख्या बढ्दो छ । समुदाय स्तरमा संक्रमितको संख्या बढ्दो छ । भाइरसका कारण दैनिक रुपमा ज्यान गुमाउनेहरुको संख्या पनि निरन्तर बढिरहेको छ । तर सरकारले प्रतिकार्यका लागि योजना बनाए पनि कार्यान्वयन भने पूर्ण रुपमा कार्यान्वयन गर्न भने सकेको छैन । गत चैत्र १३ गते प्रदेश कोरोना व्यवस्थापन केन्द्रले सबै स्थानीय तहले अनिवार्य एउटा कोरोना उपचार केन्द्र सञ्चालन गर्नुपर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन । कर्णाली भित्रिने नाकाहरुमा कुनै पनि खालका कडाई हुन सकेको छैन । जसले गर्दा कर्णाली प्रदेशमा भारतबाट आउनेहरु सुरक्षा सावधानी बिनै भित्रिरहेका छन् ।

सम्बन्धित खबरहरु