Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज : नेदरल्यान्ड्सद्वारा नेपाललाई सामान्य लक्ष्य

न्युज कारोबार काठमाडौं वैशाख ४, २०७८       

त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज : नेदरल्यान्ड्सद्वारा नेपाललाई सामान्य लक्ष्य

त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि १ सय ३७ रनको सामान्य लक्ष्य दिएको छ । टीयू अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनायो । खराब सुरुवात गरेको नेदरल्यान्ड्ले तेस्रो ओभरमा नै १२ रनका लागि २ विकेट गुमाएको थियो ।

सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाएका थिए । उनले दोस्रो ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सका म्याक्स ओ डोवडलाई एलबीडब्लु आउट गरेका हुन् । म्याक्सले ११ बलमा दुई चौकासहित १० रनको योगदान दिए । त्यस्तै नेदरल्यान्ड्सले दोस्रो विकेटको रुपमा बेन कोपरलाई शुन्य रनमा गुमायो । आफ्नो स्पेलको दोस्रो ओभर लिएर आएका सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा कोपरलाई एलबीडब्लु धरापमा पारेका थिए ।

त्यसपछि मैदान आएका बास डे लीडेले स्कट इड्वार्डसँग ६१ रनको साझेदारी गरे । १४औं ओभरको पाँचौ बलमा लामो सट खेल्ने चक्करमा इड्वार्ड शाहब आलमको बलमा आरिफ सेखको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किएका हुन् । उनले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

चौथो विकेटको रुपमा नेदरल्यान्ड्सले सर्वाधिक रन बनाएका बास डे लीडेलाई गुमायो । उनी १७औं ओभरको अन्तिम बलमा ४१ रनमा पेभिलियन फर्किए । उनले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । सन्दीपको स्पेलको चौथो ओभरको अन्तिम बलमा कुशल भुर्तेलले क्याच गर्दै बासलाई मैदान बाहिर पठाएका थिए ।

कप्तान पिटर सिलर २३ र एन्टोनिअस स्टल २० रनमा अविजित रहे । पिटरले १७ बलमा २ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे । त्यस्तै स्टलले ९ बलमा २ चौका र १ छक्कासहित २० रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए । उनले चार ओभरमा २२ रन खर्चेर २ विकेट लिएका हुन् । त्यस्तै सोमपाल कामी र शाहब आलमले एक एक विकेट लिए । शाहब सबैभन्दा महँगा खेलाडी सावित भए । उनले चार ओभर बलिङ गर्दै ४५ रन खर्चेर एक विकेट लिएका थिए ।

सम्बन्धित खबरहरु